रक्सी पिउन राउटेले १ हजार रुपैयाँमा बेचे सरकारले दिएको कोट



हाम्रो इकोनोमि

 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले लेकबेसी नगरपालिका–१ थोत्रीखोलाको राउटे बस्तीमा गत शनिवार कोट वितरण गर्यो । सरकारले चिसो महिनामा कोट वितरण गरेपछि सामाजिक सञ्जालमा राउटेले कोट लगाएको तस्विर भाइरल समेत भयो । कतिपयले राउटेको मौलिक पहिरन मासिने गरी कोट वितरण गरिएकोमा आलोचना समेत गरे ।

 

मन्त्रालयबाट कोट लगायतका न्यानो कपडा वितरण गर्न ८ लाख रुपैयाँ खर्च भयो । राउटेले कोट लगाएको फोटो खिँचेर मन्त्रालयका कर्मचारी सदरमुकामतिर फर्केपछि राउटेले कोट बिक्री गरे । प्रदेश सरकारले वितरण गरेका कोट लगायत कपडा बेचेर स्थानीय राउटेले सस्तोमा पाइने सोफी मदिरा खाएका छन् ।

 

मन्त्रालयका सचिव मानबहादुर विकले करीब ८ लाख रुपैयाँ खर्चेर राउटे बस्तीमा कोट, न्यानो कपडा, स्वास्थ्य शिविर लगायका काम गरेको बताए ।

 

केही महिनाअघि नेपाल प्रहरी श्रीमती संघले न्यानो कपडा, कम्बल र खाद्यान्न दिएको थियो । तर राउटेले पाएको लुगाकपडा र कम्बल सबै बिक्री गरिसकेको पाइएको लेकबेसी नगरपालिका प्रमुख गगनसिंह सुनारले बताए । ‘राउटे समुदायमा पर्याप्त सामग्री आएपनि उनीहरूले मदिरा खरिद गर्न सामग्री बिक्री गरिरहेका छन्,’ उनले भने ।

 

‘राउटे समुदायलाई दिइएको न्यानो कपडा, खाद्य, कम्बलहरू १–२ दिनमै बस्तीमा पाउन मुस्किल भइरहेको छ,’ नगर प्रमुख सुनारले भने, ‘त्यस्तो नगर्न बारम्बार भनेपनि उनीहरूले विक्री गर्ने गरेका छन् ।’ उनले राउटे बस्तीमा कुनै पनि बस्तुको अभाव नरहेको बताए ।

 

‘राउटे बस्तीमा केही पनि अभाव छैन । अभाव छ त मदिराको मात्रै,’ उनले भने, ‘सोही अभाव पूरा गर्न राउटेहरूले आफूले पाएको सामग्री बेच्ने र त्यसबाट आएको रुपैयाँले मदिरा खरिद गर्ने गरेका छन् ।’ लेकबेसी नगरपालिका–१ थोत्रीखोलामा राउटे बस्दै आएका छन् ।

 

स्थानीय वासिन्दालाई राउटे समुदायबाट सामान नकिन्न आग्रह गरिरहेको उनले बताए । ‘हामीले स्थानीयलाई राउटे समुदायबाट काठका भाँडाबाहेक अन्य केही पनि खरिद नगर्न आग्रह गरेका छौं,’ उनले भने ।

 

सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट राउटेहरूले केही घण्टामा सोफी खान बिक्री गरेका छन् । ‘कोट बिक्री भएको पाइएको छ । जुत्ता पनि बेचेका छन् । चामलबाहेक अन्य चिज बिक्री गरेका छन्,’ लेकबेसी नगरपालिकाका कार्यपालिका सदस्य धनसरा सुनारले भनिन्, ‘जुत्तालाई २ सयमा बिक्री गरेको, १–२ बोत्तल मदिरामा पनि बिक्री गरेका छन् । वडाध्यक्षले किन्नेलाई कारवाही गर्ने भनेपनि उनीहरूले गाउँगाउँमा गएर बेच्ने गरिरहेका पाइएको छ ।’

 

सदस्य सुनारका अनुसार भेरी पारीको गाउँमा कोट १ हजार रुपैयाँ, ८–९ सय, ५ सय रुपैयाँमा बिक्री वितरण भइरहेको छ । ‘डसनाको मूल्य ५ सय, कोटको मूल्य १ हजार रुपैयाँ जतिमा बिक्री गरिरहेका रहेछन्,’ उनले भनिन्, ‘बिक्री गरिरहेको खबर सुन्नासाथ म त्यहाँ गएको थिएँ । कसैसँग पनि अस्ति वितरण गरेको सामग्री भेटिएन ।’

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...