सुन तस्कर र हुण्डी कारोबारीको भोजमा मुख्यसचिव स्वास्नी लिएर पुगे,डण्डा बर्साउने तयारीमा ओली
केही दिनअगाडि सरकारले मुख्यसचिवलाई हटाउँदैछ भन्ने समाचारहरू सार्वजनिक भए । काँग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाका पालामा मुख्यसचिव भएका लोकदर्शन रेग्मीलाई काँग्रेसको बिल्ला भिडाउने काम भयो ।
दुई तिहाइको नेकपाको सरकार बनेसँगै मुख्यसचिव हटाइँदैछन् भन्ने हल्लाहरू एकवर्षदेखि बाहिर आइरहे । केही दिन अगाडि पनि मुख्यसचिव रेग्मीलाई हटाएर हालका गृहसचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउने तयारी सरकारले गरेको समाचारहरू पनि सार्वजनिक भयो । जागिरका दौरान सधैँ राम्रा, उत्कृष्ट र आकर्षक कार्यालयहरूमा बस्न सफल मुख्यसचिव लोकदर्शन रेग्मी सार्वजनिक कार्यक्रमहरूमा कमै देखिने गर्दछन् ।
आर्थिकरूपमा पनि उनी त्यति बदनाम छैनन् । एयरपोर्ट भन्सारदेखि १ नम्बर कर कार्यालय हुँदै अर्थको बजेट महाशाखादेखि भूमिसुधार मन्त्रालयको सचिवजस्ता आकर्षक र अतिरिक्त आम्दानी हुने ठाउँहरूमा पनि उनी बस्न सफल भएका अधिकारी हुन् । विवादास्पद व्यक्तिहरूका भोज–भतेर र कार्यक्रमहरूमा नदेखिने मुख्यसचिव रेग्मी केही दिनअगाडि एउटा विवादास्पद मात्र नभएर चर्चित तस्करको कार्यक्रममा देखिए ।
बालुवाटारस्थित एलिस नामक रेष्टुरेन्टमा मुख्यसचिवका दम्पती देखिए । त्यसमाथि विवादास्पद एवम् चर्चित तस्करका रूपमा चिनिँदै आएका पवन धरानिया भनिने पवनकुमार अग्रवालको नातिको कार्यक्रममा । डलर, हुण्डीदेखि सुनको अवैध कारोवारमा संलग्न रहेर धेरै बदनामी कमाएका विवादास्पद व्यापारी हुन् पवन धरानिया ।
अवैधधन्दाबाट करोडौँ करोड कमाएपछि उनले अहिले धर्मपथमा जय माता दी गोल्ड प्यालेस नामक सुन पसल सञ्चालन गरेका छन् । उक्त सुन पसलको उद्घाटन कार्यक्रममा नेपाल प्रहरीको एआइजी भई अवकाश भएका एवम् पछि बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्यसमेत रहेका गणेश राईसमेत सहभागी थिए ।
केही महिनाअघिमात्रै राईले सो पार्टीबाट राजीनामा दिएका थिए । अवैधधन्दा सञ्चालन गरेर बदनामी कमाएका पवन धरानियाको नितान्त नातिको कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मीजस्ता उच्च सरकारी अधिकारी उपस्थिति हुनुले भने त्यहाँ धेरै सहभागीहरूलाई आश्चर्यचकितसमेत पारेको थियो ।
रेग्मीसँगै अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र भन्सार विभागका उच्च अधिकारीहरूसमेत तस्कर पवन धरानियाको उक्त कार्यक्रममा सहभागी थिए । यसबाट हाम्रो निजामती त्यसमाथि अर्थमन्त्रालयअन्तर्गतका जिम्मेवार अधिकृतहरूमात्रै नभएर निजामतीको बाबुका रूपमा चिनिने मुख्य सचिव नै उपस्थित हुनुले तस्करसँगको कर्मचारीको सम्बन्धलाई उजागर गरेको छ ।

यसबाहेक सुब्बा र अधिकृत तहका अकुत सम्पत्ति कमाएर अख्तियारको कारवाहीमा परी मुद्दा जितेका भ्रष्टहरू पनि अग्रवालको सो पार्टीमा सहभागी थिए ।

