रक्सी धेरै आउन थालेपछि विमानस्थलमा कडाई : विदेशबाट कुन सामान ल्याउन सजिलो ?



हाम्रो इकोनोमि

 

काठमाडौं – विदेशबाट फर्किंनेले अबदेखि ‘निजी गुण्टा, झिटी भारी’ निर्देशिकामा तोकिएको भन्दा बढी सामान ल्याएमा जफत गर्न थालिएको छ । विदेशबाट फर्कनेले धेरै रक्सी बोकेर आउन थालेपछि भन्सार जाँचमा कडाई गर्दै निर्देशिका भन्दा बढी सामान ल्याएमा जफत गर्न थालिएको हो ।

बढीमा एक लिटर रक्सी मात्र ल्याउन पाउने नियम भए पनि योभन्दा धेरै ल्याउन थालेपछि कडाई गरिएको विमानस्थल भन्सार प्रमुख चुँडाराज सापकोटाले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

‛पछिल्ला केही दिनदेखि विदेशबाट फर्कनेले रक्सी धेरै ल्याउन थालेको देखियो, त्यसैले हामीले कडाई गर्न थालेका हौं′ सापकोटाले उज्यालो अनलाइनसँग भन्नुभयो, ‛निजी गुण्टा झिटी भारी निर्देशिकामा उल्लेख भएको परिणामभन्दा धेरै सामान ल्याएमा जफत हुन्छ ।′

२०७३ साल साउन १ गतेदेखि जारी भएको ‘निजी गुण्टा, झिटी भारी’ निर्देशिकामा उल्लेख भएको परिणामभन्दा धेरै सामान ल्याएको पाइएमा जफत हुने उहाँले बताउनुभयो ।

कुन सामानमा भन्सार तिर्न पर्दैन ?

‘निजी गुण्टा, झिटी भारी’ निर्देशिका अनुसार विदेशबाट फर्किंदा लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, औषधी उपचार गराई फर्केका बिरामीका औषधी, शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामानमा सजिलैसँग ल्याउन पाइन्छ । यी सामान ल्याउँदा भन्सार शुल्क लाग्दैन ।

यस्तै एक वटा ट्यावलेट, ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेन ड्राइभ, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक थान मात्र ल्याउन पाइन्छ ।

वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष काम गरेर फर्किंएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउँछन् । तर अरु नै कामले विदेश गएर एक वर्ष नबिताई फर्किएको भएमा भन्सार छुट् पाईंदैन । यसरी टिभी ल्याएमा विमानस्थलको भन्सारले जफत गर्न सक्छ ।

विदेशबाट घर फर्किंदा आफन्तलाई मोबाइल ल्याइदिने चलन पनि छ । तर निर्देशिका अनुसार एक थान मोबाइल ल्याउँदा मात्र भन्सार छुट पाइन्छ ।

पेशागत सामानमा पनि भन्सार तिर्न पर्दैन । तर त्यसो भन्दैमा जति पनि ल्याउन पाइन्छ भन्ने चाहिँ हुँदैन । बिभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका आफ्नो पेशासँग सम्वन्धित सामानमा पनि भन्सार लाग्दैन ।

डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १ र १ थान ल्याउँदा भन्सार तिर्नुपर्दैन ।

कति सुन ल्याउन पाइन्छ ?

सुनको गहनामा पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहनाको भन्सार तिर्न पर्दैन ।

विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । तर त्यसका लागि कर तिर्नुपर्छ । ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसाबले कर तिर्नुपर्ने हुन्छ ।

यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार रुपैयाँ भन्सार लाग्छ । ५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ ।

१०० ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ । ठूलो परिमाणमा सुनको गहना ल्याएमा पनि विमानस्थलमै जफत हुन्छ ।

के सामान ल्याउन पाईंदैन ?

विदेशबाट फर्किंदा एउटाभन्दा बढी टिभी ल्याउन पार्ईंंदैन । ३२ इन्चभन्दा ठूलो टिभी ल्याएमा इन्चअनुसार भन्सार महशुल तिर्नुपर्छ । कतिपय सामानमा एकैपटक ४० प्रतिशतसम्म भन्सार तिर्नपर्ने व्यवस्था छ । तर कतिपय सामान भने भन्सार तिरेरै पनि ल्याउन पाईंदैन ।

म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो एक एक थान ल्याउन सकिन्छ । तर, यी सामानमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ ।
विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...