यी ३ माग पूरा नभए पुस २५ अघि नै १६औं अनशन बस्ने गोविन्द केसीको चेतावनी



हाम्रो इकोनोमि

 

पुस २५ गतेसम्मलाई १६औं सत्याग्रह स्थगित गरेका डा. गोविन्द केसीले सरकारले माग सम्बोधन नगरे त्यसअघि नै अनशन थाल्ने चेतावनी दिएका छन्।

 

१५औं अनशनका बेला सरकारले चिकित्सा शिक्षा विधेयकका विषयमा आफूसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै डा.केसीले यही पुस १८ गते १६औं सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए। तर संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले केही समय माग गरेपछि उनले पुस २५ सम्मका लागि अनशन स्थगित गरेका थिए।

 

सोमबार प्रेस विज्ञप्ती जारी गर्दै डा.केसीले आफूसँग भएको सम्झौताविपरीत संसदीय उपसमितिले पठाएको प्रतिवेदनलाई अविलम्ब सच्याउन माग गरेका छन्। अन्यथा आफूले दिएको समयभन्दा अगाडि नै सत्याग्रह सुरु गर्न बाध्य हुने उनले चेतावनी दिएका हुन्।

 

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकले सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने तथा सबै विद्यार्थीले योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषय पढ्ने पाउने अधिकारका लागि आफू निरन्तर संघर्षमा रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

 

वर्षौंको लडाइँपछि १५औं सत्याग्रहका बेला संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा निश्चित संशोधनसहित पारित गर्ने, उपत्यकाबाहिर विभिन्न ठाउँहरूमा सरकारी मेडिकल कलेज खोल्ने लगायतका बुँदाहरुमा सम्झौता भएको तर चिकित्सा शिक्षा विधेयक अघि बढाउने क्रममा संसदीय उपसमितिमा तथाकथित साम्यवादी शीर्षस्थ नेताहरू र उपसमितिका सांसदहरूले चलखेल गरेर सम्झौताविपरीत जनतामुखी र विद्यार्थीमुखी बुँदा हटाएर माफियामुखी बुँदा हालेर पारित गराएको डा. केसीको आरोप छ।

 

सोहीविरुद्ध पुस १८ देखि १६औं अनशनमा बस्न भनेर इलाम पुगेका उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सार्वजनिक रूपमै सम्झौताबमोजिम विधेयक पारित हुन्छ भनेकाले आफूले एक साता पुस २५ गतेसम्मका लागि अनशन सारेको उल्लेख गरेका छन्।

 

आश्वासनबमोजिम उक्त अवधिभित्र माग पूरा नभए पुस २५ अघि नै सत्याग्रह थाल्ने चेतावनी डा.केसीले दिएका छन्।पछिल्लो समय डा. केसीले निर्मला पन्त हत्याकाण्डका दोषीलाई कारबाही लगायतका विषय पनि थप गरेका छन्।

 

यस्ता छन् गोविन्द केसीका मागहरू
१. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता कार्यान्वयन गरियोस्।

(क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर शिक्षा तथा स्वास्थ्य समितिबाट अविलम्ब चिकित्सा शिक्षा विधेयक पारित गरियोस् ।

 

(ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रिवि पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिसबमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस्।

 

(ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई उपचारका लागि इलाममा, भोजपुर,ओखलढुंगा, खोटाङ, सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा, पश्चिमी पहाडका डडेल्धुरा, बैतडी, बझांग लगायतका जिल्ला समेटेर डोटी र डडेल्धुरामा अविलम्ब मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस्।

 

२‍‍. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झूटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस्।

 

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारबाही गरियोस्।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...