निर्मला हत्या प्रकरणः एसपीसहित सबै प्रहरी धरौटीमा छुटे
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्ने क्रममा कमजोरी देखाएको आरोपमा बर्खास्तीमा परेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कञ्चनपुर जिल्ला अदालतले उनलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
विष्टलाई अभियुक्तलाई यातना दिएको आरोपमा ६ लाख र प्रमाण नष्ट गरेको आरोपमा साढे ४ लाख रुपैयाँ धरौटी माग गरिएको कञ्चनपुर जिल्ला अदालतका रजिष्ट्रार हरिकृष्ण अवस्थीले जानकारी दिए । यसअघि पक्राउ परेका छ जना प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
निर्मला हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा २२ फागुनमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । यसअघि तत्कालिन प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई अभियुक्तलाई यातना दिएको कसुरमा पाँच–पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
त्यसैगरी सार्वजनिक न्याय अनर्तगत प्रहरी निरीक्षक जगदिश भट्टलाई चार लाख, सईद्वय हरिसिंह धामीलाई तीन लाख ५० हजार र रामसिंह धामीलाई तीन लाख धरौटी र प्रहरी जवान चाँदनी साउँद दुई लाख धरौटीमा छुटेकी थिइन् । सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।
सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् । डिएसपी अंगुर जिसीमाथी भने अदालतले आफ्नो आदेश दिन बाँकी छ । जिसीले यसअघि नै जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिइसकेका छन् । उनी अदालतमा उपस्थित हुन भने बाँकी छ ।
गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको समितिले प्रतिवेदनमा औंल्याइएको थियो । निर्मलाको बलात्कार तथा हत्यामा संलग्नको खोजी कार्य जारी छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।


