पानी छिर्ने झोला भयो भण्डारण
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्रको भ्रष्टाचार शून्य सहनशीलतामा झार्न आफू लागि परेको बताईरहे पनि उनी नेतृत्वमा आउनु अघि वोलपत्र भएका ठेक्काहरूको समान बुझ्ने क्रममा ब्यापक गडबडी भईरहेको थाहा भएको छ ।
प्राप्त समाचार अनुसार सैनिकले बन्दोबस्तीका सामान बोक्ने वेभ ईक्युपमेन्ट ब्याग खरीदमा डरलाग्दो भष्ट्राचार गरी दश ट्रक्रसमान जंगी अड्डामा भित्र्याईएको छ ।
सम्भार रथी बिभागका केही अधिकृत तथा विबादास्पद ठेकेदार पिताम्बर मुन्काको योजनामा ३५ हजार थान कमसल ईक्युपमेन्ट ब्याग खरिद गरी घोटला गरिएको समाचार स्रोतले वतायो ।
यसमा रक्षा मन्त्री ईश्वर पोखरेललाई भिनाजु भिनाजु भन्दै सिहदरवारको पुतली वगैँचास्थित रक्षा मन्त्रालयमा विचरण गरिरहने ब्याग खरीदको ठेक्का पाएका विजय श्रेष्ठ र अर्का ठेकेदार ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र विसी लगायतले तारतम्य मिलाएका थिए ।
कसरी भयो घोटाला ?
निर्वतमान प्रधानसेनापति राजेन्द्र क्षत्रीका पालामा ३५ हजार थान वेभ इक्युमेन्ट ब्याग खरिदको वोलपत्र भएको थियो । करीव १४ करोड मूल्य बराबरको उक्त ठेक्का बिजय श्रेष्ठको न्यू एसियन नामक कम्पनीले हत्याएको थियो ।
प्रधानसेनापति निवास शशी भवनमा आवश्यक समान आपूर्तिको ठेक्का लिदा लिदै काठमाडांैका रैथाने श्रेष्ठले त्यहि क्रममा निर्वमान सेनापति क्षत्री पत्नी रीता क्षत्रीलाई प्रभावमा पारेर त्यो ठेक्का हात पारेका थिए । त्यसो त उक्त ठेक्का श्रेष्ठलाई दिलाउनमा सेनाभित्रका बिवादास्पद ठेकेदार मुन्काको समेत भूमिका रहेको थियो । तर अर्कै ठेक्कामा आफू फसेका कारण उनले यो ठेक्का मिलाएका थिए । खासमा मुन्का आफैं लिन चाहन्थे । आर्थिक वर्ष ०७२÷०७३ मा व्याग खरिदको ठेक्का लिएका मुन्काले समान तोकिएको समयमा बुझाउन नसक्दा सेनाको गुणस्तर हेर्ने समितिबाट अस्वीकृत भएको थियो । त्यसैले यो ठेक्कामा मुन्काले पर्दा पछाडि बाट श्रेष्ठलाई मोहरा बनाए ।
ठेक्का अनुसार चीनमा समान तयार गर्न लगाई निरीक्षण अनुगमन गर्न लैजादा देखी नै घोटलाको तारतम्य मिलाईयो । सम्भाररथी बिभाग मातहतका उच्च अधिकृतहरू यस्तो अनुगमनमा जाने प्रचलन रहेकोमा मुन्काकै सेटीङमा सम्भाररथीबाट उच्च अधिकृत नलगि कालिकास्थानमा रहेको बहुव्यावसाय उद्योगका मेजर राजकुमार लामा र नाम खुल्न नसकेका एक क्याप्टेनलाई लगियो । श्रेष्ठ, ज्ञानेन्द्र बस्नेत र लामासहितको अनुगमन टोलीले चीनमा निर्माण भईरहेको व्यागको नमूना छाउनीस्थित आवासखानामा पेश गरी परीक्षण गर्दा व्यागको कपडा वाटर प्रुफ (पानी नछिर्ने) हुनुपर्नेमा कपडाबाट पानी छिरेपछि यो बिषयले सेनामा हंगामा भयो । किनभने त्यतिबेला सम्म तीस हजार थान व्याग तयार भैसकेको थियो । त्यसपछि मुन्काकै अगुवाईमा अर्को नमूना पेश गर्ने भन्दै चार दिन समय मागिएको थियो । त्यतिवेला रचिएको चलखेल उधृत गर्दै समाचार स्रोत भन्छ यो चार दिनका बीचमा चीनबाट अर्को नमूना ल्याएको नाटक रच्दैै पूर्व प्रधानसेनापति क्षत्री पत्नी रीतामार्फत अघिल्लो वर्ष मुन्काले ढिलो बुझाएका कारण अडकिएको झोलाको कपडा पेश गरेर नमुना पास गराइयो ।
समाचार स्रोतका अनुसार निवर्तमान प्रधानसेनापति क्षत्रीकै पालामा उच्च तहबाट शक्ति प्रयोग गरेर गुणस्तर समितिलाई प्रभावमा पारी नयाँ ठेक्कामा पुरानो व्याग भिडाउने प्रपञ्चलाई बैधानिकता दिईएको थियो । यहि प्रपञ्चलाई सफल पार्न योजनाबद्ध ढंगले निरीक्षण अनुगमनमा उच्च तहका सैनिक अधिकारी नलगी मेजरलाई लगिएको बताईन्छ । यो प्रकरण बारे सेनाको समान भण्डारण गर्ने निकायले प्रधान सेनापतिको सचिवालय र सम्भाररथीमा गुनासो दर्ता भएको वताईएको छ । यो विषयमा सेनापति थापाले विश्वास गरेर सम्भार हेर्ने जिम्मा दिएका उपरथी रघु भण्डारीले कसरी छानविन गर्छन हेर्न बाँकी छ ।

