मन्त्री विना र सचिव ठाकुरका कारण ‘मेलम्ची’ सङ्कटमा, यस्तो छ ५ करोडको घुस काण्ड



हाम्रो इकोनोमि

 

सीएमसीलाई अन्तिम किस्ता दिने समयमा मनत्रालयका सचिव ठाकुर मार्फत मन्त्री विना मगरले ५ करोड घुस मागेपछि कम्पनी भागको खुलासा भएको छ । बरु काम छोडे छोड पैसा चाहिन्छ भनेपछि कम्पनी भागेको स्रोतको दाबी छ ।

 

काठमाडौंवासीले मेलम्चीको पानी पिउन अझै लामो समय पर्खनुपर्ने भएको छ । खानेपानीमन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरको गैह्रजिम्मेवार एवम् अनुचित व्यवहारका कारण इटालियन निर्माण कम्पनी CMC de Ravenna का प्रतिनिधिहरू काम छोडेर फर्किएका छन् । उनीहरू नफर्किएसम्म काम अगाडि बढ्ने सम्भावना देखिएको छैन, तर उनीहरू भने सुरक्षाका कारण नेपाल आउन नसक्ने भन्दै दुईपक्षीय छलफलसमेत तेस्रो मुलुकमा गर्ने अडानमा छन् ।

 

क्रिसमस मनाएर फर्कने भन्दै गएका सीएमसीका प्रतिनिधिहरूले आफूहरू नेपालमा असुरक्षित भएको र काम गर्ने वातावरण पनि नभएको भन्दै युरोपियन युनियनलाई नेपालसँग क्षतिपूर्ति दिलाइदिन माग गर्दै पत्राचार गरेको बुझिएको छ ।

 

ठेकेदार कम्पनीलाई दिन भनी स्वीकृत भइसकेको छत्तीस करोड रुपैयाँसमेत अनेक बहानाबाजी गर्दै मन्त्री र सचिवले अड्काइदिएपछि ठेकेदार कम्पनीका प्रतिनिधि मजदुर तथा कर्मचारीको पारिश्रमिक र आपूर्तिकर्ताहरूको भुक्तानी दिन नसकेर अप्ठ्यारोमा परेको थियो । भूकम्पले पुऱ्याएको क्षति तथा अन्य विभिन्न शीर्षकमा गरी एक अर्ब पैंसठ्ठी करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेकोमा पन्चानब्बे करोड रुपैयाँ उपलब्ध गराएर काम अघि बढाउने भन्ने समझदारी बनेको थियो ।

 

त्यसअघि ‘डिस्प्युट बोर्ड’ले कम्पनीलाई ३६ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने भनी स्वीकृत भइसकेको रकम पाउन कम्पनीले पटक–पटक पत्राचार गरे पनि मन्त्री विना मगर र सचिव ठाकुरले बिनाकारण भुक्तानी रोकेका थिए । कम्पनीका ६ सयभन्दा बढी कामदारको पारिश्रमिक र सामान आपूर्तिकर्ताको भुक्तानी दिन नसकेपछि इटालियन कम्पनी काम अघि बढाउन नसक्ने अवस्थामा पुगेको थियो ।

 

त्यसैबीच कम्पनीका प्रतिनिधिहरू इटाली जान लाग्दा पासपोर्ट कब्जा गरी विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिएपछि इटालियन कम्पनी सीएमसी झनै झस्किएको बताइन्छ । त्यसपछि क्रिसमस मनाउन भनी गएका सीएमसीका प्रतिनिधिहरू अहिलेसम्म नेपाल फर्किएका छैनन् ।

 

नेपालमा आफूहरूको सुरक्षा खतरा रहेको भन्दै सम्झौताद्वारा टुङ्गो लगाउने हो भने पनि वार्ता तेस्रो मुलुकमा हुनुपर्ने सर्त इटालियन कम्पनीले राखेको छ । सीएमसी आफूले धरौटीबापत राखेको दुई अर्ब छपन्न करोड बैंक ग्यारेन्टी फिर्ता लिन र अहिलेसम्म गरेको कामको भुक्तानी पाउन अन्तर्राष्ट्रिय निकाय गुहार्ने निर्णयमा पुगेको बुझिएको छ । इटालियन कम्पनीसँगको विवाद निरूपण नभएसम्म सरकार कुनै अर्को कम्पनीलाई ठेक्का दिएर बाँकी काम सम्पन्न गर्न सक्ने अवस्थामा छैन र अब यो विवाद तत्काल टुङ्गिने पनि देखिएको छैन ।

 

अर्को कम्पनीलाई ठेक्का दिँदा महिनौँदेखि पारिश्रमिक नपाएका ६ सयभन्दा बढी मजदुर तथा कर्मचारीको पारिश्रमिक कसले व्यहोर्ने, सीएमसीका अलपत्र रहेका उपकरण तथा अन्य सामग्रीको जिम्मा कसले लिने र सीएमसी आर्बिटेसनमा गएमा के गर्ने भन्नेजस्ता प्रश्नहरूले अन्योल पैदा गरेको छ । यही अन्योलका कारण राजधानीवासीले मेलम्चीको पानी पिउन पाउने समय पनि अनिश्चित बन्न पुगेको छ ।

 

मेलम्ची सुरुङको आठ सय मिटर लम्बाइ क्षेत्र निर्माण हुन बाँकी छ भने उक्त काम सम्पन्न गर्न कम्तीमा तीन महिना लाग्ने बताइन्छ । बाँध क्षेत्रमा निर्माण कार्य पूरै बाँकी रहेको छ र उक्त कार्य सम्पन्न हुन कति समय लाग्ने हो यकिन भएको छैन । नेपाल सरकारले तत्काल गम्भीरतापूर्वक कदम चालेन भने सीएमसीलाई अर्बौं रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने र राजधानीवासीले पानी पिउनका निम्ति अझै अनिश्चितकालसम्म प्रतीक्षा गर्नुपर्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...