यी १४ क्षेत्रमा नेपाली कामदार लैजाने जापानको घोषणा
लामो समय देखि रोकिएको जापानमा नेपाली कामदार लैजाने प्रक्रिया अगाडी बढेको छ । नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक जापान पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आज ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत समामिची साइगोले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी पत्रमा जापानमा पेसिफाइड स्किल वर्कर अन्र्तगत नेपाली श्रमिकहरुको भर्ना, जापानी भाषा परीक्षा, एवम् सीप परीक्षण र सहजीकरणका लागि जापानी पक्षलाई सहयोग गर्न वैदेशिक रोजगार विभाग अन्र्तगत छुट्टै इकाई स्थापना गरिने भएको छ । यस्तै समझदारी पत्र प्रभावकारी कार्यान्वयन गर्न दुवै देशका प्रतिनिधि रहनेगरी संयुक्त समिति गठन पनि गरिने भएको छ ।
समझदारी पत्रमा सन् २०१९ को अप्रिल १ देखि १४ वटा क्षेत्रमा नेपाली कामदार लैजाने सम्झौता भएको छ । समझदारीपश्चात अब दुई देश सम्मिलित प्राविधिक कमिटी गठन गरिने भएको छ । जापानमा रोजगारीमा जानका लागि एन फोर भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । जापान रोजगारीका लागि वर्षमा बढीमा ६ पटकसम्म भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारी संयन्त्रबाटै कामदार पठाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको छ । जापानले पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने भएको छ । जापानले नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्यता व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिलगायत १४ वटा क्षेत्रका लागि कामदार लैजाने भएको हो ।


