पूर्वराजा ज्ञानेन्द्रलाई बारम्बार आक्रमण गरेर प्रचण्ड के हासिल गर्न चाहन्छन्?
झन्डै दुईतिहाइ बहुमतको सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ुढुक्क भएर बस्न सकिने अवस्था नरहेकोु भन्दै पूर्वराजा ज्ञानेन्द्रप्रति सार्वजनिक कार्यक्रममै आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन्।
हजारौँ जनाको ज्यान गएको एक दशक लामो सशस्त्र द्वन्द्व हुँदै नेपालको मूलधारको राजनीतिमा स्थापित भएका यी पूर्वमाओवादी नेता बुटवलमा आइतवार आयोजित एउटा कार्यक्रममा पनि उद्विग्न देखिए।
पूर्वराजाप्रति लक्ष्य गर्दै उनले भने, “पूर्वशासकहरू कुनै न कुनै रूपले जनतालाई कमजोर पार्ने, उक्साउने र आफ्नो गुमेको शासन पुनर्स्थापित गर्न निरन्तर अभ्यासमा लागेका छन्।”
मुख प्रतिपक्ष नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा सो दलभित्र रहेका केही नेताहरूले हिन्दूराष्ट्र पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सङ्कलन गरेका थिए। सो विषयमा कांग्रेसले अनौपचारिक छलफल गर्न थालेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत फागुन पहिलो हप्तादेखि हिन्दूराष्ट्र पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाएर देशव्यापी ‘जनसङ्घर्ष’ आरम्भ गर्ने बताएको छ। यिनै घटनाक्रमबीच प्रचण्डको आक्रोश राजाप्रति बढेको देखिन्छ। उनले कांग्रेस र राप्रपाको पनि कटु आलोचना गरेका छन्।
प्रतिक्रिया आवश्यक छ?
बुटवलमा उनले राजनीतिक नेतृत्वले दृढ कदम चाल्न नसक्दा बिस्तारै पुराना र नयाँ विचारको द्वन्द्व हुनसक्ने जोखिम देखिएको बताएका थिए। उनको संशय थियो, “पुरानो शक्ति हावी हुने खतरा देखिँदै आएको छ।” जनतालाई सचेत र स्पष्ट पारिएन भने परिणाम ‘घातक’ हुनसक्ने चेतावनी उनले दिँदै आएका छन्।
काठमाण्डूमा जाडो बढ्दै गर्दाको मङ्सिरको एक साँझ पूर्वराजा ज्ञानेन्द्र एउटा रेस्टुराँमा आफ्ना नातेदार राजीव शाहको जन्मदिन मनाउन पुगेको थिए। त्यहाँ उनी नाच्दै गरेको तस्बिर सार्वजनिक भएको थियो। ज्ञानेन्द्रले त्यहाँ कुनै राजनीतिक अभिव्यक्ति दिएका थिएनन्। तर त्यसको केही दिनपछि कास्कीको सिक्लेस पुगेका प्रचण्डले मुख थाम्न सकेनन्।
उनले भनेका थिए, “निरङ्कुश शासकहरूलाई बिर्सेका छैनौँ। अहिले उनीहरू नाच्दै हिँडेका छन् रे होटल होटलमा! केका लागि नाचेका हुन्?” राप्रपाका अध्यक्ष कमल थापाले धनगढी पुगेर प्रचण्डलाई जवाफ फर्काए, “राजा ज्ञानेन्द्र शाह नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो?” कतै प्रचण्ड आवश्यकता भन्दा बढी नै राजासँग त्रस्त भएका त होइनन्?
राजनीतिशास्त्री कृष्ण पोखरेलका विचारमा यी सबै ‘त्रास’ जडित अभिव्यक्तिको जड सरकारले आफूले सोचेजसरी दिन नसकिरहेको परिणामसँग जोडिएको छ। “जनता बहकिने जोखिम त सधैँ हुन्छ। ठूलै अस्थिरताको अवस्थामा मात्र पूर्वराजाहरू फर्कन सक्ने जोखिम हुन्छ।” तर बाह्य शक्तिको संलग्नताविना आन्तरिक रूपमा त्यस्तो अवस्था उत्पन्न नहुने पोखरेलको धारणा रहेको छ।
कि राजनीतिक दाउ हो?
सरकारको कामबारे प्रश्न उठिरहँदा पूर्वराजाले आफ्नो सक्रियता बढाएको हुनसक्ने र उपयुक्त समयको पर्खाइमा रहेको हुनसक्ने अनुमान गर्नेहरू पनि छन्।
प्रचण्ड पार्टीमा अहिलेसम्म अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको पक्षमा नै देखिएका छन्।
तर ओलीको आलोचना पार्टी एकीकरणपछि तत्कालीन माओवादी दलबाट नेकपाको स्थायी समितिमा परेका नेताहरूबाट नभएर उनकै पुरानो दल एमालेबाट सम्मिलित नेताहरूबाट बढी हुने गरेको छ।
“तल्ला तहसम्म पार्टी एकीकृत भइनसकेको अवस्थामा प्रचण्डले त्यसो गर्नु पूर्वएमालेहरू धेरै भएको अवस्थामा नेकपामा आफ्नो स्वीकार्यता बनाउने रणनीति थियो,” राजनीतिशास्त्री पोखरेल भन्छन्।
“अब पनि सरकारको कार्यसम्पादन सुधार नभए धेरै समय काँध थापिरहनु प्रत्युत्पादक हुने लागेर रणनीति फेर्न खोजेको पनि हुन सक्छ।”
गणतन्त्रका अङ्गहरू संस्थागत भइनसकेको अवस्थामा अहिले देशको समग्र अवस्थालाई सम्हालेर लैजान नसके उग्रवामपन्थीहरू नभई उग्रदक्षिणपन्थी शक्तिहरू हावी हुने सम्भावना धेरै रहेको विश्लेषकहरू बताउँछन्।
‘सूचकहरू चिन्ताजनक छैनन्’
राजतन्त्र पुनर्स्थापनाको चर्चालाई वर्तमानमा कुनै आधारले साथ नदिइरहेको भन्दै प्रचण्ड आत्तिनुको औचित्य छैन भन्ने बुझाइ पनि राजनीतिक विश्लेषहरूको रहेको छ।
कतिपयले राजतन्त्र वा हिन्दूराष्ट्र फर्काउन नेपालमा ‘स्थायी खतरा’ मानिने बाह्यपक्ष नै संलग्न हुनुपर्ने देखेका छन्।
नेपाललाई धार्मिक र पारम्परिक आँखाले हेर्ने मानिएको भारतको सत्तारूढ हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) भारतका विभिन्न राज्यमा भएको विधानसभाका निर्वाचनमा बलियो नदेखिएकाले उसबाट पनि तत्कालका लागि कुनै ‘खतरा’ नरहेको आकलन गरिएको छ।
त्यस्तै ठान्नेमध्येका एक राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, “सरकारका काम सन्तोषजनक नहुँदैमा राजतन्त्र फर्कने भए विगतमा समेत कांग्रेसले काम नगर्दा राजावादी शक्तिहरूमा जनताको भर गएन। बरु उल्टै उनीहरू शून्यप्राय: भए।”
त्यसमाथि पूर्वराजा ज्ञानेन्द्र वा पूर्वयुवराज पारस दुवैको अलोकप्रिय व्यक्तित्वका कारण पनि त्यस्तो सम्भावना नभएको विश्लेषक श्रेष्ठ बताउँछन्।
आश्चर्य व्यक्त गर्दै उनी भन्छन्, “जनमत, कसैको लोकप्रिय व्यक्तित्व वा बाह्य परिवेश कतै राजतन्त्र अनुकूल नहुँदा प्रचण्ड किन आत्तिरहेका छन्?”
तर केही समयअघि राप्रपाका अध्यक्ष कमल थापाले एउटा अन्तर्वार्तामा राजतन्त्र पुर्नस्थापना हुँदा पृथ्वीनारायण शाहको सन्तानका रूपमा ज्ञानेन्द्रका नाति हृदयेन्द्रसमेत राजा हुनसक्ने बताएका थिए।
राजनीतिक नेता एवम् विश्लेषकहरूले त्यस्ता अभिव्यक्तिलाई राजतन्त्र पक्षधरहरूको दिवास्वप्न मान्ने गरेका छन्।
घटनाक्रम
पूर्वराजा ज्ञानेन्द्रको भारतीय जनता पार्टीका नेता एवम् उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग विशेष सम्बन्ध भएको बताइन्छ। उनले आदित्यनाथलाई गतवर्ष लखनऊमा भेटेका पनि थिए।
धार्मिक आवरणमा पूर्वराजाको सक्रियता बढ्नुका साथै राजावादी भनिएका राजनीतिक शक्तिको एकतामा चासो व्यक्त गरिनुले पनि प्रचण्डलाई सशङ्क पारेको हुन सक्छ।
कम्युनिस्ट पार्टीहरूको कुनै वर्गशत्रु देखाएर राजनीति गर्ने पुरानै मनोवृत्तिले काम गरेकाले त्यसलाई स्वाभाविक प्रक्रियाकै रूपमा हेर्नुपर्ने मत पनि छ।
राजातन्त्रबारे नबोले पनि नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले धर्मका विषयमा जनमत सङ्ग्रहमा जान सकिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।
त्यसलाई प्रचण्डले ‘हिन्दूराष्ट्र हुँदै पछि राजतन्त्रमै पुग्ने रणनीति’को रूपमा बुझेको हुन सक्छ।
कांग्रेसको गणतन्त्रप्रतिको आस्थामा प्रचण्डको सन्देह बेलाबेलामा सार्वजनिक रूपमै देखिने गरेको छ।
प्रचण्डले केमा देखे नेपाली कांग्रेसको र्दुभाग्य
गिरिजाप्रसाद कोइरालाजस्तो प्रभावशाली व्यक्ति भएका भए कांग्रेसले गणतन्त्र स्वीकार गर्थ्यो या गर्दैनथ्यो भन्ने अनुमानजडित प्रश्न उनले समयसमयमा दोहोर्याइरहेका हुन्छन्।
कात्तिक महिनाको अन्तिम साता कोइराला परिवारका शेखर, शशाङ्क र सुजातासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह एकै ठाउँ भेला भएको तस्बिर सार्वजनिक भएको केही घण्टामै सोल्टी होटलमा प्रकाशमान सिंहले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको तस्बिर सार्वजनिक भएको थियो।
जम्काभेटको सामान्य शिष्टाचार भनिए पनि त्यो धेरैका लागि ‘मनको बाघ’ भएको थियो।
प्रचण्डले त्यसलाई पनि ‘वनको बाघ’ कै रूपमा लिए कि भन्ने लख पनि काट्नेहरू पनि छन्।