उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात



हाम्रो इकोनोमि

नेपालका हिमाली र उच्च पहाडी भेगमा बाक्लो हिमपात भएको छ।डोल्पा, हुम्ला,मुगु म्याग्दी र बैतडीलगायतका उच्च बस्तीहरुमा हिमपात भएको छ।हिउँ परेपछि कहीँ खुसीयाली त कही विस्मात छाएको छ।हिमपातले उच्च हिमाली क्षेत्रका किसान भने खुसी भएका छन्। तर, घरबाट समेत बाहिर निस्किन नसक्ने भएपछि कतिपय ठाउँका बासिन्दाको
दैनिकी कष्टकर बनेको छ।

 

हिउँले ढाक्यो डोल्पा
हिमाली जिल्ला डोल्पालगायत कर्णालीका अधिकांश जिल्ला र उच्च हिमाली क्षेत्र आइतबार राति परेको हिउँले पूरै ढाकेको छ। डोल्पाको सबै भू-भाग हिउँले ढाके पनि कृषक भने खुसी छैनन्।  मंसिरदेखि माघ फागुनसम्म जति धेरै हिउँ परे त्यति नै कृषकका लागि उत्पादन र खेति गर्न राम्रो हुने भएकाले हिउँ पर्दा कृष खुसी हुन्छन्।

 

यस वर्ष पुसको महिना सकिनै लाग्दा परेको हिउँले कृषक भने त्यति खुसी देखिदैनन्। माथिल्लो भोट क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ भने तल्लो डोल्पाका अधिकांश क्षेत्रमा ७ इन्च सम्म जमेपछि कृषकमा थोरै भएपनि आसा पलाइएको जगदुल्ला गाउँपालिकाका मनरुप लामाले जानकारी दिए। हिउँदमा हिउँ पर्नु हाम्रा लागि मलजस्तै हो, जति हिउँ परे उति नै उत्पानमा वृद्धि हुने गर्दछ, लामाले हिउँ धेरै नै पर्नेपर्ने बताए।

 

धुलैधुलोले रुघाखोकीले हैरान पारेको बेलामा परेको हिउँले स्वच्छ वातावरण बनाउने भएकाले हिउँदमा पर्ने हिउँले रुघाखोकी समेत हराउने अर्का स्थानीय बिश्वलाल थापाले बताए। सुख्खा पाखा र डाँडाले घेरिएको डोल्पा सेताम्मे हिउँले सुन्दर देखिएको छ।हिउँ खेल्ने प्रतिक्षामा रहेका डोल्पाली बिहानैदेखि हिउँ खेलिरहेका छन्। डोल्पाको तापक्रम माइनस ९ पुगेको मौसम मापन मेसिन राखेका स्थानीय कर्णबहादुर शाहीले जानकारी दिए।

 

हिउँले हिमाली भू-भाग सबै ढाकेपछि चौरी गोठाला भने चिन्तित भएका छन्। हिउँ धेरै परेपछि हिउँ पहिरो आउने र चौरी बगाउने भन्दै माथिल्लो डोल्पाका चौरी गोठाला चिन्तामा परेका हुन्।

तल्लो डोल्पाका विभिन्न पाटनमा रहेका चौरीहरु हिउँपहिरोले लैजाने खतरा बढेको छिरिङछोइके लामाले चिन्ता व्यक्त गरे । उनी भन्छन,’ खेतिपाति राम्रो त हुन्छ,चौरी बगाए हाम्रो त सबै गुजारा गुम्छ नै।’

 

सिमकोटको जनजीवन प्रभावित  

आइतबार राति आठ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ। हिमपातले सदरमुकामसिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कन समेत समस्या भएको छ।

 

गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि निरन्तर हिउँ परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोट भन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिट सम्म हिउँ जमेको बताइएको छ।

हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ। राति देखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी,मुचु,खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ,सिमकोटलगायतका गाउँमा जाडो निकै बढेको छ।

 

यो वर्ष दोस्रो पटक परेको हिमपातले उत्तरी छिमेकी देश चिनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका लाप्का लामाले जानकारी दिए। उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै दुई फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कन समेत समस्या भएको छ ।

‘हिउँले लिमि, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ।लामाले अन्नपूर्णसँग भने, ‘ हिजो बेलुकादेखि निरन्तर हिउँ परेर चिसो ह्वात्तै बढेको छ।

घोडेपानीमा चिसोले पानी जम्यो

अत्याधिक चिसोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल घोडेपानीमा खानेपानीको समस्या भएको छ। चिसोले धारा, टंकी र पाइपमा पानी जमेर बरफ बनेपछि पिउने र सरसफाइका लागि पानीको अभाव भएको स्थानीय होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताए।

 

बरफ पगालेर पानी बनाउने गरिएको छ। मौसम बदली भएसँगै हिउँ पर्न थालेको छ। समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानीमा २५ वटा सुबिधा सम्पन्न होटल छन्।

उता मुस्ताङको तल्लो, उपल्लो दुवै क्षेत्रमा हिउँ पर्न थालेपछि जनजीवन प्रभावित भएको छ। चिसो बढेकाले सर्वसाधारण र पर्यटकको चहलपहल घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) जोमसोमकी रेञ्जर धनु गुरुङले बताइन्।डाडाँहरु सेताम्मे हिउँले ढाकिएका छन्। हिउँ परेपनि यातायातका साधन भने सञ्चालन भइरहेका छन्।

बैतडीका उच्च भूभागमा हिमपात, किसान खुसी

बैतडीका उच्च भूभागमा आइतबार रातिदेखि हिमपात भएको छ। आइतबार बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै आइतबार रातिदेखि उच्च भू-भागमा हिमपात भएको हो। जिल्लाका सतबाँझ,खोड्पे,श्रीभावर,सिगासधुरा, रौलाकेदार,जित्कीजुवाँड, ग्वाल्लेकधुरालगायतका उच्च भूभागमा हिमपात भएको स्थानीयले जनाएका छन्।

हिमपातले उच्च पहाडीको क्षेत्रको जनजीवन प्रभावित भएको छ। ‘दिउँसोदेखि अलिअलि पानी परेको थियो,राति हिमपात भएपछि अत्यधिक चिसो बढेको छ, सुर्नया ६ शंकरपुरका हरिश अवस्थीले भने, ‘बालबालिका, वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्।

 

हिमपातका कारण सडकहरु चिप्लो भएका सवारी साधन सञ्चालनमा समस्या आएको सवारी चालकले बताएका छन्। खोड्पे,सतबाँझ,श्रीभावर लगायतका ठाउँमा सवारी साधन सञ्चालनमा समस्या आएको चालक कृष्णबहादुर बोहराले बताए। उनले भने, ‘हिउँका कारण सडकमा जीप गुडाउन गाह्रो भएको छ। हिउँ गलेपछि मात्रै गाडी चलाउन सकिन्छ।’

जिल्लाका उच्च भूभागमा हिमपात भएपछि सबै ठाउँमा चिसो बढेको छ। चिसोका कारण दैनिक मजदुरी गर्नेहरुलाई समस्या भएको छ।’चिसोका कारण बाहिर निस्किन मुस्किल छ, कसरी काम गर्नु?,’दशरथचन्द नगरपालिका -१ की पार्वती भुलले भनिन्, ‘गिट्टी कुटेर दैनिक गुजरा चलाउनुपर्छ, काम नगरे साँझ चुल्हो बल्दैन, काम गरु चिसोले बाहिर निस्कने अवस्था छैन।’

लामो समयपछि हिउँदे वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन्।’लामो समयदेखि खडेरी परेको थियो, गहुँबाली र तरकारी बालीका लागि धेरै राम्रो भयो,’ दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसान देवदत्त भट्टले भने, ‘हिउँले खेतबाली राम्रो हुन्छ, तरकारीबाली र गहुँबालीमा लाग्ने रोगकीरा पनि मर्छन्।’

हिमपातले हिउँदे फलफूलका बिरुवा रोप्ने तयारीमा रहेका किसानलाई समेत फाइदा हुने सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक अर्जुन खड्काले बताए। उनले भने,’हिउँदे फलफूलका बिरुवा रोप्ने समय सुरु भएको छ। खाल्डो तयार पारेर विरुवा रोप्ने तयारी गरेका किसानलाई हिमपातले सिंचाइको काम गरेको छ।’

हिमपातले रारा हवाई सेवा प्रभावित

यस्तै हुम्ला जिल्लाको उच्च हिमाली क्षेत्रमा परेको भारी हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ।भने किसान हर्षित भएका छन्। आइतबार रातिबाट जिल्लका चारै स्थानीय तहका उच्च हिमाली क्षेत्र र आसपासका गाउँमा भारी हिमपात सुरु हुन थालेपछि यहाँको जनजीवन कष्टकर बनेको छ। भारी हिमपातसंगै जिल्लाका किसान भने हिउँदे बालीमा उत्पादन राम्रो हुने आशाले किसान हर्षित भएका हुन्।

भारी हिमपातले सदरमुकाम गमगढी बाहेकका खत्याड गाउँपालिकाको खमाले,चाकपाडे,कवा, कोटिला,लमेरा,भाकोडी, सेरी,जोखिलेख,साडबाडा,डाडुपाटा,श्रकिोट, गम्था,ल्याचुरी, नर्खजी, सोरु गाउँपालिकाको, रुमा ,कच्चे, गिलाह, कालै, धैनाकोट,सोरुकोट,नेहर मुगुम कार्मारोङ्ग गाउँपालिकाको ९ वटैवडाको १५ गाउँ र छाँयानाथ रारा नगरपालिकाको सदरमुकाम गमगढीको आसपासका तीन गाउँ बाहेक सबै क्षेत्रमा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर भएको हो।

 

हिमपातले जनजीवन कष्टकर भएपनि खेतबारीमा लगाएको हिउँदे बाली जौं, गहु, नाफल र फलफूल राम्रो उत्पादन हुने जिल्ला कृषि प्रशारक अधिकृत गोबिन्द्र सिजापतिले बताए।

आइतबार रातिबाट परेको हिमपातले जिल्लाको हवाई तथा सडक यातायात समेत अवरुद्ध हुँदा रारा बिमान स्थलमा चार दर्जन भन्दा बढी यात्रु बिमान स्थलमा अलपत्र परेका छन्।भने सुर्खेत, नेपालगंज बाट मुगु आउँदै गरेका यात्रु बाहक तथा ढुवानी गाढी मुगु र जुम्ला जिल्लाको सिमानमा पर्ने घुच्चिलेखमा रोकिएका छन्।

सदरमुका गमगढीबाट अन्यत्र जाने दुई दर्जनभन्दा बढी सवारी साधन गमगढीमै रोकिएकाले सदरमुकामबाट अन्यत्र जाने यात्रुहरु अलपत्र परेको अस्थाई ट्राफिक कार्यालयका इन्चार्ज कलकबहादुर शाहीले जानकारी दिएका छन्।

 

हिमपात सबैभन्दा बढी जिल्लको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाका बस्तिमा परेको छ।बस्तीमा दुई फिटसम्म परेको छ। सोमबार बेलुका सम्म हिमपात नरोकिए तीन फिटसम्म पर्न सक्ने स्थानियबासीले जानकारी दिए। यहाँका किसान पाटन क्षेत्रमा  छोडेका चौरी गाई तथा याक हिमपातमा डुबेर मर्न सक्ने भन्दै दुखी भएका अन्नपुर्णपोष्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...