जब रवीन्द्रका छोरा प्रधानमन्त्रीसँग हात मिलाउन पुगे
काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा । त्यहीँ राखिएको थियो–नेकपाका नेता भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शोकमा आयोजित श्रद्धान्जली सभा ।
त्यसैपनि श्रद्धान्जलीसभा भावुक हुने नै भयो । उपस्थितहरु दिवंगत नेता तथा आफन्तहरुको अनुहार हेरेर मलिन अनुहार लगाइरहेका थिए । सहभागिहरु के बोल्ने के गर्ने भन्ने दुविधामा थिए । कार्यक्रमस्थलमा एक किसिमको सन्नाटा नै छाएको थियो ।
बिहीबार १ बजेका लागि राखिएको थियो, कार्यक्रम । त्यसभन्दा अघि नै धेरैजसो नेकपाका नेता कार्यकर्ता तथा दिवंगत सदस्यका परिवारजनहरु कार्यक्रमस्थल पुगिसकेका थिए । पौने २ बजे औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा केहीबेर अघिमात्रै पुगेका थिए–नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड ।
अध्यक्षद्धय आइपुगेपछि महासचिव विष्णु पौडेलले कार्यक्रम औपचारिक रुपमा सुरु गरेका थिए । आयोजकले ओली र प्रचण्ड पुग्नु अगावै स्व. रवीन्द्र अधिकारी, भरतमोहन अधिकारी, आङछिरिङ शेर्पा लगायतका परिवारका सदस्यहरुलाई नामै लिएर आसनग्रहण गराइसकेका थिए ।
कार्यक्रमको सुरुमा दिवंगतहरुको फोटोमा माल्यार्णपण गरिएको थियो । कार्यक्रम चलिरहेका बेला एकजना बालकको ध्यान भने कार्यक्रमतर्फ भन्दा पनि खेल्नतिर नै गएको देखिन्थ्यो । खरानी रङको टिसर्ट र पाइन्ट लगाएका ती बालकप्रति कसैको खासै ध्यान गएको थिएन ।
तर, कार्यक्रमको अन्तिमतिर कार्यक्रम सञ्चालकले नामै लिएर ती बालकलाई बोलाएपछि थाहा भयो– उनी त गतसाता ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि ज्यान गुमाएका स्वर्गीय मन्त्री अधिकारीका कान्छा पुत्र स्वराज पो रहेछन् ! कार्यक्रम सञ्चालकले बोलाएपछि मञ्चतर्फ अघि बढेका उनी प्रधानमन्त्रीसँग हात मिलाउन पुगे ।
त्यसपछि उपस्थित सबैको अनुहार हसिँलो बन्न पुग्यो । प्रधानमन्त्री ओली समेत मुसुक्क हाँस्न पुगे । जसले पहिलाको श्रद्धाञ्जलीसभाको वातावरण माहोललाई नै केही हदसम्म परिवर्तन गरिदियो ।
वामदेवले भने म रविन्द्रको उत्तराधिकारी
म कमरेड रविन्द्र अधिकारीलाई अब यसरी सम्झन्छु । म बाँचेको हुनाले रविन्द्र अधिकारी भएर बाँचेको हुनेछु । म जति समय बाँच्नेछु, रविन्द्रको उत्तराधिकारीका रूपमा बाँच्नेछु । मभन्दा पहिले उहाँ बित्नुभएको छ, सबैको गन्तव्य त्यही हो । पूर्वीय दर्शनको एउटा पक्ष के छ भने कर्मकाण्डमा जाँदाखेरी तान्त्रिकता आउँछ । यसो गरेपछि पितृले खान पाउँछन् भन्ने छ । त्यतातिर व्याख्या गर्दिनँ । एउटा कुराबाट म अत्यन्त प्रभावित छु ।
जुन व्यक्ति पहिले मर्छ, त्यो पितृलोकमा पुग्छ । नाति या पनाति जो मरोस्, हजुरबुवा मरेको छैन भने त्यो हजुरबुवाले पनि नातिको श्राद्ध गर्दा ढोगिदिन्छ । त्यसो भएर मृत्यु प्राप्त गरिसकेकाहरूको निम्ति आँसुले श्रद्धाञ्जली हुँदैन । उनीहरूले छाडेको बाटो, खनेको बाटो, छोडेका कामहरूलाई पूरा गर्ने संकल्प लिँदै त्यस काममा हिँडेपछि सच्चा श्रद्धाञ्जली हुन्छ ।
आज हामीले मौनधारण गरेर श्रद्धाञ्जली दियौं, विचार व्यक्त गरेर श्रद्धाञ्जली दियौं, मेरो विचारमा संकल्प गर्ने भनेको श्रद्धाञ्जली हो । के संकल्प गर्छु भने मैले नै प्रशिक्षित गरेर हुर्काएको नेता हुनुहुन्थ्यो रविन्द्र कमरेड । अन्तिम समयसम्म पनि मेरो साथमा हुनुहुन्थ्यो । मैले पीडा व्यक्त गर्दा समुद्र बन्न सक्छ आँसुको । तर म उहाँको सपनालाई पूरा गर्नको निम्ति के — के गर्नुपर्छ सबै काम गर्ने संकल्प गर्दछु । म अन्यलाई पनि त्यो संकल्प गर्न अनुरोध गर्दछु ।
अहिले भर्खरै धेरै ठाउँमा रविन्द्रको प्रतिमा बनाउने कुरा उठेको छ । एक दुई ठाउँमा बनाउनुस । विचारमा हामी मात्र छैनौं । विचारमा विविधता छ । हाम्रो कार्यशैलीप्रति सहमत नहुने धेरै छन् । प्रतिमा संरक्षण नहुन सक्छ । फोटो ठूलो कुरा होइन, विचार र कार्यान्वयन गर्ने कुरा ठूलो हो । प्रतिमा बनाउने कुरा ठूलो होइन । तपाईंहरू अघि बढ्दा आउन सक्ने व्यवधान हटाउन म तयार हुनेछु ।
अर्को एउटा कुरा सम्झिन जरूरी छ । मेरो विचारमा चर्चा हुन जरूरी छ । आज विद्यार्थी आन्दोलन त्यो पहिलेको जस्तो विद्यार्थी आन्दोलन छैन । खोजेर पनि पाइँदैन किनकि हामीले एउटा व्यवस्था परिवर्तन गरिसकेका छौं । अहिले सम्पूर्ण शक्ति देशको पुनर्निर्माण, जनताको स्तरोन्नतिका लागि, समाजमा रहेका सबै विभेद अन्त्य गर्नका लागि र असमानतालाई समाप्त गर्नका निम्ति लगाउनुपर्ने बेला छ । त्यसो भएर अब आफू असहमत हुने विषयवस्तु छ भने त्यसका लागि आन्दोलन नै गरिहाल्नुपर्ने, जुलुस नै निकाल्नुपर्ने आवश्यकता छैन ।
राजनीतिक व्यवस्थाभित्र हामी बहुदलीय प्रतिस्पर्धामा गएको हुनाले कहिले कुन पार्टीले नेतृत्व गर्छ, कहिले कुन पार्टीले नेतृत्व गर्छ । त्यो त भइहाल्छ । एउटा पार्टीले नेतृत्व गरेको बेलामा अर्को प्रतिपक्षमा बसेकाले त्यसले फेरि आन्दोलन शुरू गर्ने हो भने देशले विकास गर्दैन, राजनीतिक पार्टीहरू असफल हुन्छन् र हामीले जे उपलब्धि हासिल गरेका छौं त्यो पनि गुम्छ । अरू कुनै व्यवस्था आउँछ जसले नेपाली जनताको समृद्धिका लागि काम गर्नुपर्छ । त्यो यस व्यवस्थाभन्दा बाहिरबाट आउनेले पनि गर्नसक्छ ।