धुरीबाट कमरेडको पाप कराएपछि
राजनीतिक, सामाजिक र व्यावसायिक रूपमा स्थापित र सफल मानिएका व्यक्ति क्षणिक आवेगलाई नियन्त्रणमा राख्न नसक्दा कसरी एकाएक पतन र मतिभ्रष्ट हुन्छन् भन्ने गतिलै उदाहरण मोरङमा फेला परेको छ ।
बेलबारी नगरपालिका–४ मा नेकपा एमालेका पूर्व नगरअध्यक्ष, लोहोन्द्रा साझेदारी वनका अध्यक्ष तथा बेलबारी सामुदायिक नोबेल हस्पिटलका अध्यक्ष योगेन्द्र गुरुङले गरेको एउटा घीनलाग्दो अपराधले उनी सम्भवतः आजीवन जेल जाने भएका छन् ।
काठमाडौं र बेलबारी घर भएका र सधैं कार चढी हिंड्ने गुरुङ यतिबेला एक महिलाको हत्या आरोपमा प्रहरी हिरासतमा छन् । श्रीमती र छोराछोरी हुँदाहुँदै ५ वर्षदेखि एक विवाहित महिलासँग लागेका उनले फागुन १७ गते राति तिनैलाई सप्तकोशी नदीमा हेलिदिएपछि खोरमा पुगेका हुन् ।
१७ गते साँझ योगेन्द्र रमिला बस्ने माइती घरमा पुगे । पति छाडेर बसेकी उनलाई योगेन्द्रले बेला–बेला घुमाउन लैजाने गरेकाले माइतीहरूले विराटचोकस्थित दोहोरी साँझमा पठाए । रमिलासँगै साथी र अर्का युवक पनि सोही कारमा विराटचोकस्थित हवाना होटल गएका थिए । त्यहाँ उनीहरूले राति ११ बजेसम्म खाइपिइ, नाचगान र रमाइलो गरे । राति ११ बजेतिर योगेन्द्र सबैलाई लिएर फर्किए । सँगै गएकी अर्की युवती र युवकलाई भने घर नजिकै छाडिदिए ।
भोलिपल्ट अर्थात् शनिबार उज्यालो भइसक्दा पनि रमिला माइतीघर आइनन् । बहिनीले फोन गरेर सोधिन् । योगेन्द्रले राति साढे ११ बजेतिर घरनजिकै छोडिदिएको जवाफ फर्काए । तर, रातिदेखि बेपत्ता रमिलाको न फोन लाग्थ्यो, न त कुनै पत्तो थियो ।
परिवारले फोन गरेपछि बिहानै योगेन्द्र आफैं रमिलाको माइती गए । उनी अलि अत्तालिएका जस्ता थिए । त्यसैले तीन–चार पटक त्यता पुगे । बेलबारीका प्रहरी प्रमुख रामकुमार राईलाई ‘मेरी गर्लफ्रेण्ड हराइन्, तनाव भयो लौ न खोजी गरिदिनु पर्यो’ भन्दै फोन गरे । प्रहरीले माइती पक्षलाई २४ घण्टाभित्र घटनाको जरो पत्ता लगाउने संकेत दिएको थियो ।
२१ गते मंगलबार दुवै पक्षबीच इलाका प्रहरी कार्यालय बेलबारीमा छलफलसमेत भयो । सोही दिन गुरुङले मोरङका केही वकिलसँग परामर्श गरे । इप्रकाले विशेष टोली खटाएर गाउँलेसँगको सहयोगमा बुधबार बेतना सिमसार र आसपासको जंगल क्षेत्रमा खोजी गर्यो । बिहीबार गछिया र गोठगाउँ आसपासका खोला किनार र जंगलमा पनि खोजतलास गरियो तर केही भेटिएन ।
चार–पाँच दिनसम्म पनि नभेटिएपछि प्रहरीले गुरुङमाथि निगरानी बढायो । त्यतिबेलासम्म प्रहरीले के निश्कर्ष निकालेको थियो भने रमिला या त कतै बन्धक बनाएर राखिएकी छन् नत्र जीवित छैनन् । हल्ला चलेपछि योगेन्द्रकी श्रीमती पनि सोमबार काठमाडाैंबाट बेलबारी आएकी थिइन् । तर, तनावमा रहेका योगेन्द्रले उनलाई लामो समय राख्न चाहेनन् । तेस्रो दिन बुधबार श्रीमतीलाई प्लेनमार्फत विराटनगरबाट काठमाडांै पठाउन भनी निस्के ।
एयरपोर्ट पु¥याउन निस्केका योगेन्द्रको त्यतिबेलासम्म नेपाल टेलिकमको पोस्टपेड मोबाइल चालु थियो तर त्यसपछि स्विच अफ भयो र उनी बेपत्ता भए । एकजना घुमुवा प्रहरीले ट्रिक लगाएर परिवारमार्फत अर्काे मोबाइल नम्बर पत्ता लगाए । पशुपतिनगर गएर बसेको थाहा लाग्यो । त्यसपछि इलाम प्रहरीको सहयोगमा एक होटलबाट पक्राउ गरियो ।
अनुसन्धानमा दबाब र प्रभाव नपरोस् भनेर प्रहरीले गुरुङलाई सिधै विराटनगर अर्थात् जिल्ला प्रहरी कार्यालय पु¥यायो । त्यहीं उनले आफूले हत्या गरेको स्विकारे । ‘सिसिटिभी फुटेज’ मा पनि योगेन्द्रको गाडी राति साढे १२ बजे इटहरीबाट पश्चिमतिर लागेको र शनिबार बिहान साढे ४ बजे गोठगाउँबाट पूर्व लागेको देखाउँछ ।
रमिलालाई फागुन १७ गते राति साढे ११ बजे उनले आफ्नै घरमा लगेका रहेछन् । मातेर टिल्ल भएपछि झगडा परेको र जथाभावी गाली गरेकोमा मुख थुन्दा मृत्यु भएको योगेन्द्रले प्रहरीलाई बयान दिएका छन् । रमिला हराएको एक–दुई दिनपछि बेलबारी प्रहरी परिसरमा भएको छलफलमा आउँदा उनको काननेर चिथोरे जस्तो घाउ थियो ।
घरमै रमिलाको प्राण गएपछि फसादमा परेका योगेन्द्रले केही साथीभाइलाई फोनमा हारगुहार गर्न खोजेका थिए । तर, कसैको फोन नउठेपछि राति नै सप्तकोशीमा लगेर हेलिदिएको बयान दिएका छन् । स्रोतका अनुसार त्यसदिन योगेन्द्रले सप्तकोशी ब्यारेजका एक कर्मचारीसँग कुन–कुन ढोका खुला छन् भन्ने जानकारी लिएका थिए । अघिल्लो दिन फालेको लाश निस्कियो कि भनेर हेर्न भोलिपल्टसमेत घुम्न जाने बहानामा एक–दुई जनालाई लिएर सप्तकोशी पुगेका थिए ।
योगेन्द्र पहिले दुई–चार वर्ष जापान बसेर आई बल्ल विवाह गरेका थिए । दुवै छोरा हुर्केका छन् । विदेशमा भएका रमिलाका श्रीमान्ले पनि सम्बन्ध तोडिसकेका थिए । रमिलाकी पनि एउटी छोरी छन् । सोमबारसम्म दैनिकजसो बगेर आउने केही बेवारिसे लास भेटिएका छन् तर तीमध्ये कुनै पनि रमिलाको नभएको प्रहरीले जनाएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।
लास भेटिए ठोस प्रमाण जुट्छ तर नभेटिए बलात्कारपछिको हत्या, अपहरण र बेपत्ता वा के मुद्दा झेल्ने हुन्, सर्वसाधारणले अनेक अनुमान गरेका छन् । कतिपयले निर्मला काण्डसँग यो घटनालाई तुलना गरे पनि प्रहरीले रमिला हराएको एघारौं दिन र योगेन्द्र पक्राउ परेको चौथो दिन अर्थात् सोमबारसम्म पनि औपचारिक रूपमा केही सार्वजनिक गरेको छैन ।