कोठाभाडा तिर्न नसकेका अधिकारी दम्पती अहिले घर, कार र करोडौँको मालिक



हाम्रो इकोनोमि

 

 

पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा स्याङ्जा, बाग्लुङ, पर्वत, प्युठानलगायतका गाउँबाट प्रदेश ५ को अस्थायी राजधानी बुटवललगायतका स्थानमा बसाइँ आएका र बेरोजगार भएकाहरूको सङ्घर्ष र सफलताको कथा निकै रोचक र अनुकरणीय रहेको छ ।

तीनै अनुकरणीय कथाका पात्रमध्येका एक हुन् पाल्पाका दीपकप्रसाद अधिकारी । केही वर्षयता बुटवलमा ठूला र प्रतिष्ठित उद्योगी व्यसायीहरूको सूचीमा पर्ने तिनै अधिकारी कुनै सयम प्लास्टिक पसलका कामदार थिए ।

२०३५ साल भदौ ९ गते बाबु टिकाराम अधिकारी र माता वेलीकलाको कोखबाट जन्मिएका अधिकारीले ३ वर्षको उमेरमैँ अभिभावक पिता गुमाउनुपरेको थियो ।

श्रीमानको अभावमा पनि आमा बेलीकलाले दुई छोरा र ३ छोरीहरूको पालनपोषण तथा शिक्षदीक्षा दिन कुनै कसर बाँकी राखिनन् ।

‘आफ्नो विगत आफ्नो इतिहास पनि हो, किन ढाँट्नु ?’ अधिकारीले भने, ‘२०५२ सालमा म १९ वर्षको हुँदा त्यस्तै १५, १६ रुपैयाँ साथमा हुँदो हो । त्यति बोकेर बुटवल झरियो र काम खोज्दै जाँदा एउटा प्लास्टिक पसलमा काम पाइयो, महिनाको २ हजार तलब पाउनेगरी । त्यहीँबाट बुटवल बसाइँ र उच्च शिक्षा अध्यानको सुरुवात भयो ।’

कोठाभाडा तिर्न नसकेर भारत पलायन
अधिकारीलाई बुटवल झरेपछि पहिलो वर्ष कोठाभाडा तिनै समस्या भयो । ‘त्यसबेला महिनाको हजार बाह्र सय कोठा भाडा थियो । महिनाको २ हजार तलबले भाडा तिर्न पनि मुस्किल पथ्र्यो । घरबेटीको कचकचले तनाव हुन थालेपछि मेरो पालो त्यसै वर्ष भारतको बम्बै हनिएँ । त्यहाँको एउटा पावर हाउसमा मजदुरीको काम पाएँ । ९ महिनापछि फेरि बुटवल फर्किएँ’ उनले आफ्नो अनुभव सुनाए । फर्केर पनि उनले फेरि बुटवलको अर्को प्लास्टिक फ्याक्ट्रीमा काम थाले । जहाँ उनले १३ महिना काम गरे ।

‘प्लास्टिक पसलको अनुभव बढ्दै गएपछि पाल्पामा सँगै पढेको साथी कृष्ण अर्याल र म मिलेर बुटवलको अमरपथमा त्यस्तै २० देखि ३० हजार जति रकम जुटाएर बाँकी साहूहरूबाट उधारो लिने गरी प्लास्टिक पसल सञ्चालन गर्न थाल्यौँ ।

२०५९ सालसम्म अरू सात जना मिलेर पसल चलाइयो । पसल कृष्ण र मैले चलाउने भएकाले हाम्रो तलब महिनाको २५–२५ सय थियो । २०५९ साल देखि मात्र मैले एक्लै पसल चलाउन थालेँ’ अधिकारीले बोलीविस्तार लगाए ।

प्लास्टिक पसलेदेखि उद्योगपतिसम्मको यात्रा
अनुभव र सङ्घर्षमा खारिँदै गएका दीपक त्यतिमा मात्रै रोकिएनन् । केही साथीहरूको साथमा उद्योग खोल्ने निर्णयमा पुगे । उनले थपे, ‘२०६५ सालमा ७ जना मिलेर बुटवल औद्योगिक क्षेत्रमा युनाइटेड प्लास्टिक इन्डिस्ट्रिज खोलियो । त्यसको ५ वर्षपछि अर्थात् २०७० सालमा प्लास्टिक उद्योग छाडेर प्लाष्टिक ब्यवसायका अनुभवी ८ जना मिलेर अर्को प्लास्टिक उद्योग खोलियो, जुन रुपन्देहीकै भलुहीमा छ । त्यस उद्योगको नाम सुपर प्लास्टिक इन्डिस्ट्रिज छ’, साढे ४ करोड लागतमा सञ्चालनमा ल्याइएको उक्त उद्योगमा वार्षिक करिब ५ देखि ६ करोडको कारोबार हुने अधिकारीको भनाइ छ ।

दशकपछि बुटवलमै घर र कार
निरन्तरता र मिहिनेत गरे अवश्य सफलताको खुड्किलो चढ्न सकिन्छ भन्ने अधिकारीलाई थियो । यही मिहिनेत र सङ्घर्षबाट उनले २०६३ सालमा बुुटवलको व्यस्त सडक बीपी चोकमा दुईतले पक्की घर किने ।

त्यसको ६ वर्षपछि २०६९ सालमा सुख्खा नगरमा अर्को घर बनाए ।

अब अधिकारीको जीवनशैलीमा परिवर्तन आयो । २०६७ पछि उनी आफ्नै कारमा यात्रा गर्छन् । बीपी चोकको आफ्नै घरमा दीप प्लास्टिक स्टोर्स नामक पसलमा प्लास्टिकका सबैखाले सामग्रीहरूको थोक बिक्रेताको जिम्मेवारी उनले भन्दा बढी श्रीमती पवित्राले सम्हालेकी छन् । उक्त स्टोरमा वार्षिक ४ देखि ५ करोडसम्म कारोबार हुने अधिकारी बताउँछन् ।

उनको स्टोर्सबाट प्रदेश ५ का सबै जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लासम्म प्लास्टिकका सामग्री निर्यात गर्छन् । प्लास्टिक उद्योगका अध्यक्ष, रूपन्देही व्यापार सङ्घका कोषाध्यक्ष र सामाजिक बचत तथा ऋण सहकारी संस्थामा दुई कार्यकालदेखि अध्यक्ष रहेका अधिकारी यतिबेला रुपन्देहीका दर्जनौँ सामाजिक सङ्घ संस्थामा आबद्ध छन् ।

बुटवल झराइको २५ वर्षे रजत महोत्सव हो यो वर्ष उनको । यो अवधिमा कति सम्पत्तिको मालिक बनियो त ? भन्ने जिज्ञासामा उनको जवाफ छ, ‘सुखद दाम्पत्य जीवन, राम्रो शिक्षादीक्षा लिँदै गरेका तीन सन्तान, ममताकी खानी वृद्धा आमाको अघात स्नेह, दाजुको थप अभिभाकत्वलाई मैले ठूलो सम्पत्ति ठान्छु । यद्यपि तपाईंको जिज्ञासा मेटाउन पर्दा यो अवधिमा कमाइयो होला १५ देखि २० करोडसम्म ।’
दीपक जीवनमा हरेश नखाई निरन्तर सङ्घर्ष गरे सफलताले आफै चुम्ने नयाँ पिढीलाई सुझाव दिन्छन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...