ओली र प्रचण्डबीच युद्ध सुरु, यस्तो छ एकले अर्कालाई सिध्याउने रणनिति
जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय धुम्बाराहीमा भएको कार्यक्रमको विषयलाई लिएर नेकपा भित्र कित्ताकाट सुरु भएको छ । दुई अध्यक्ष मध्येका एक प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको अनुपस्थितीमा तत्कालीन नेकपा एमालेका केही नेताहरुलाई राखेर गरिएको जनयुद्ध दिवसको कार्यक्रम पार्टीको निर्णय बमोजिम भएको भनेर प्रचण्डले दाबी गरिरहँदा तत्कालीन एमालेका नेताहरुले भने यो स्वीकारेका छैनन् ।
रोजगार कार्यक्रममा प्रधानमन्त्रीले दुईचारेक झटारा पनि फाल्न भ्याए। पूर्व एमालेसँग पार्टी मिल्नु अघिसम्म तत्कालिन नेकपा माओबादीले वर्षेनी फागनु १ गते आफ्नै बलबुतामा जनयुद्ध दिवस मनाउँदै आएको थियो। तर यसपाली त्यस्तो भएन। एमालेसँग मिसिएपछि, उसको जनयुद्ध दिवसमा अरु आन्दोलनका शहीदहरु समेत थपिएका छन् । कार्यक्रमको नाम नै ‘जनआन्दोलन र जनयुद्धका महान शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम’ राखिएको थियो।
जहाँ प्रचण्डले युद्धमा मारिएका आफ्ना नेता कार्यकर्ता मात्रै नभएर पूर्व एमाले कार्यकर्ता सहित, राणा शासन बिरुद्धको संघर्षसम्मका सबै मृतकहरुलाई एकमुष्ठ श्रद्धान्जली भन्ने अबस्था आइलाग्यो। तर धुम्बाराहीको कार्यक्रममा, पूर्व एमाले शीर्ष नेताहरु माधव नेपाल, झलनाथ खनालदेखि अध्यक्ष ओली समेत गएनन्। सफ्ट बहिष्कार गरे। उपस्थिति देखाउन दोश्रो बरियाता नेताहरु भीम रावल, युवराज ज्ञवाली, सुवास नेम्बाङहरुलाई पठाए। पूर्व माओबादीको जनयुद्धमाथि ओलीको यो सबभन्दा ठूलो झटारो थियो।
माओबादी सशस्त्र युद्धका सबैभन्दा कडा आलोचक ओलीले यही कार्यक्रम टार्नका लागि आजै प्रधानमन्त्री रोजगार कार्यक्रममो प्रहसन मन्चन गरेको, पूर्व माओबादी नेताहरुको दाबी छ। ती नेताले भने, नत्र कुनै जाति विशेषको कार्यक्रमका बेला विज्ञप्ती निकाल्न सक्ने ओलीले किन जनयुद्ध जस्तो महान आन्दोलनको दिवसमा दुई शब्द श्रद्धान्जलीको शब्द लेख्न सकेनन् ?
रहस्यमयी तरिकाबाट सरकारलाई अप्ठ्यारोमा पार्न अग्रसर देखिएका प्रचण्ड तत्कालका लागि रहस्यमयी किसिमबाट नै ‘ठण्डा’ हुन पुगेका छन् । भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध वक्तव्य दिएर सरकारलाई अप्ठ्यारोमा पारेपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको सम्बन्ध थप चिसिएको थियो ।
अमेरिकाविरुद्ध वक्तव्य दिएलगत्तै चिनियाँ राजदूतले प्रचण्डसँग पटकपटक भेटी वक्तव्यको प्रशंसा गरेकी थिइन् । चीनको सद्भाव आफूतिर बढेको महसुस गरेपछि प्रचण्ड खुसीले प्रफुल्लित भएर फेरि माओवादी जन्मिने र ‘जनयुद्ध’ हुनसक्नेजस्ता अभिव्यक्ति दिन पुगेका थिए ।
चिनियाँ राजदूतले घरमै पुगेर पटक–पटक भेटेपछि प्रचण्ड आफ्नै पार्टीको सरकारप्रति समेत असन्तुष्टि जनाउन अग्रसर भएका थिए । भेनेजुएला प्रकरणमा आफूले दिएको वक्तव्यको भावनाअनुरूप नै पार्टी सचिवालयको निर्णय भएको र सरकारले समेत शिष्टतापूर्वक आफैँलाई समर्थन हुने गरी वक्तव्य दिएपछि प्रचण्डमा थप उत्साह पैदा भएको थियो ।
त्यसैबीच अमेरिकी राजदूतले भेट गरी अमेरिका भ्रमण गर्न सक्ने बताइदिएपछि प्रचण्डमा यसरी मात चढेको देखियो कि उनले आफूलाई सी जिनपिङसरह ठान्न थालेको उनका निकटवर्तीहरूले महसुस गरेका छन् । केही समययता प्रचण्डका भित्री गतिविधिमाथि सूक्ष्म निगरानी राखेर बसिरहेका प्रधानमन्त्री केपी ओली प्रचण्ड र वामदेव गौतमबीच पटकपटक भएका भेट, माधव नेपाल र झलनाथ खनाललाई आफ्नो पक्षमा लैजान गरेको प्रयास तथा पार्टीको दोस्रो–तेस्रो पुस्ताका नेताहरूलाई सरकारविरुद्ध गोलबद्ध गर्न भइरहेका प्रयत्नहरूबारे जानकार रहेको बताइन्छ । अमेरिकाविरुद्धको वक्तव्य पनि आफैँलाई अप्ठ्यारो पार्न दिएको भन्ने ओलीले राम्रैसँग बुझेका थिए ।
प्रचण्ड तराईमा सरकारविरुद्ध आन्दोलन उठाउन प्रयासरत रहेको, त्यसनिम्ति उनले सीके राउतका समर्थक तथा अन्य मधेसकेन्द्रित समूहका नेताहरूलाई सरकारविरुद्ध जाइलाग्न उक्साएको, सरकारलाई दिएको समर्थनबाट फिर्ता हुन फोरम र राजपाजस्ता समूहलाई ‘सुझाएको’ र चिनियाँ राजदूतलाई समेत आफ्नाविरुद्ध भड्काउन प्रयास गरेकोजस्ता जानकारी प्रधानमन्त्री ओलीले पाएका थिए ।
पार्टीभित्र र बाहिर पनि आफूलाई राजनीतिक रूपमा एक्ल्याउन प्रचण्डले सक्रिय भूमिका निर्वाह गरिरहेको सूचना पाएपछि केपी ओली निकै गम्भीर बनेको, तर उनले प्रचण्डका क्रियाकलापबारे सार्वजनिक रूपमा कुनै टीका–टिप्पणी गर्न नचाहेको बताइन्छ । बरु प्रधानमन्त्रीले माघ महिनाभित्र तीनपटक प्रचण्डसँग लामो र गम्भीर वार्तालाप गरेका थिए ।
वार्ताका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउने र तर्साउने दुवै काम गरेको बताइन्छ । प्रचण्डनिकट एक सूत्रले जनाएअनुसार एकपटक त केपीले ‘तपाईंलाई हेग पुग्नबाट मैलेबाहेक कसैले जोगाउन सक्नेछैन’ भनी प्रचण्डलाई चेतावनी पनि दिएका थिए । प्रधानमन्त्री ओली पहिलेभन्दा सचेत र संयमित बनेको महसुस उनका निकटवर्तीहरूले गरेका छन् । पार्टीका असन्तुष्ट नेताहरूलाई थप असन्तुष्ट बन्न नदिने प्रयासमा ओली रहेका छन् ।
कुनै समय माओवादीको घोर विरोधीको छवि बनाएका केपी ओलीलाई ‘जनयुद्ध दिवस’ मनाउन राजी तुल्याउनुलाई प्रचण्डले आफ्नो ठूलो सफलता ठानेका छन् । माओवादी एमालेकरण भएको होइन, बरु एमालेलाई माओवादीकरण गर्न आफू सफल भएको सन्देश दिन प्रचण्डले ओलीलाई ‘जनयुद्ध दिवस’ मनाउने ठाउँमा ल्याइपुऱ्याएको ठानिन्छ । गत वर्ष कम्युनिस्ट पार्टीको सरकार गठन भएयता प्रचण्ड र केपीबीच एकप्रकारको ‘शीतयुद्ध’ चल्दै आएको छ । दुवैले एक–अर्कालाई कमजोर र विस्थापित तुल्याउन गरेका प्रयासहरूमा कहिले केपी त कहिले प्रचण्ड सफल भएजस्ता देखिन्छन् ।
प्रचण्डका गुप्त षड्यन्त्रलाई समयमै चिर्न सक्नुलाई केपीको सफलता मानिन्छ भने ‘जनयुद्ध दिवस’ मनाउन केपीलाई राजी गराउन सक्नु तथा अमेरिकासँग केपीको सम्बन्ध चिस्याइदिन सक्नुलाई प्रचण्डको सफलता ठानिन्छ । जुन प्रकारको अन्तरद्वन्द्व कम्युनिस्ट सत्ताभित्र देखिएको छ त्यसले अन्ततः प्रचण्ड र केपीमध्ये एकको राजनीतिक उचाइ समाप्त गरिदिने स्पष्ट सङ्केत गरिरहेको छ । यो शीतयुद्धको अन्तिम परिणाम आउन अझै केही महिना प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।