ऋण चुक्ता गर्न नसकेपछि बाउको नागरिकता साहुको कब्जामा, परिवारले नागरिकता पाएनन्



हाम्रो इकोनोमि

 

६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौंदेखि साहुको सन्दुकमा थुनिएको छ। सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सकेकी छैनन्। यसले गर्दा उनी सामाजिक सुरक्षा भत्तालगायत राज्यका सेवा–सुविधाबाट वञ्चित छिन्।

 

उनका छोरो मुनेश्वरले रामअशिष यादवकहाँ बुवाको नागरिकता बन्धकी राखेर २ हजार ऋण लिएका थिए। तर, उनले पैसा फिर्ता गर्न सकेनन्। नागरिकता फर्किएन। ‘साहु–महाजन’को ताकेता र परिवारको दबाब झेल्न नसकेर मुनेश्वरले गाउँ छाडे।

 

धनुषा लक्ष्मीनियाँ गाउँपालिका—२ सिनुरजोडामा ४४ मुसहर परिवारको बसोबास छ। वरिपरि पक्की भवन ठडिएका छन्। मुसहर समुदायलाई भने वर्षौंदेखि रोग, भोक र शोकले सताएको छ। त्यसमध्ये पनि विपन्न छ सिरवती परिवार। सम्पत्तिका नाममा भएको नागरिकता पनि बन्धकीमा राख्नुपर्‍यो। नागरिकता नहुँदा सिवरतीजस्ता वृद्धा सरकारी सुविधाबाट वञ्चित छन्। ‘नागरिकतै नै है त वृद्धा पिल्सिन कतसँ भेटत’, मैथिलीमा उनले भनिन्। यसको अर्थ ‘नागरिकता नै छैन भने वृद्धा पेन्सन कहाँबाट भेट्छ ? ’ हो। गाउँघरमा ठेट भाषामा भत्तालाई ‘पिल्सिन’ भन्छन्।

 

मुनेश्वरले भारतको पञ्जाव गई पैसा कमाएर बुवाको नागरिकता साहुबाट फर्काउने वाचा आमासँग गरेका थिए। ‘छोरो ऋण लिएर पञ्जाव गयो, कमाउन सकेन, रित्तै फर्कियो’, उनले भनिन्, ‘महाजनको कर्जा चुक्ता भएन, नागरिकता फर्किएन।’

 

सिवरतीले दशकअघि श्रीमान् गुमाइन्। हमिनी पखाला लागेर बिरामी परेका थिए। उनको उपचारका लागि सिवरती गाउँभरि भौतारिइन् तर सहयोग पाइनन्। थला परेको एक महिनामा बिरामीको ज्यान गयो।       श्रीमान्को अन्तिम संस्कारका लागि उनले दुई धुर जग्गामध्ये एक धुर २५ हजार रुपैयाँमा बेचिन्। ‘मर्दा पनि समाजले छाड्दैन’, उनले दुखेसो पोखिन्, ‘ श्रीमान् मर्दा घडेरी बेचेर जातभरिलाई भोज खुवाउनुपर्‍यो।’

 

सम्पत्तिका नाममा अब एक धुर घडेरी छ। चार पुस्तादेखि उनको परिवार यहीं बसोबास गर्दै आएको छ। तर, घडेरीको लालपुर्जा छैन। सिवरतीका साथमा जेठो छोरो अघनु, बुहारी सुभद्रा र दुई नातिनी कविता र अमृता बस्छन्। सिवरती दम्पतीका अघनु, मुनेश्वर र जुगेश्वर तीन छोरा थिए। कान्छोले आत्महत्या गरे। मुनेश्वर ऋण तिर्न नसक्दा १० वर्षदेखि घर फर्किएका छैनन्। अघनु २० वर्षअघि कमाउन पञ्जाव गएका थिए। उनी त्यतै मानसिक रूपमा विक्षिप्त भए। परिवारले खर्च अभावमा उनको उपचार गर्न सकेन।

 

अघनु श्रीमतीका भरमा छन्। सुभद्राले बनिबुतो गरेर पाँच जनाको परिवार पालिरहेकी छन्। दिनको १० किलो धान ज्याला पाउँछिन्। यही धान बेचेर उनले दाल, तिहुन–तरकारी जुटाउँछिन्। काम नपाएको दिन मुखमा माड लाग्दैन। उनले हिजोआज काम पाएकी छैनन्। ‘घरमा अन्नपात केही छैन’, उनले भनिन्, ‘बिहान–दिउँसो कमाएर बेलुकाको छाक टार्छौं। काम नपाए भोकै बस्नुपर्छ।’

 

सुभद्राको बिहे १५ वर्षको उमेरमा भयो। सुखको सास फेर्न नपाएको उनले सुनाइन्। उनले तीन छोरी र एक छोरा जन्माइन्। पहिलो सन्तान सरिता १० वर्षमा बितिन्। दाउरा लिन वन गएकी उनी रूखबाट खसिन्। ढाँड भाँचियो। उपचार नपाएर १० दिनमा ज्यान गयो। दोस्रो सन्तानलाई दुई महिनाको हुँदा निमोनियाले लग्यो। उनीसँग छोरीहरू कविता र अमृता छन्। चार वर्षकी अमृता कुपोषणले ग्रस्त छन्। कविता सरकारी विद्यालयमा पढ्छिन्। दुवै जनाको जन्मदर्ता छैन।

 

यो परिवार राज्यका सेवा–सुविधाबाट वञ्चित छ। व्यवस्था फेरियो तर सदा परिवारको अवस्था उस्तै छ। उनीहरूको घर थोत्रो साडी, झिक्राको खाँबो र प्लास्टिकले छाएको छ। यही झुप्रो (घर)मा ओतिएका छन् उनीहरू। भुइँमा बोरा ओछ्याएर चिसो काटेका उनीहरूलाई फागुन–चैतमा हुरीको चिन्ता छ। ‘वर्षामा घर चुहिन्छ, माघ–पुसमा जाडो पस्छ’, झुप्रोको दर्द सुनाउँदै सुभद्राले भनिन्, ‘चैत–वैशाखमा हुरीले झुप्रो उडाउँछ।’ सदा परिवारमा टुकी बाल्न मट्टितेलसमेत छैन। सातादेखि यो घरमा बत्ती बलेको छैन। ‘सहर–बजारको सडकमा दिउँसै बत्ती बल्छ’, सिवरतीले भनिन्, ‘तर, हाम्रो घरमा टुकी बाल्ने तेल पनि छैन।’

 

सिनुरजोडाका मुसहरको गरिबी पीडा सुनिसाध्य छैन। ऋणमै जन्मिन्छन्, ऋणमै हुर्किन्छन् र ऋणमै जीवन गुजार्छन्। कुनै पनि कामका लागि ऋण नकाढे गर्जो टर्दैन। साहु–महाजनले पनि सजिलै पत्याउँदैनन्। ऋण लिन साहुले कपाली तमसुकमा औंठाछाप गराउँछन्। अरूसँग पनि ऋण खान्छ भनेर साहुले नागरिकता पनि बन्धकीमा लिन्छन्।

 

सिवरतीकी छिमेकी कोशिला सदाले बुहारीलाई सुत्केरी गराउन ऋण लिइन्। उनले रामअशिषलाई १० हजार ऋण मागिन्। रामअशिषले पैसा दिए तर नागरिकता बन्धकी लिएर। ‘एक महिनाअघि साहुबाट १० हजार लिएँ’, उनले भनिन्, ‘तर, नागरिकता राख्यो, कपाली कागजमा आंैठाछाप पनि गरायो।’ ऋण तिरेपछि मात्र साहुले नागरिकता फिर्ता गर्ने उनले सुनाइन्।

 

रामअशिषलाई मुसहर बस्तीका सबैले ‘महाजन’ भन्छन्। उनकै भर पर्छन्। भुनेश्वर सदाका बुवा दुई वर्षअघि एक्कासि बिरामी परे। उपचारका लागि उनले रामअशिषसँगै २० हजार ऋण लिए। बुवालाई बचाउने उनको प्रयत्न सफल भएन। ‘काजक्रियाका लागि पनि महाजनकै दैलो धाउनुपयो’, उनले भने, ‘नागरिकता नहुनेले ऋण पाउँदैन। धन्न मसँग थियो र पाएँ।’

 

देशभरि मुसहरको जनसंख्या १३ लाख छ। प्रमाण जुटाउन नसक्दा उनीहरू अधिकांश ‘अनागरिक’ छन्। ऋण चुक्ता गर्न नसक्दा समाज पछि परेको सिनुरजोडाकी रामेश्वरी सदाको ठम्याइ छ। ‘साहु–महाजनले तमसुक लेखाउँछन्’, उनले भनिन्, ‘नपढेका मुसहर महाजनकै विश्वासमा औंठाछाप गरिदिन्छन्।’

नागरिकता बन्धकी राखेर ऋण खानेले महाजनको हप्कीदप्की सहनुपर्छ। यातना पनि भोग्नुपर्छ। ‘ब्याज तिरेन भने कुटपिट पनि गर्छन्’, रामेश्वरीले भनिन्।

 

८० वर्षीय रामअशिषको घर मुसहर बस्तीनजिकै छ। मुसहरलाई दिएको ऋणबारे उनी मुख खोल्दैनन्। उनले यसको जिम्मेवारी छोरा सञ्जीवकुमार यादवलाई सुम्पेका छन्। अरूसँग ऋण नखाओस् भनेर नागरिकता लिने र काम परे फर्काइदिने गरिएको उनको दाबी छ।

अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...