‘राजाकी डाइभर्नी’ भनेर चिनिने रामदेवी वृद्धाश्रममा



हाम्रो इकोनोमि

२०७५ माघमा रामदेवी श्रेष्ठ १०२ वर्षकी हुँदैछिन्।तर उनको जीवनप्रतिको मोह, लगाव र जीवन जिउने तृष्णा उत्तिकै छ।उतिबेला उनी राजदरबारमा सवारी चलाउने डाइभर्नीको नामले चिनिन्थिन्।

 

तत्कालीन राजा महेन्द्रलाई हालको नारायणहिटी दरबार संग्राहलयदेखि कवाजका लागि टुँडिखेल र दर्शनका लागि विभिन्न मन्दिर तथा शक्तिपीठमा ओहोरदोहोर गराउने रामदेवी काठमाडौंको ठँहिटीमा जन्मेहुर्केकी हुन्।

एकातिर आफ्ना बुवा र काका समेत राजवैद्य थिए भने आफ्नो श्रीमान् समेत दरबारमै गाडी चलाउने गर्थे।

त्यसैले दरबारसम्म पुग्न र सवारी साधन चलाउने सीप सिक्न खासै गाह्रो नपरेको उनको अनुभव छ।

न त उनीसँग सवारी चालक अनुमतिपत्र थियो न त उनी कहिल्यै दुर्घटनामा नै परिन्।

प्रतिप्रश्न

कारण थिए- राजाको सवारी चलाउन किन अनुमतिपत्र चाहियो भन्ने सम्बद्ध अधिकारीको प्रतिप्रश्न र धैर्यपूर्वक सवारी चलाउने उनको शैली।

घर नजिकै सवारी पार्किङ रहनु र आफ्ना श्रीमान्‌ले समेत दरबारको गाडी बेलाबेला घरमै ल्याउने हुँदा उनलाई सवारी चलाउने सीप निखार्न धेरै समय लागेन।

ठमेलबाट बालाजु हुँदै हालको चक्रपथ बाहिर जाने बाटोमा उनले कुशलतापूर्वक सवारी साधन चलाएपछि सम्बद्ध निकायले ‘तिमी अब पास भयौ’ भनेपछि आफू दरबारको गाडी चलाउन थालेको उनी बताउँछिन्।

‘कतै जानुपर्‍यो भने दरबारबाट खबर आइहाल्थ्यो, अनि दौडँदै पुग्थेँ,’ उनी सम्झिन्छिन्।

रामदेवीको गाडी हँकाइबाट राजा महेन्द्र पनि खुसी थिए।

बकस

उनका अनुसार राजा महेन्द्र खुसी भएपछि सानो ‘ट्याक्सी’ बकस मै दिएका थिए।

आफ्नो जीवनकालमा झण्डै १६-१७ वर्ष सवारी साधन चलाएपनि राजा महेन्द्रको गाडी भने उनले ६-७ वर्षमात्र चलाइन्।

राजा महेन्द्र र आफ्ना श्रीमान् कृष्णदास श्रेष्ठको मृत्युपछि आफूले सवारी चलाउन छाडेको उनको भनाइ छ।

उनको सवारीमा राजा महेन्द्रका अतिरिक्त राजा वीरेन्द्र, राजा ज्ञानेन्द्रका साथै दरबारमा काम गर्ने कर्मचारी समेत चढेको उनी सम्झिन्छिन्।

‘घरमा पानी भर्नेदेखि तीनवटी सासूहरू ननिदाउञ्जेल सम्म गोडा थिच्ने काम गर्नुपर्थ्यो। बीचमा दिनभर दरबारमा काम गर्दा आम्दानी हुने भएकोले सबैजना खुसी नै थिए,’ उनले भनिन्।

गुच्चा खेल्दाखेल्दै माया बसेर बिहे भएको बताउने उनले भनिन्, ‘हामी एकअर्काले मन पराउने र नछुट्टिने बताएपछि दुवै परिवार राजी भएर विवाह गर्‍यौँ।’

उनी थप्छिन्, ‘९० सालको भूकम्प आउँदा म १५-१६ वर्षकी मात्र थिएँ। त्यसको एकदुई वर्षमै विवाह भयो र विवाहको केही समयपछि दरबारमा मैले गाडी चलाउन थालेकी हुँ।’

माया

आफ्ना आमा-बुवा र श्रीमान् बितेपछि जीवन केही कष्टकर बन्दै गएको उनको अनुभव छ। तर कसैलाई शत्रु नदेख्ने र सबैसँग मिठो बोल्ने हुनाले आफूलाई सबैले माया गर्ने गरेको उनी बताउँछिन्।

‘तर ठँहिटीमै रहेको मेरो घर मेरै आफन्तले छलकपट गरेर बेचिदिए अनि मलाई एक लाख रुपैयाँमात्र दिए। तर मैले अस्वीकार गरेँ,’ उनी सम्झिन्छिन्।

घर नभएपछि बस्ने स्थानको टुंगो नभएकोले उनी कसैको सहयोगमा काठमाण्डूको रविभवनस्थित दिलशोभा श्रेष्ठद्वारा सञ्चालित आमाघरमा आश्रय लिन पुगिन्।

‘कहिल्यै दु:ख भोग्नु परेन, सधैँ सुख शान्ति गरेर बसें, सधैँ भकारी भरि नै हुन्थे। तर अहिले आमाले (आमाघरकी सञ्चालक दिलशोभा) यहाँ ल्याउनुभएको छ। यहाँ पनि घरमा जस्तै खुसी लाग्छ। कुनै गुनासो छैन।’

उनी नि:सन्तान भएकोले उनलाई हेर्ने कोही नभएको उनलाई चिन्नेहरु बताउँछन्।

तर उनी भन्छिन्, ‘मेरा आफन्तहरू त छन् तर को कहाँ छन् मलाई अहिले थाहा पनि छैन र म भेट्न पनि जान सक्दिन।’

गुनासो

आफ्नी बालसखा मंगलादेवी (सर्वमान्य नेता गणेशमान सिंहकी धर्मपत्नी) सँग खेल्दै घुम्दै ‘मोज’ गरेको उनलाई स्पष्ट सम्झना छ।

चार कक्षा पास गरेकी उनी भन्छिन्, ‘मखनस्थित स्कूलमा पढ्न जाँदा स्थानीय ‘बुढिहरूले’ (महिलाहरुले) आफूहरूलाई खिसिट्यूरी गर्थे।’

लामो हाँस्दै उनले भनिन्, ‘बुढिहरूले तथानाम भनेपनि मंगलादेवी र म नसुनेझैँ गरि किताब कापी लुकाएरै स्कूल जान्थ्यौँ, फर्किन्थ्यौँ।’

कुराकानीका क्रममा आफ्नो बाल्यकाल, जन्मस्थान र आसपासका स्थानहरूमा आफूले बिताएका पलहरूलाई सचित्र वर्णन गर्ने उनलाई जीवनप्रति कुनै गुनासो वा पछुतो छैन। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...