निर्मला प्रकरण : तत्कालीन एसपी विष्टलाई साढे १० लाख धरौटीमा छोड्न अदालतको आदेश
निर्मला हत्या प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत कञ्चनपुरले साढे १० लाख धरौटी माग गर्दै विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । गएको साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको बलात्कार गरि हत्या गरिएको अवस्थामा ११ गते उखुबारीमा शव भेटिएको थियो ।
घटना भएको लामो समयसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । तत्कालीन् प्रहरी प्रमुख विष्टले प्रमाण जोगाउन नसकेको, अनुसन्धानमा लापरवाही गरेको, निर्दाेष व्यक्तिलाई आरोप स्वीकार्न बाध्य पारेको, हिरासतमा कुटपिट गरेको लगायतका आरोप लगाएको थियो । उनलाई गृहमन्त्रालयले निलम्बन गरिसकेको छ ।
विष्टविरुद्ध केहीदिन अघि निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टले मुद्धा दायर गरेका थिए । दिलिपलाई प्रहरीले घटनाका मुख्य दोषी भनी सार्वजनिक गरेको थियो । तर, उनको डीएनए नमिलेपछि अदालतको आदेशमा दिलिप रिहा भएका थिए ।


