‘विप्लव’ले ‘प्रकाण्ड’लाई पार्टीबाट हटाए
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध सरकार कठोर बन्दै गएका बेला ‘विप्लव’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीचको मतभेद पनि बढ्दै गएको छ ।
विप्लवको उदारतालाई प्रकाण्डले आफ्नो स्वार्थमा प्रयोग गरेपछि नेकपाभित्र विवाद उत्पन्न भएको हो । सुरुवाती दिनमा पार्टीभित्र र जनवर्गीय संगठनहरूमा हाबी देखिएका ‘प्रकाण्ड’ पछिल्लो समय निरिह बन्दै गएका छन् ।
प्रकाण्डको संकास्पद गतिविधिबाट आजित बनेका उनी पक्षधर नेताहरूले समेत क्रमशः साथ छाड्न थालेका छन् । दाङ र कपिलवस्तु आसपासमा बसेको स्थायी समितिमा पनि ‘प्रकाण्ड’को शंकास्पद गतिविधिलाई लिएर ठूलो बहस भएको थियो ।
केन्द्रीय कमिटीमा ‘प्रकाण्ड’ बलियो छन् । स्थायी समितिमा ‘प्रकाण्ड’ कमजोर मानिन्छन् । पाँच सदस्यीय स्थायी समितिमा ‘प्रकाण्ड’लाई सन्तोष बुढाले मात्रै साथ दिएका छन् । अनिल शर्मा र धर्मेन्द्र बास्तोला ‘विप्लव’सँग छन् ।
पक्राउ परेका बेला रिहा हुन ‘प्रकाण्ड’ले गरेको काण्डबाट ‘विप्लव’ रिसाएका छन् । त्यति मात्रै होइन चन्दा उठाएको रकमको पारदर्शी हिसाव ‘प्रकाण्ड’ले बुझाएका छैनन् ।
पक्राउ परेका बेला प्रकाण्डले रिहाइ हुन डा.बाबुराम भट्टराईमार्फत सरकारसँग सम्झौता गरेको विप्लवको आरोप छ ।
ठूला उद्योगी, व्यापारी, शिक्षक, कलेज, विद्यालय, एनसेल आदिबाट जबरजस्ती उठाएको चन्दाको रकम ‘प्रकाण्ड’ले हिनामिना गरेको स्रोतले जनाएको छ ।
‘प्रकाण्ड’का यस्ता खालका हर्कतबाट ‘विप्लव’ आजित बनेका छन् । सोही कारण ‘प्रकाण्ड’लाई विप्लवले अघोषित रुपमा कारबाही गरेका छन् । ‘प्रकाण्ड’लाई प्रवक्ता लगायतका सबै जिम्मेवारीबाट निस्क्रीय बनाएको स्रोतले जनाएको छ ।
नेपाल बन्द र एनसेलमा भएको बम विस्फोटको जिम्मेवारी लिने क्रममा ‘विप्लव’ आफूले विज्ञप्ति जारी गरेका थिए । यसअघि सधैँ प्रवक्ताको रुपमा ‘प्रकाण्ड’ले विज्ञप्ति निकाल्ने गर्थे । ‘प्रकाण्ड’ले विज्ञप्ति जारी नगरेको धेरै भएको छ ।
कम्युनिस्टहरूले नै बनाएको दुई तिहाइको सरकारले च्याप्दै लगेपछि तनाबमा परेका ‘विप्लव’ मध्यकमाण्डका इञ्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेपछि चिन्तामा डुबेका छन् । ‘प्रकाण्ड’का कारण पार्टीलाई सम्हाल्न समस्या परेका बेला ‘विप्लव’ आफैले विश्वास गरेका नेतासँग सम्बन्ध बिग्रिएको छ ।
‘विप्लव’ले तत्कालीन आयोग्य लडाकुहरूलाई समेटेर गाउँमा धमाधम जनसेना बनाएका छन् । जनसेनालाई तालिम दिने, हतियार दिने र कार्यक्षेत्रमा खटाउने कार्यको स्वयं ‘विप्लव’को निर्देशनमा हुने गरेको एक नेताले बताए । जनसेनाको सुप्रिमो विप्लव आफै हुन् ।