मोटी भन्दा पिर पर्छ अभिनेत्री वर्षा शिवाकोटी



 

खानपिनको एकदमै सोखिन छु। जिम जान थालेपछि खानपानमा नियन्त्रण गर्नुपर्‍यो। मीठो–मीठो खानेकुराबाट टाढिँदा साह्रै गाह्रो भयो। मिठाई भनेपछि भुतुक्कै हुन्थे। बाटोमा हिँडिरहँदा मिठाई पसल छ भने लालमोहन, रसभरी किनेर खाइहाल्थेँ। महिनामा चारपाँच पटक मिठाई खानैपथ्र्यो। नखाँदा डाइट नै नपुगेको जस्तो लाग्थ्यो। तर, जिम जान थालेदेखि मिठाई खान छोडेँ।

 

सुरु–सुरुमा मिठाई पसलछेउबाट निस्किँदा थकथक लाग्थ्यो। ‘एउटा खाइदेऊ कि’ जस्तो पनि लाग्थ्यो। तर, आफूलाई कन्ट्रोल गर्थें। औधी रुच्ने मिठाई नै खान नपाएपछि के गरुँ, कसो गरुँ हुन्थ्यो। तर, फिट हुन यति त गर्नै पर्‍यो। अहिले खानपिनमा एकदमै ध्यान दिन थालेकी छु।

 

बिहान खाली पेट एक्सरसाइज गर्न सकिँदैन, गाह्रो हुन्छ। अलिकति भए पनि केही खाएर जिम जान्छु। बिहान ड्राई फ्रुट्स र फलफूल खान्छु। सधैँ एकनास खानेकुरा खादिनँ। फरक–फरक खाने गर्छु। अभ्यास गर्दा जीउ फतक्कै गल्छ। प्रशस्त पानी खान्छु। दिनको तीनचार लिटर कम्तीमा खान्छु। चामल, नुन, चिनीलगायत सेतो खानेकुरा सकेसम्म खान्नँ। ब्राउन राइस खान्छु। राति हल्का खानेकुरा मात्र खान्छु। सुटिङमा हुँदा चाहिँ अलि गाह्रो हुन्छ। यो चाहियो, त्यो चाहियो भनेर डिमान्ड गर्न सकिँदैन। त्यतिखेर शरीरलाई ऊर्जा दिने खानेकुरा खाने गर्छु।

 

वजन घटाउन साह्रै गाह्रो 

जिम धाउन थालेको एक वर्ष भयो। मोटाउन साह्रै सजिलो छ। मेरो त झन् पानी खाए पनि लाग्ने ज्यान छ। मोटाएको शरीर घटाउन भने एकदमै गाह्रो रहेछ। ज्यान घटाउन अहिले मलाई धौधौ परेको छ। मोटोपन भएपछि जतिसुकै अप्ठ्यारो एक्सरसाइज गरे पनि सीप लाग्दैन। जिम सुरु गर्दा मेरो वजन ५५ केजी थियो। फिल्म ‘भैरे’को ‘सान्नानीलाई’ बोलको गीतमा आफूलाई एकदमै मोटी पाएँ।

 

फिल्मको सुटिङ माथिल्लो मुस्ताङको लोमाङथाङमा भएको थियो। पुसको महिनामा सुटिङ भएको थियो। टिमका सबैले माया गर्थे। कोठामै खाना पुर्‍याइदिन्थे। जाडो मौसम थियो। खानेकुरा जे पनि मीठो लाग्थ्यो। ४० दिनको सुटिङमा मेरो वजन पाँच केजी बढेको थियो।

 

त्यो गीतमा एकदमै राम्रो गर्छु भन्ने सोचेकी थिएँ। गीतको सुटिङ हुँदा डान्समा भन्दा बढी ध्यान आफू मोटी देखिएकोमा जान्थ्यो। हो पनि, सोचेभन्दा बेसी मोटी देखिएकी रहेछु। आफूलाई देख्दा आफैँ छक्क परेँ। राम्रो गर्छु भनेको गीत आफैँलाई मन परेन दर्शकले झन् के भन्लान् भन्ने लाग्यो। ‘हैट भएन, जीउ बनाउनुपर्‍यो’ भन्दै जिमतिर लम्किएँ।

 

मैले केही म्युजिक भिडियामा पनि काम गरेकी छु। आफ्नो नयाँ भिडियो युट्युबमा आउनेबित्तिकै हेरिहाल्छु। कसैले मोटी भनेर कमेन्ट त गरेको छैन भनेर। कसैले मोटी भन्यो भने मलाई साह्रै पिर पर्छ। ज्यान जे खाए नि लाग्ने खालको छ। के गर्नु ? अहिले त खानामा धेरै कन्ट्रोल गरेकी छु। गुलियो एकदमै कम गरेकी छु। खाँदै खान्नँ भन्दा पनि हुन्छ। अहिले शरीर अलि सुगठित भएको महसुस गरेकी छु।

 

पर्फेक्ट बडी सेप

मलाई पर्फेक्ट बडी सेप बनाउने चाहना छ। त्यसका लागि स्वाँ–स्वाँ गर्दै दुई घण्टासम्म जिममा व्यायाम गर्छु। दिनहुँ जिम जाने कोसिस गर्छु। तर, कहिलेकाहीँ सुटिङ, मिटिङले गर्दा भ्याउँदिनँ। आफ्नो वजन ४५ केजी पुर्‍याउने सोच छ। मैले सोचजस्तो ज्यान बनाउन अझै समय लाग्छ होला। त्यसका लागि एकदमै मेहनत गरिरहेकी छु। मेरो घरबाट अलि टाढा भएकाले दिँउसो मात्र जिम जाने गर्छु।

 

पहिला–पहिला अभ्यास गर्न धेरै गाह्रो हुन्थ्यो। एकदमै थकान महसुस हुन्थ्यो। थाक्दा पर्फेक्ट बडी सेपबारे सोच्थेँ। त्यसपछि फेरि व्यायाम गर्न थाल्थेँ। जतिसुकै गाह्रो भए पनि जिम जान छोडिनँ। सुरुमा साइक्लिङ साह्रै गाह्रो लाग्थ्यो। एकछिनमै असिनपसिन हुन्थेँ। अहिले चाहिँ मज्जा लाग्न थालेको छ। गर्न थालेपछि यही नै गरिराखूँ जस्तो लाग्छ। आजभोलि जिम मेरो लत बनिसकेको छ। नगई हुँदैन।

 

एक दिन पनि व्यायाम गरिनँ भने के गरिनँ, के गरिनँ जस्तो हुन्छ। अरू कुरा बिर्सिए पनि जिम जान बिर्सिन्नँ। जिममा आधा घण्टाजति वार्मअप गर्छु। त्यसपछि अरू एक्सरसाइज गर्न थाल्छु।

 

पर्दामा देखिन

पर्दामा देखिने कलाकारले फिट रहनु एकदमै आवश्यक छ। विशेष गरी अभिनेत्रीहरूले। जीउडाल मिलेको छैन भने अभिनेत्रीले धेरै कुरा सुन्नुपर्छ। मोटी देखिँदा विभिन्न टीका–टिप्पणीको सामना गर्नुपर्छ। यसले गर्दा काम गर्न गाह्रो हुन्छ। कलाकारले आफूलाई त्यही रूपमा प्रस्तुत गर्नुपर्छ, जसमा दर्शकले उसलाई रुचाउँछन्। पहिलादेखि नै मोटी भएकाले धेरैले मलाई ‘मोटी अभिनेत्री’ भन्दै कमेन्ट गर्थे। यी कुराले पनि मलाई जिम जान प्रेरित गरेको हो। बेडौल शरीर भयो भने फिल्ममा काम पाउनै गाह्रो हुन्छ।

 

पर्दामा स्लिम देखिन मात्र नभई मानसिक र शारीरिक रूपमा स्वस्थ रहन पनि हरेक कलाकारले जिम जानुपर्छ जस्तो लाग्छ। व्यायामले शरीरलाई फुर्तिलो, जाँगरिलो बनाउँछ। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। शरीरलाई चाहिनेजति खाना खानु ठीक हुन्छ। अनावश्यक खाना खाएर कुनै फाइदा छैन। खानपिनमा ध्यान दिई नियमित व्यायाम गरेर शरीरलाई स्वस्थ राख्न सकिन्छ।

 

मेरा प्रशिक्षक

मैले पर्सनल ट्रेनरबाट व्यायाम सिकिरहेकी छु। उहाँ कडा स्वभावको हुनुहुन्छ। सुरु–सुरुमा उहाँ असाध्यै छुच्चो लाग्नुहुन्थ्यो। तर, पछि बुझेँ मलाई यस्तै मान्छेले मात्र प्रशिक्षण दिन सक्छ। नत्र, म जिमलाई गम्भीरतापूवर्क लिन सक्दिनँ होला। प्रशिक्षकले मलाई एक्सरसाइज गर्न सधैँ उत्प्रेरित गरिरहनुहुन्छ। मलाई कहिल्यै हार मान्न दिनुहुन्न।

 

सुरुताका मलाई अभ्यास गर्न साह्रै अल्छी लाग्थ्यो। उहाँले विभिन्न टिप्स दिनुहुन्थ्यो। मलाई सपोर्ट गर्नुहुन्थ्यो। उहाँकै कारण आज म जिममा रमाउन सक्ने भएकी छु।

प्रतिक्रिया दिनुहोस
दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध