माडीमा सामूहिक खेती : पहिलो चरणमा १०० बिघामा शुरु गरिने



हाम्रो इकोनोमि

 

चितवनको माडीमा सामूहिक खेती गरिने भएको छ ।

पहिलोपटक शुरु गर्न लागिएको उक्त खेतीका लागि माडी नगरपालिका–८ कान्तिपुरमा हालै स्थापित सूर्याेदय सहकारी संस्थाले किसानको लालपुर्जा सङ्कलनका साथै जग्गा पनि छनोट गरिसकेको छ ।

एकसय नब्बे बिघा जग्गामध्ये पहिलो चरणमा १०० बिघामा सामूहिक खेती शुरु गर्न लागिएको हो ।

जमीनलाई चक्लाबन्दी गरी आवश्यक सिँचाइ, मल तथा बीउ व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली उत्पादन गर्ने योजना प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रालयले ल्याएको हो ।

कान्तिपुरमा सामूहिक कृषिखेती र अन्य क्षेत्रमा सामूहिक माछाखेतीका लागि तयारी गरिएको छ ।

पाँचसय साठी बिघा जमीनमा माछाखेती हुँदै आएको माडीमा ७०० बिघा जमीनमा समूहिक माछाखेतीका लागि तयारी गरिएको छ ।

सामूहिक खेतीका लागि उक्त मन्त्रालय, माडी नगरपालिका र स्थानीयवासीबीच अन्तरक्रिया गरिएको छ ।

सिन्धुलीको दुधौलीमा सामूहिक खेती शुरु गरेको उक्त मन्त्रालयले माडीलाई कृषिमा अव्बल बनाउन सामूहिक खेती शुरु गर्न लागेको उक्त मन्त्रालयका मन्त्री दावादोर्जे लामाले जानकारी दिनुभयो ।

कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्न लागिएको उहाँले बताउनुभयो ।

घटदो कृषियोग्य जमीन बढ्दो जनस्ङख्या र एकल परिवारको प्रचलनले जमीन खण्डित भएर खेती गर्न कठिन भएकाले छरिएर रहेका जमीनलाई एकीकृत गरी उत्पादन वृद्धि गर्ने योजना रहेको मन्त्री लामाको भनाइ थियो ।

“बाँझो जग्गामा सहकारीको माध्यमबाट सामूहिक खेती गर्दै किसानको आर्थिक अवस्था उकास्ने योजना हो”, उहाँले भन्नुभयो, “यसले जग्गा बाँझो रहने परम्परा अन्त्य हुने र माडीको कार्यक्रम सफल बनाएर अन्य क्षेत्रमा पनि यसलाई विस्तार गरिने योजना छ ।”

नगरपालिकासँग सहकार्य गरेर सामूहिक खेतीका लागि आवश्यक बजेट र उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै मन्त्री लामाले भन्नुभयो, “सामूहिक खेतीका लागि आवश्यक बिजुली, कृषि सडक र सिँचाइको समेत व्यवस्था गर्छौँ ।”

सामूहिक खेतीसँगै माडीमा गाई, बाख्रा पालेर प्राङ्गारिक खेती गर्न सकिने जनाइएको छ ।

परिणाम देखिने काममा मात्र प्रदेश सरकारले सहयोग गर्ने र अनुदान खाने नाममा माछापोखरी खन्ने प्रवृत्ति अन्त्य हुने भएकाले सामूहिक खेतीमार्फत माडीलाई कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताइएको छ ।

प्रादेशिक शिक्षा, स्वास्थ्य र कृषि समितिका सभापति घनश्याम दाहाल ‘अविनास’ले जमीनको खण्डिकरणले किसानको जोश र जाँगर हराउँदै गइरहेको अवस्थामा सामूहिक खतीले उत्साह जगाउने बताउनुभयो ।

बाँझो जमीनलाई खेतीयोग्य जमीनको रुपमा परिणत गर्न यो अभियान प्रभावकारी हुने जानकारी दिँदै उहाँले राम्रो कामको विरोध हुने भए पनि सामूहिक खेती गर्न खोज्ने किसानलाई ढुक्कसँग लाग्न आग्रह गर्नुभयो ।

सभापति दाहालले भन्नुभयो, “हाम्रो खेती गर्ने प्रणाली अझै फेरिएको छैन, कुटो कोदालोबाट अत्याधुनिक प्रविधितर्फ लाग्नाको विकल्प छैन् ।”

जबसम्म थोरै श्रम र लागानीबाट धेरै प्रतिफल निकाल्न सकिँदैन तबसम्म आर्थिक विकास सम्भव नरहेको उहाँले बताउनुभयो ।

नगरप्रमुख ठाकुरप्रसाद ढकालले खेतको आँठा मिच्दा झगडा गर्ने अवस्थाबाट सामूहिक खेतीमा आउनु निकै काम भएको बताउनुभयो ।

महत्वपूर्ण निर्णयका पछाडि थुप्रै समस्या र चुनौतीहरु आइपर्ने भन्दै उहाँले किसानको आँट र साहसलाई सधँै सम्मान गरिने जानकारी दिनुभयो ।

नगरपालिकाले सधँै किसानलाई प्रोत्साहन गर्ने खालको योजना ल्याएको नगर प्रमुख ढकालको जिकिर थियो ।

उक्त सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलले सामूहिक खेतीका लागि शुरुमा किसानलाई मनाउन धौधौ भए पनि विस्तारै उनीहरूले बुझ्दै गएका र सबैको सहयोगबाट सामूहिक खेती अभियान सफल हुने बताउनुभयो ।

कान्तिपुरवासी गणेशबहादुर गन्दर्भले आफ्नो गाँउमा सामूहिक खेती शुरु हुन लागेकामा निकै खुशी लागेको जानकारी दिँदै भन्नुभयो, “गाँउमा खेती गर्ने वृद्धवृद्धामात्रै छन्, युवा शहर तथा विदेश पलायन भए, खेतबारी बाँझै हुने अवस्था थियो तर अब भने यसबाट पार पाइने भइयो ।”

उहाँले आफ्नो नाममा रहेको करीब आठ कठ्ठा जग्गामा सामूहिक खेतीका लागि स्वीकृति दिइएको बताउनुभयो ।

सामूहिक खेतीका लागि उक्त मन्त्रालयले तत्कालका लागि रु २५ लाख उपलब्ध गराएको छ भने आवश्यक उपकरण खरीदका लागि पनि सहयोग गर्ने जनाएको छ ।

छयासी घरधुरी रहेको कान्तिपुरमा अधिकांश दलित र त्यसमा पनि गन्दर्भ समुदायको बसोबास छ ।

करीब ४० हजार जनसङ्ख्या बसोबास गर्दै आएको माडीको विकासको आधार कृषि र पर्यटन हो ।

चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न खहरे खोलाबाट पीडित माडीवासीले दीर्घकालीन रुपमा यसको समाधान खोजेर कृषि उत्पादन बढाउन सकिने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...