रवीन्द्र दाइलाई पार्टीभित्र भावी प्रधानमन्त्रीकै रूपमा हेरिएको थियो
२०५४ साल नेपाल कम्युनिस्ट पार्टीलाई भ्रामरीले छोप्यो । एउटै सिरानी गरेर सुतेको दाजुभाइ भिन्न भएझैँ सग्लो घर चिरा पर्यो । भर्खर एकतृत हुँदै गरेको कम्युनिस्ट आन्दोलन विभाजनको चक्रव्यूहमा फस्यो । एउटै गन्तव्य हिँडेकाहरूको बाटो अलगअलग भयो । नेकपा एमाले फुटेर एमाले मालेमा विभक्त भयो ।
एमाले इतरका शक्तिहरूलाई हर्षबढाइँ हुँदो हो । तर, एमाले पार्टी निर्माणका लागि रगत पसिना बगाएका निम्ति भयानक दुस्वप्न थियो । कयौं रात ऐंठन भइरह्यो । भर्खरै मूल घरबाट अलग्गिएको । अनेरास्ववियूलाई विद्यार्थीमाझ लोकप्रिय हुनु थियो । अलग पहिचान दिनु थियो । सयौँ विद्यार्थीहरूलाई प्रगतिशील झन्डामुनि गोलबन्द गर्नु थियो । आन्दोलनको आँधीबेहरी सिर्जना गरेर मेचीमहाकाली जागरण पैदा गर्नुथियो ।
२०५५ सालको हिउँद । सायद फागुनको महिना । भर्खर अनेरास्ववियूमा आवद्ध भएकी थिएँ । विद्यार्थी आन्दोलनप्रति लत बस्दै थियो । स्कुले उमेर । किशोर चेत । राजनीतिप्रति सम्मोहन पैदा भइसकेको थिएन भनौँ । एकदिन हल्ला सुने– पाँचखालमा विशाल भेला डाकिएको छ । जिल्लाभरबाट विद्यार्थी भेला हुँदैछन् । प्रमुख अतिथि छन्–जाज्ज्वल्यमान एवम् उदीयमान विद्यार्थी नेता रवीन्द्र अधिकारी ।
त्यसअघि विद्यार्थी नेताहरूसँग भेट नभएको होइन । काभ्रेकै तिमालमा आयोजना भएको जिल्ला सम्मेलनताक राजेन्द्र राई, वसन्त मानन्धर, विशाल भट्टराई दाइहरूसँग भेट भएको थियो । विद्यार्थी आन्दोलनप्रतिको तीव्र चासो पाँचखाल भेलाले नै पैदा गर्यो । देशकै ठूलो पीएन क्याम्पस पोखरा र त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरका स्ववियु सभापति, स्ववियु काउन्सिलका अध्यक्ष, त्रिवि सभाका सदस्यसमेत भइसकेको अधिकारी विद्यार्थीको चासोको केन्द्र हुनुहुन्थ्यो ।
रवीन्द्र अधिकारी पाँचखाल सुनेपछि मेरो केटौले दिमाग पनि कौतूहलताले भरिएको थियो । र, उनीबारे मस्तिष्कमा अनेकौ विम्बका छटा कुँदिएका थिए । होचो कद । खिरिलो ज्यान । गज्याङगुजुङ कपाल । मैले त्यतिबेला देखेको रवीन्द्र दाइ सोचेभन्दा विल्कुल भिन्न हुनुुहुन्थ्यो ।
वाक्पटु रवीन्द्र दाइ विद्यार्थीबीच निकै लोकप्रिय हुनुहुँदो रहेछ । उहाँको भाषण सुन्न विद्यार्थीमात्र होइन, वयोवृद्धसमेत झ्याम्मिएका थिए । उनको जादुयी मुस्कान अनेरास्ववियूमा गोलबन्द हुने आधार थियो । ऊर्जाशील भाषण र देशभक्तिको ओजले विभाजनको छोटो समयमै अनेरास्ववियूले देशभर जागरण पैदा गर्ने अस्त्र बनेको थियो ।
० ० ०
स्कुल कमिटीहुँदै जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी थिएँ । पार्टी भवितव्यमा परिहाल्यो । विभाजनको मार खेप्यो । विभाजनपछि संगठनका सक्रिय हुने कि न हुने दोधारमा थिएँ । तर, रवीन्द्र दाइको प्रेरणाकै कारणले हुनुपर्छ विद्यार्थी आन्दोलनबाट विमुख हुन सकिनँ । अनेरास्विवियूको काभ्रे जिल्ला उपाध्यक्ष हुँदै रापस (राष्ट्रिय परिषद् सदस्य) निर्वाचित भएँ । र, रवीन्द्र दाइले नै केन्द्रीय कमिटीमा मनोनीत गर्नुभयो । यसरी मेरो राजनीतिको जग र छहारी दुवै रवीन्द्र दाइ बन्नुभयो ।
० ० ०
अनेरास्ववियू (मालेको विद्यार्थी संगठन) लाई विभाजनपछि औचित्य पुष्टि गर्न हम्मेहम्मे परेको थियो । संगठनमा अनेरास्ववियु (एमालेको विद्यार्थी संगठन) को एकलौटी वर्चस्व थियो । देशभरका स्ववियुमा अनेरास्ववियुकै नेतृत्व थियो । शून्यमा थियो अनेरास्ववियू । ऊर्जावान् नेतृत्वबाहेक केही थिएन । कार्यकर्ताको खडेरी लागेको हुँदो हो ।
तर, त्यो रिक्तता धेरैबेर रहन पाएन । विभाजनपछि नेतृत्व सम्हालेका योगेश भट्टराईले आन्दोलनको कमाण्ड सम्हाल्नुभयो । रवीन्द्र दाइ त्यसको आर्किटेक । कुरैकुरामा रवीन्द्र दाइ भन्नुहुन्थ्यो– “संगठनले आन्दोलन निर्माण गर्ने होइन, आन्दोलनले संगठन निर्माण गर्ने हो ।”
२० को दशकमा अनेरास्ववियुको जन्म भयो ।
३० को दशकमा टंक कार्कीले विद्रोहको विम्ब बनाउनु भयो । बहदलीय व्यवस्थाको अभ्युदयपछि ५० को दशकका राष्ट्रियता र देशभक्तिको जागरणसँग विद्यार्थी आन्दोलनलाई जोड्न सफल हुनुभयो– योगेश, रवीन्द्र दाइ । म रापस थिएँ । भर्खर प्रवेशिका परीक्षा दिएकी थिएँ । जिल्लामै खबर पुग्यो– अनेरास्ववियूको नेतृत्वमा योगेश भट्टराईसहितको एक टोली कालापानी मार्चपासमा निस्कँदैछ । रवीन्द्र दाइ खै कुन व्यवधान आइपरेर जान पाउनुभएन । भट्टराईले शिव गुरुङसहितको टोली लिएर मार्चपासमा निस्किनुभयो।
महाकाली सन्धी अनुमोदनको विषयलाई लिएर पार्टी विभाजन भयो । एमालेसहितको विपक्षी कित्ताबाट मालेलाई उग्रराष्ट्रवादी करार गरिरहेछ । त्यति नै बेला भारतीय फौजलाई ‘कालापानी छाड्, हाम्रो भूमि फिर्ता दे !’ गोलीले भुट्ने त होइन भनेर थरथरी भएँ । तर, दुई सातापछि टोली काठमाडौं फर्किएको खबर प्राप्त भएपछि मात्रै मन हलौँ भयो ।
बहुदल आएपछि शिक्षामा चरम निजीकरण भयो । सत्तारूढ घटक नै त्यसमा सक्रिय रहे । राजनीतिबाट किनारामा लागेका बहुदल ल्याउन सक्रिय रहेकाहरूले नै शिक्षा व्यापारको थलो बनाए । त्यसबाट रुष्ट हुनुहुन्थ्यो– रवीन्द्र दाइ । रापसका बैठकमा पनि त्यो कुरा मुखर हुन्थ्यो । सरकारी स्कुल सुक्दै जाने, निजी मोटाउँदै जाने अवस्था अन्त्य नभए सर्वसाधारणले शिक्षा ग्रहण नै गर्न नआउने परिस्थिति सिर्जना हुन्छ भन्ने भयले उहाँले शैक्षिक आन्दोलनको शंखघोष गर्नुभयो । केशर महलमा थियो शिक्षा मन्त्रालय । सर्वसुलभ र गुणस्तरीय शिक्षाको माग राख्दै ज्ञापनपत्र बुझायौँ । सरकारले के सुन्थ्यो !