गुण्डा नाइके राजु गोरखालीको समूहले भाडामा लिएर चलाउँदै आएको काठमाडौं मल सञ्चय कोषले आफैं चलाउने
कर्मचारी सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको सुन्धाराको व्यापारिक भवन ‘काठमाडौं मल’ लाई कर्पोरेट कार्यालयका रुपमा सञ्चालन गर्ने जनाएको छ ।
हाल सपिङ सेन्टरका रुपमा प्रयोग भइरहेको भवनलाई खाली गराएर को षले कर्पोरेट हाउस बनाउन लागेको हो ।
ठेक्कामा दिँदा पटक-पटक समस्या आएपछि आफैंले सञ्चालन गर्न निर्णय भएको कोष स्रोतलेजानकारी दियो ।
अब विस्तारै काठमाडौं मलमा हाल सञ्चालनमा रहेका पसल हटाइनेछ । त्यहाँ व्यवसाय गरिरहेकाहरुलाई
कर्पोरेट कार्यालय राख्न भाडामा दिने कोषको योजना छ ।
पछिल्लो समय काठमाडौं मल गुण्डा नाइके राजु गोरखालीको समूहले भाडामा लिएर चलाउँदै आएका थिए ।
व्यवसायी प्रवीण शमशेर राणाले शुरुवातदेखि नै १५ वर्षका मलको व्यवस्थापनको जिम्मा पाएका थिए ।
०६२ भदौ १ गतेबाट मासिक ६४ लाख रुपैयाँ डिल भएकोमा ०७२ सम्म आइपुग्दा कोषले भाडा बढाएर ७५ लाखसम्म पुर्याएको थियो । तर, मलमा फाइदा नहुने देखेर राणा ५ वर्ष अगाडि नै ०७२ मा जिम्मेवारीबाट हटे ।
राणाले ठेक्का तोडेपछि ०७३ माघसम्म कोष आफैलें मल सञ्चालन गर्दै आएको थियो । त्यस दौरान सर्भे गर्दा मल मासिक ९० लाखसम्म भाडामा जाने देखियो ।
तर, टेण्डर आहृवान गर्दा शिवलक्ष्मी कोजुले २ लाख ७१ लाख बोलकबोल गरेपछि कोष नै चकित परेको थियो ।
मनपरी भाडा असुल्न सक्ने देखेर त्यतिबेला यो समूहले यति ठूलो मूल्य कबोल गरेको हुनसक्ने कोष स्रोत बताउँछ । मल व्यवस्थापकको सतहमा कोजु देखिएपनि उनी राजु गोरखाली समूहकमै हुन् ।
०७३ माघदेखि मल व्यवस्थापनको जिम्मा गुण्डा नाइके राजु गोरखालीको हातमा गयो । गोरखाली समूहसँगको ठेक्का गत पुसमा समाप्त भएको छ । उनलाई भाडामा दिएदेखि मलको दुर्दशा शुरु भएको कोषका अधि कारी बताउँछन् ।
पसल सञ्चालन गर्नेहरुसँग मनपरी भाडा असुल्ने, भवनको व्यवस्थापनमा ध्यान नदिने जस्ता ठेकेदार गोरखालीको क्रियाकलापले कोष आजित बनेको थियो ।गुण्डागर्दीमा सक्रिय उनले मल हातबाट फुत्किन नदिन राजनीतिक र प्रशासनिक शक्ति समेत प्रयोग गरेका थिए ।
ठेक्का सम्झौता सकिएपछि नविकरण गराउन पछिल्लो पटक पनि उनी ठूला राजनीतिक दलका नेताकोमा दौडधुपमा थिए ।
सभामुख कृष्णबहादुर महरादेखि नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग उनको बाक्लै भेटघाट हुने गरेको स्रोत बताउँछ । तर, उनी कांग्रेस निकट भएको बताइन्छ ।
उनले पसल चलाउनेलाई धम्क्याएर बढी भाडा असुल्ने तर, कर्मचारी सञ्चय कोषलाई कम भाडा दिने गर्दै आएका थिए ।
मलमा ३ सयभन्दा बढी व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।त्यहाँ व्यवसाय गर्नेहरु गुण्डा नाइके गोरखालीसँग आजित बनेका थिए ।
५ गुणासम्म भाडा वृद्धि गरेपछि व्यवसायीले प्रशासनमा उजुरी समेत दिएका थिए ।शक्ति सम्बन्धका कारण काठमाडौं मलमा उनको मनपरी चल्दै आएको थियो ।
भाडा विवाद चर्किएपछि पछिल्लो पटक माघ २० गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । ०७४ जेठ मा पनि उनी भाडा विवादमा परेर प्रहरीको फन्दामा परेका थिए ।
सञ्चय कोषले मल खाली गराउने जनाएपछि व्यवसायी विरोधमा छन् । मल खाली गराउन कोषले सार्वजनिक सूचना नै जारी गरेपछि व्यवसायी आक्रोशित बनेका छन् । कोषको यो कदम गैरकानूनी भएको उनीहरुको भनाइ छ ।

