रवीन्द्र दाइलाई पार्टीभित्र भावी प्रधानमन्त्रीकै रूपमा हेरिएको थियो



हाम्रो इकोनोमि

 

२०५४ साल नेपाल कम्युनिस्ट पार्टीलाई भ्रामरीले छोप्यो । एउटै सिरानी गरेर सुतेको दाजुभाइ भिन्न भएझैँ सग्लो घर चिरा पर्‍यो । भर्खर एकतृत हुँदै गरेको कम्युनिस्ट आन्दोलन विभाजनको चक्रव्यूहमा फस्यो । एउटै गन्तव्य हिँडेकाहरूको बाटो अलगअलग भयो । नेकपा एमाले फुटेर एमाले मालेमा विभक्त भयो  ।

 

एमाले इतरका शक्तिहरूलाई हर्षबढाइँ हुँदो हो । तर, एमाले पार्टी निर्माणका लागि रगत पसिना बगाएका निम्ति भयानक दुस्वप्न थियो । कयौं रात ऐंठन भइरह्यो । भर्खरै मूल घरबाट अलग्गिएको । अनेरास्ववियूलाई विद्यार्थीमाझ लोकप्रिय हुनु थियो । अलग पहिचान दिनु थियो । सयौँ विद्यार्थीहरूलाई प्रगतिशील झन्डामुनि गोलबन्द गर्नु थियो । आन्दोलनको आँधीबेहरी सिर्जना गरेर मेचीमहाकाली जागरण पैदा गर्नुथियो ।

 

२०५५ सालको हिउँद । सायद फागुनको महिना । भर्खर अनेरास्ववियूमा आवद्ध भएकी थिएँ । विद्यार्थी आन्दोलनप्रति लत बस्दै थियो । स्कुले उमेर । किशोर चेत । राजनीतिप्रति सम्मोहन पैदा भइसकेको थिएन भनौँ । एकदिन हल्ला सुने– पाँचखालमा विशाल भेला डाकिएको छ  । जिल्लाभरबाट विद्यार्थी भेला हुँदैछन् । प्रमुख अतिथि छन्–जाज्ज्वल्यमान एवम् उदीयमान विद्यार्थी नेता रवीन्द्र अधिकारी ।

 

त्यसअघि विद्यार्थी नेताहरूसँग भेट नभएको होइन । काभ्रेकै तिमालमा आयोजना भएको जिल्ला सम्मेलनताक राजेन्द्र राई, वसन्त मानन्धर, विशाल भट्टराई दाइहरूसँग भेट भएको थियो । विद्यार्थी आन्दोलनप्रतिको तीव्र चासो पाँचखाल भेलाले नै पैदा गर्‍यो । देशकै ठूलो पीएन क्याम्पस पोखरा र त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरका स्ववियु सभापति, स्ववियु काउन्सिलका अध्यक्ष, त्रिवि सभाका सदस्यसमेत भइसकेको अधिकारी विद्यार्थीको चासोको केन्द्र हुनुहुन्थ्यो ।

 

रवीन्द्र अधिकारी पाँचखाल सुनेपछि मेरो केटौले दिमाग पनि कौतूहलताले भरिएको थियो । र, उनीबारे मस्तिष्कमा अनेकौ विम्बका छटा कुँदिएका थिए । होचो कद । खिरिलो ज्यान । गज्याङगुजुङ कपाल । मैले त्यतिबेला देखेको रवीन्द्र दाइ सोचेभन्दा विल्कुल भिन्न हुनुुहुन्थ्यो ।

 

वाक्पटु रवीन्द्र दाइ विद्यार्थीबीच निकै लोकप्रिय हुनुहुँदो रहेछ । उहाँको भाषण सुन्न विद्यार्थीमात्र होइन, वयोवृद्धसमेत झ्याम्मिएका थिए । उनको जादुयी मुस्कान अनेरास्ववियूमा गोलबन्द हुने आधार थियो । ऊर्जाशील भाषण र देशभक्तिको ओजले विभाजनको छोटो समयमै अनेरास्ववियूले देशभर जागरण पैदा गर्ने अस्त्र बनेको थियो ।

० ० ०

 

स्कुल कमिटीहुँदै जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी थिएँ । पार्टी भवितव्यमा परिहाल्यो । विभाजनको मार खेप्यो । विभाजनपछि संगठनका सक्रिय हुने कि न हुने दोधारमा थिएँ । तर, रवीन्द्र दाइको प्रेरणाकै कारणले हुनुपर्छ विद्यार्थी आन्दोलनबाट विमुख हुन सकिनँ । अनेरास्विवियूको काभ्रे जिल्ला उपाध्यक्ष हुँदै रापस (राष्ट्रिय परिषद् सदस्य) निर्वाचित भएँ । र, रवीन्द्र दाइले नै केन्द्रीय कमिटीमा मनोनीत गर्नुभयो । यसरी मेरो राजनीतिको जग र छहारी दुवै रवीन्द्र दाइ बन्नुभयो ।

० ० ०

 

अनेरास्ववियू (मालेको विद्यार्थी संगठन) लाई विभाजनपछि औचित्य पुष्टि गर्न हम्मेहम्मे परेको थियो । संगठनमा अनेरास्ववियु (एमालेको विद्यार्थी संगठन) को एकलौटी वर्चस्व थियो । देशभरका स्ववियुमा अनेरास्ववियुकै नेतृत्व थियो ।  शून्यमा थियो अनेरास्ववियू । ऊर्जावान् नेतृत्वबाहेक केही थिएन । कार्यकर्ताको खडेरी लागेको हुँदो हो ।

 

तर, त्यो रिक्तता धेरैबेर रहन पाएन । विभाजनपछि नेतृत्व सम्हालेका योगेश भट्टराईले आन्दोलनको कमाण्ड सम्हाल्नुभयो । रवीन्द्र दाइ त्यसको आर्किटेक । कुरैकुरामा रवीन्द्र दाइ भन्नुहुन्थ्यो– “संगठनले आन्दोलन निर्माण गर्ने होइन, आन्दोलनले संगठन निर्माण गर्ने हो ।”
२० को दशकमा अनेरास्ववियुको जन्म भयो ।

 

३० को दशकमा टंक कार्कीले विद्रोहको विम्ब बनाउनु भयो । बहदलीय व्यवस्थाको अभ्युदयपछि ५० को दशकका राष्ट्रियता र देशभक्तिको जागरणसँग विद्यार्थी आन्दोलनलाई जोड्न सफल हुनुभयो– योगेश, रवीन्द्र दाइ । म रापस थिएँ । भर्खर प्रवेशिका परीक्षा दिएकी थिएँ । जिल्लामै खबर पुग्यो– अनेरास्ववियूको नेतृत्वमा योगेश भट्टराईसहितको एक टोली कालापानी मार्चपासमा निस्कँदैछ । रवीन्द्र दाइ खै कुन व्यवधान आइपरेर जान पाउनुभएन । भट्टराईले शिव गुरुङसहितको टोली लिएर मार्चपासमा निस्किनुभयो।

 

महाकाली सन्धी अनुमोदनको विषयलाई लिएर पार्टी विभाजन भयो । एमालेसहितको विपक्षी कित्ताबाट मालेलाई उग्रराष्ट्रवादी करार गरिरहेछ । त्यति नै बेला भारतीय फौजलाई ‘कालापानी छाड्, हाम्रो भूमि फिर्ता दे !’ गोलीले भुट्ने त होइन भनेर थरथरी भएँ । तर, दुई सातापछि टोली काठमाडौं फर्किएको खबर प्राप्त भएपछि मात्रै मन हलौँ भयो ।

 

बहुदल आएपछि शिक्षामा चरम निजीकरण भयो । सत्तारूढ घटक नै त्यसमा सक्रिय रहे । राजनीतिबाट किनारामा लागेका बहुदल ल्याउन सक्रिय रहेकाहरूले नै शिक्षा व्यापारको थलो बनाए । त्यसबाट रुष्ट हुनुहुन्थ्यो– रवीन्द्र दाइ । रापसका बैठकमा पनि त्यो कुरा मुखर हुन्थ्यो । सरकारी स्कुल सुक्दै जाने, निजी मोटाउँदै जाने अवस्था अन्त्य नभए  सर्वसाधारणले शिक्षा ग्रहण नै गर्न नआउने परिस्थिति सिर्जना हुन्छ भन्ने भयले उहाँले शैक्षिक आन्दोलनको शंखघोष गर्नुभयो । केशर महलमा थियो शिक्षा मन्त्रालय । सर्वसुलभ र गुणस्तरीय शिक्षाको माग राख्दै ज्ञापनपत्र बुझायौँ । सरकारले के सुन्थ्यो !

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...