मेलम्चीको बाँकी काम नेपाली सेनालाई दिने तयारी



हाम्रो इकोनोमि

 

 सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ ।  इटालियन ठेकेदार कम्पनी सीएमसीले बीचमै काम छाडेर गएपछि सरकारले सीएमसीसँग ठेक्का तोड्ने निर्णय लिएको थियो ।महत्वपूर्ण आयोजनाका रूपमा लिइएको मेलम्चीलाई सरकारले निर्माणको बाँकी कामको जिम्मा सेनालाई दिने तयारी गरेको हो ।

 

स्रोतका अनुसार नयाँ निर्माण कम्पनी खोज्ने कि नेपाली सेनालाई दिने भन्ने विषयमा सरकारी तवरमा छलफल भइरहेको छ । तर, सरकारले मेलम्चीको बाँकी काम गर्न उपयुक्त विकल्पका रूपमा नेपाली सेनालाई राखेको हो ।

 

सीएमसीले काम छाडेपछि बाँकी काम अगाडि बढाउनका लागि सरकारले सेनालाई पनि उपयुक्त विकल्पका रूपमा छानेको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ । आयोजनाको बाँकी रहेको थोरै मात्र कामका लागि नयाँ ठेकेदार छनोट गर्दा काममा अर्को जोखिम मोल्नुपर्ने भएकाले सेनालाई नै दिँदा जायज हुने सरकारको बुझाइ छ ।

 

तर, सेनालाई बाँकी काम गर्न दिने विषयमा दातृ निकाय भने सहमत नहुने सम्भावना रहेको स्रोत बताउँछ । यस्तो भएमा नेपाली सेनाले सो आयोजनाको काम पाउँदैन । यस योजनामा दातृ निकायका रूपमा रहेको एसियाली विकास बैंक (एडीबी)ले सेनाबाट काम गराउन मान्छ कि मान्दैन भन्ने विषयमा पनि व्यापक छलफल हुने मन्त्रालयको भनाइ छ ।

 

तर, एडीबी भने नयाँ ठेकेदार कम्पनीबाट बाँकी काम गराउन चाहन्छ । अब सरकारको हातमा तीन विकल्प छन्, आयोजनाको कामका लागि नयाँ ठेकेदार कम्पनी खोज्ने, पेट्टी ठेक्कामा दिने वा सेनालाई दिने ?

 

सेनालाई बाँकी काम दिँदा भने एडीबीलाई बिदा गर्नुपर्छ र बाँकी खर्च सबै सरकारले बेहोर्नुपर्छ । अर्काे विकल्पका रूपमा नयाँ ठेकेदार ल्याउने वा पेट्टी ठेकेकादारलाई काम दिने भन्ने छ । नयाँ ठेकेदारलाई काम दिँदा सरकारले बढी जोखिम बेहोर्नुपर्छ । यस विषयमा छलफल तीव्र रूपमा चलिरहेको छ । आयोजनाको बाँकी काम कसको पोल्टामा पर्छ भन्ने निर्णय नभए पनि सेनाले पाउने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ ।

 

आयोजनाअन्र्तगत सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौंको सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङ मार्गमध्ये ४१० मिटरको अन्तिम फिनिसिङ हुन बाँकी छ । जसमा सुरुङभित्रको हावा जान बनाइने तीन ‘भ्यान्टिलेसन’मध्ये अहिलेसम्म एउटा मात्रै बनेको छ । बाँकी दुईवटा बन्न बाँकी रहेको छ । त्यसैगरी, ८८५ मिटर सुरुङमा ढलान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

 

त्यस्तै, सुन्दरीजलबाट सिन्धुकोबीच र सिन्धुबाट ग्याल्थुमबीचको ‘भ्यान्टिलेसन’ ड्रिल गर्न बाँकी छ । सुन्दरीजलको सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी लान जीआई पाइप राख्ने काम पनि बाँकी रहेको आयोजनाको भनाइ छ । सोही काम सक्न अझै २ अर्बभन्दा बढी खर्च लाग्ने आयोजनाको अनुमान छ । सो काम सक्न ग्लोबल टेन्डरमा जानुपर्ने भएकाले निकै ढिला हुने भन्दै बाँकी काम सक्न स्वदेशी कम्पनीलाई जिम्मा दिने विषयमा छलफल चलेको हो ।

 

तर, आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने आयोजनाको काम कसलाई दिने भन्ने विषयमा अहिले नै ठोस निर्णय नभएको बताए । साथै आयोजना स्तरमा सेनालाई दिने विषयमा समेत छलफल नभएको उनले जानकारी दिए ।सीएमसीसँग ठेक्का तोड्ने प्रक्रिया सुरु भए पनि फर्किने म्याद थपेकाले अहिले नै केही भन्ने अवस्था नरहेको उनको भनाइ छ ।

पछिल्लो समय नेपाली सेना जटिल मानिएका विकास निर्माणका काममा अब्बल देखिँदै आएको छ । सेनाले हालसम्म मुलुकका विभिन्न भागमा १ हजार ११४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको छ । हाल महत्वपूर्ण आयोजनाका रूपमा लिइएको काठमाडौं–तराई मधेस द्रुतमार्गसहित ५२६ किलोमिटर सडकमा सेनाले काम गरिरहेको छ ।सेनाले २१ वैशाख २०७४ को मन्त्रिपरिषद्को निर्णयबाट चार वर्षभित्र आयोजना सम्पन्न गरिसक्ने गरी ती निर्माणको जिम्मा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...