करोड खर्चेर लाख हात पर्ने चलचित्रमा कसले गर्दैछ लगानी, को को डुबे
नेपाली चलचित्रमा पछिल्लो दशक नेपाल भित्रबाट भन्दा बाहिरबाट धेरै लगानी भइरहेको छ । विदेशमा बस्ने नेपाली (एनआरएन)ले नेपाली चलचित्रमा लगानी गरिरहेको पाइएको छ । चलचित्र निर्माता तथा निर्देशकहरुका अनुसार विदेशमा बस्ने नेपालीले नेपाली चलचित्रमा लगानी गरिरहेका छन् ।
चलचित्र निर्माता छविराज ओझा विदेशमा बस्ने नेपालीले लगानी गरिरहेको तर उनीहरु नदोहोरिने गरेको बताउँछन् । “पछिल्लो समय हेर्ने हो भने विदेशमा बस्ने नेपालीले लगानी गरिरहेका छन् । दुईचार जना साथीहरु मिल्ने अनि नेपाल आएर चलचित्र निर्माण गरिरहेका छन्,” ओझा भन्छन्, “तर, लगानी नउठेपछि फेरि अर्को चलचित्र बनाउँदैनन् ।”
केही चलचित्रले एक करोड लगानी गर्दा करोडौं कमाइरहेको हल्ला सुनेका भरमा उनीहरु नेपाली चलचित्रमा लगानी गर्न आकर्षित भइरहेको ओझा बताउँछन् । चलचित्र ‘छक्का पञ्जा’ले १८ करोड रुपैयाँ कमायो भनेर सुनेकै भरमा विदेशमा बस्ने नेपालीले चलचित्रमा लगानी भइरहेको उनको भनाइ छ ।
“नेपालमा बसेर लगानी गर्ने केही पुराना निर्माता छन् । नेपालमा बसेर लगानी गर्ने केही साथीहरु जग्गाको कारोबारी पनि हुनुहुन्छ, उहाँहरुले एक टुक्रो जग्गा बेचेर चलचित्रमा निर्माण गरिरहनु भएको छ,” ओझा भन्छन् ।
चलचित्र निर्देशक दीपेन्द्र के खनाल पनि चलचित्र निर्माणमा अहिले एनआरएनबाट पैसा आइरहेको बताउँछन् । “घाटामा गएका चलचित्रको समाचार आउँदैन । केही चलचित्रले एक करोड लगानी गरेर १५–१६ करोड नाफा कमाएको समाचार आउँछ,” खनालले बाह्रखरीसँग भने, “हल्लाकै भरमा लगानी गरिरहेको पाइएको छ । जो फेरि दोस्रो चलचित्र निर्माणमा फर्किएर आउँदैनन् । नेपालमा बसेर लगानी गर्ने पुराना निर्माता हातका औंलामा सीमित छन् ।”
विश्व बजारमा नेपाली चलचित्र नगएसम्म ठूला व्यापारिक घरानाको लगानी नभित्रिने उनको तर्क छ । “व्यापारिक घरानाले लगानी गरेपछि त्यसको प्रतिफल खोज्छ । करोडौं लगानी र एक वर्ष मेहनत गरेको चलचित्रबाट फाइदा हुन्छ कि हुँदैन भन्ने निश्चित नहुने भएकाले व्यापारिक घरानाले लगानी गर्ने इच्छा नगरेका हुन्,” खनाल बताउँछन् ।
एनआरएनलाई नेपालमा बनिरहेकाभन्दा फरक चलचित्र बनाउन उनको सुझाव छ । “विदेशमा चलचित्र लैजान उहाँहरुलाई एक्सेस सजिलो छ । लगानी गर्न पनि बजेट अभाव हुँदैन ।
भिसा सजिलै पाउनुहुन्छ,” खनाल भन्छन्, “त्यसैले म उहाँहरुलाई नेपालमा बनिरहेकाभन्दा फरक चलचित्र बनाउन आग्रह गर्दै आएको छु । भारतले अहिले वर्षमा आफ्ना ५ वटा चलचित्र चाइनामा चलाउने कोटा पाएको छ । भारतमा भन्दा चाइनामा चलचित्रको ठूलो बजार छ । नेपाली कन्टेन्टलाई चलचित्रमा पस्किएर भारत, चाइनालगायतका देशमा चलचित्र चलाउन सक्ने हो भने नेपालकै बिजनेश हाउसहरुले पनि लगानी गर्छन् ।”
निर्देशक तथा चलचित्र लेखक विनोद पौडेल पनि विदेशमा बस्ने नेपालीले चलचित्रमा लगानी गरिरहेको बताउँछन् । विदेशमा बसेर कही पैसा कमाएपछि पहिचानका लागि चलचित्रमा लगानी गरिरहेको उनको भनाइ छ ।
“विदेशमा बसेर केही पैसा कमाएपछि सबैभन्दा ठूलो आइडेन्टिटीको क्राइसिस हुँदोरहेछ, त्यसैले चलचित्रमा लगानी गरे प्रोडुसर भनेर चिनिने लोभले चलचित्रमा लगानी गरेको देखिन्छ,” विनोदले बाह्रखरीसँग भने, “एउटा चलचित्र डुबेपछि फलानो त चलचित्रमा डुबेछ नि भनेपछि त्यसकै इगोमा केही साथीभाइसँग मिलेर फेरि अर्को चलचित्र घोषणा गरेको देखिन्छ ।” लामो समयदेखि चलचित्र निर्माण रहेका निर्देशकहरु निकै कम रहेको तर उनीहरुसँग चलचित्र चलाउने ‘आइडिया’ पनि रहेको उनको भनाइ छ ।
नेपाली चलचित्रमा वार्षिक करिब दुई अर्बसम्म लगानी हुँदै आएको छ । सवा सय चलचित्र निर्माण हुँदा करिब १० प्रतिशत चलचित्रले मात्रै लगानी उठाउँदै आएका छन् । नेपाली चलचित्रले विदेशमा बजार विस्तार गर्न नसक्नु र हिन्दी सिनेमासँग प्रतिस्पर्धा गर्न नसक्दा लगानी डुबाउनु परिरहेको चलचित्रकर्मीहरु बताउँदै आएका छन् ।