चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु



हाम्रो इकोनोमि

 

 

काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका  आसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।
 मन्दिर आसपासमा  धेरै वृद्धवृद्धा
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले बढ्दो चिसोका कारण प्रत्येक वर्षको जाडोमा कक्रिएर दैनिक चारदेखि ६ जनाको मृत्यु हुने गरेको बताए । ‘बढ्दो चिसोले सहरमै दैनिक चारदेखि ६ जनाको कक्रिएर मृत्यु हुन्छ । सडकपेटीका बेवारिसे वृद्धवृद्धाले चिसोका कारण मृत्युवरण गरिरहेका छन्,’ उनले भने, ‘विगत वर्षका तथ्यांकले यस्तै देखाउँछ ।’ प्रहरीका अनुसार काठमाडौं उपत्यकाका मन्दिरआसपासका क्षेत्रमा धेरै छन् । त्यसमा पनि भिख माग्ने वृद्धवृद्धाको संख्या धेरै छ ।

 

 

मन्दिरआसपासका क्षेत्रमा भिख माग्ने कार्यमा वृद्धवृद्धा नै धेरै भएकाले जाडोले कक्रिएर मर्नेको संख्या यी क्षेत्रमा धेरै हुने गरेको प्रहरीको भनाइ छ । गृह मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर चिसोले कक्रिएर प्रत्येक वर्ष ४८ जनाको मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा विशेषगरी हिमाली र तराई क्षेत्रका विपन्नवर्गका नागरिक छन् । हिमाली क्षेत्रमा हिउँको चिसोले कठ्यांग्रिएर र तराईमा शीतलहरका कारण मृत्यु हुने गर्छ ।

 

 

 बेवारिसे अवस्थामा  भेटिएकी गर्भवतीको मृत्यु
सडकमा बेवारिसे अवस्थामा भेटिएकी अन्दाजी ३५ वर्षीया लक्ष्मी लामाको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार उनको थापाथलीस्थित प्रसूतिगृहमा मृत्यु भएको हो । उनको गर्भमा चार महिनाको शिशु रहेको प्रहरीले जानकारी दिएको छ । लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार क्षेत्रपाटीको सडकबाट उद्धार गरेको थियो । उनी मानसिक स्थिति बिग्रिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीका  अनुसार उनको गर्भमा रहेको शिशु कसको भन्ने खुल्न सकेको छैन ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले लामाको मृत्यु निमोनियाका कारण भएको बताए । ‘सडकमा रहेका बेवारिसे वृद्धवृद्धा उद्धार गर्ने क्रममा उनी फेला परेकी हुन् । उनको स्थायी परिचय खुल्न सकेको छैन ।

 

जाडोले कठ्यांग्रिएको अवस्थामा भेटिएकी उनी बिरामीझैँ देखिन्थिन्,’ बोगटीले भने, ‘उपचारका लागि अस्पताल लगपछि उनी गर्भवती रहेको खुल्यो । चिसोका कारण निमोनियाले उनलाई गालिसकेको रहेछ । उपचारकै क्रममा मृत्यु भयो ।’ सडकबाट उद्धार गर्दा उनीसँग परिचय खुल्ने कुनै कागजात फेला नपरे पनि उनले आफ्नो नाम लक्ष्मी लामा बताउने गरेको प्रहरीले जनाएको छ ।

 

 भक्तपुरमा दुईको मृत्यु
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चिसोकै कारण यस वर्ष दुईजनाको मृत्यु भइसकेको छ । बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको बर्सेनि मृत्यु भइरहने परिसरले जनाएको छ । ‘चिसोका कारण यसपटक दुईजनाको मृत्यु भएको छ । बेवारिसे व्यक्तिहरूको मृत्यु भने भइरहन्छन् ।

 

चिसोका साथै अन्य रोग पनि कारण रहेको छ,’ परिसर प्रमुख एसपी हिमालय श्रेष्ठले भने । प्रहरीका अनुसार ललितपुरमा भने चिसोका कारण मृत्यु भएको रिपोर्ट प्राप्त भएको छैन । ‘चिसोका कारण मृत्यु भएको घटना फेला परेको छैन । तर, बेवारिसे अवस्थाका व्यक्तिहरूको भने मृत्यु भइरहने गरेको पाइएको छ,’ ललितपुर परिसर प्रवक्ता एसपी शेखर खनालले भने ।

 

 २० जना वृद्धवृद्धालाई उद्धार गरी वृद्धाश्रममा राखियो
काठमाडौंमा जाडोले कक्रिएर मर्नेको संख्या बढेपछि प्रहरीले सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको तथ्यांक संकलन गरी उनीहरूलाई वृद्धाश्रममा लैजान थालेको छ । एक सातायता प्रहरीले स्वयम्भू, पशुपति, संकटालगायतका मन्दिर क्षेत्रबाट २० जना वृद्धवृद्धालाई विभिन्न वृद्धाश्रममा बुझाएको छ ।

 

उनीहरूलाई कालिमाटीस्थित दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघर, गोंगबुको हिमाल वृद्धाश्रम र लैनचौरको वरिष्ठ नागरिक समाज वृद्धाश्रममा राखिएको छ । प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कपडा, खाद्यान्नदेखि नित्यकर्मका सामग्री लायन्स क्लबले उपलब्ध गराएको छ । प्रहरीका अनुसार काठमाडौंमा अहिले यस खालका ५३ वृद्धाश्रम छन् जसमा नौ सय २४ वृद्धवृद्धा आश्रित छन् । काठमाडौंका वृद्धाश्रमको क्षमता एक हजार दुई सय ९२ छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...