आईजीपी खनाललाई बर्खास्ती गर्न गृहमन्त्री थापालाई प्रचण्डको निर्देशन
निर्मला पन्त हत्या प्रकरणले सरकारको तेजोवध भईरहेको वेला मुलुकमा शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीका महानिरीक्षक सवेन्द्र खनाल एक साता लामो जिल्ला भ्रमण गरी राजधानी काठमाडौं फर्किएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीले दिएको जानकारी अनुसार आईजीपी खनाल अघिल्लो मंगलवार देखि सोमवार सम्म गरेको भ्रमणका क्रममा ५ नम्वर प्रदेशको रुपन्देही, कपिलवस्तु, बाँके र बर्दिया तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी गरी आठ जिल्ला पुग्न भ्याएँ ।
त्यस क्रममा महानिरीक्षक खनालले नेपाल प्रहरीले ठूलै तामझामका साथ शुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहभागिता जनाए भने मातहत निकायबाट नियमित ब्रिपिङ र स्थलगत अनुगमन समेत गरे ।
सत्य सेवा सुरक्षणमको मन्त्र जप्ने प्रहरी संगठनका प्रमुखले आफू मातहतको निकायको अनुगमन निरीक्षण गर्नु स्वभाविकै हो । तर, महानिरीक्षक खनाल एक साता लामो अवधी किन काठमाडौं बाहिर रहे भन्ने प्रश्न शुन्य डिग्रीमा तापक्रम रहेको काठमाडौंमा पेचिलो बनिरहेको छ ।
स्रोतका अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको एउटा आग्रहलाई छल्न प्रहरी महानिरीक्षक खनाल एक साता राजधानीबाट हराए । त्यही कारण उनी काठमाडौं आउँदै जाँदै गर्न भ्याइँने सम्भावना हुँदा हुँदै त्यस तर्फ ध्यान दिएनन् । प्रचण्डले आईजीपी खनाललाई पदबाट राजिनामा दिन सुझाएका छन् र उनी त्यसलाई छल्दै हिडिरहेको स्रोत बताउँछ ।
स्रोतका अनुसार जिल्ला भ्रमणमा निस्कनु दुई दिन अघि महानिरीक्षक खनालले नेकपा अध्यक्ष प्रचण्डलाई भेटेका थिए । त्यो भेटमा प्रचण्डले खनाललाई निर्मला प्रकरण पछि सरकार तपाइँसंग त्यति सकारात्मक भएको छैन । हाम्रो पार्टीको केन्द्रीय बैठकमा पनि मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको कुरा उठ्यो । बैठकमा गम्भीर ढंगले कुरा उठेपछि नै दिगम्बर झाले दुरसंचार प्राधिकरणबाट राजिनामा दिए ।
राजिनामा नदिएको भए उनलाई बर्खास्त गर्न स्थायी समितिले निर्देशन दिने थियोतपाइँका हकमा पनि त्यो अवस्था आउन सक्छ । त्यसैले राजिनामा दिएर सहज रुपमा अवतरण गर्नुहोस् । तर प्रचण्डको कुरा सुनेपछि खनालले राजिनामा नगर्ने बरु बर्खास्तमा परे अदालत फेस गर्छु हजुर भन्दै हिडेँ । त्यसपछि काठमाडौं छोडेका उनी एकसाता काठमाडौं फर्कन चाहेनन् ।
प्रचण्डले खनाललाई बोलाएर राजिनामा दिन सुझाउनुको कारण छ । त्यो हो उनी प्रचण्डकै जीउवलमा महानिरीक्षकको कुर्सीमा पुगेका हुन । प्रचण्डले अड्डि नलिएको भए अहिले महानिरीक्षकको कुर्सीमा पुष्कर कार्की विराजमान हुने थिए । खनाल प्रति प्रधानमन्त्री ओली ईच्छुक नभएपछि तीन पटक सम्म मन्त्री परिषद् बैठकले निर्णय गरेको थिएन । त्यसपछि प्रचण्डले नवराज सिलवाल प्रकरणबाट तनाव छ ।
अहिलेलाई खनाललाई बनाउदै पछि व्यवस्थापन गरौला भन्दै प्रधानमन्त्री ओलीलाई सहमत गराए पछि अनिच्छाका बीच खनालले प्रहरी संगठनको नेतृत्व गर्ने महाअवसर पाए । प्रधानमन्त्रीको अनिच्छाकै बीच आएका कारण गत वर्ष २०७४ चैत्र २७ गते बसेको मन्त्री परिषद्को दोस्रो पटकको बैठकबाट महानिरीक्षक बनेका खनालले राज्यकै प्रमुख कार्यकारी प्रधानमन्त्री ओली संग साढे आठ महिना बित्दा समेत एक्लै भेट गर्न पाएका छैनन् ।
सरकार र सिङ्गो नेकपा आफूप्रति सकारात्क नरहेको बुझेपछि काठमाडौं छोड्नु अघि प्रहरी मुख्यालय नक्शालबाट हतारहतार पत्रकार सम्मेलन समेत गरेका थिए । त्यस वखत आईजीपी खनालले पत्रकारले उठाएका महंगो गाडी आफूले घर लान खरीद नगरेको हाल संगठनकै प्रयोजनका लागि ल्याईएको जस्ता अस्वभाविक जवाफ दिएका थिए । त्यस्ता जवाफ उनले प्रतिक्रिया स्वरुप दिएको स्रोतको दावी छ । निर्मला पन्त प्रकरणले अहिले सरकारको जताततै बेइज्यत भईरहेको छ । मुलुकमा मात्र होईन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यो घटनालाई उछालेर सरकारलाई वदनाम गराउन केही शक्तिहरु लागि रहेका छन् ।
त्यहीकुरा गम्भीर ढंगले बुझेपछि प्रधानमन्त्री ओलीले अन्र्तराष्ट्रिय विज्ञबाट अनुसन्धान गरेर भएपनि निर्मला प्रकरणको सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाउनु परेको अवस्था छ । प्रहरीले गरेको कमजोरीका कारण सरकारको बेइज्यत भएको प्रधानकन्त्रीले राम्ररी बुझ्नु भएको छ तर, यसै घटनालाई लिएर सिङ्गे प्रहरी संगठनको ‘नुर’ गिराउने पक्षमा प्रधानमन्त्री ओली हुनुहुन्न । प्रहरीको रक्षाकवच बन्दै दोषीलाई उचित कारवाही गर्ने तयारीमा प्रधानमन्त्री रहनु भएको बुझिएको छ ।
सरकार आईजीपी खनाललाई हटाउने अवस्थामा पुग्नुका पछाडि निर्मला प्रकरणले मात्र काम गरेको छैन । २०५१ सालमा गृहमन्त्री बन्दा नौ महिना सम्म कुशतलापूर्वक गृह मन्त्रालय हाकेको अनुभव लिएका प्रधानमन्त्री सँग आईजीपी खनालबाट प्रहरी संगठन सहज संचालन हुन नसकेको थुप्रै फेहरिस्ता संकलन भएका छन् ।
विशेष गरी शान्ति सुरक्षाका नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको, वरिष्ठ प्रहरी अधिकृत संग समन्वय गर्न नसकेको, खरीद प्रकृया अपारदर्शी बनाएकको, सरुवाबढुवामा गुटवन्दी गरेको, विना तयारी साढे चारकरोडको गाडी खरीद गरी सरकारलाई विवादमा पारेको लगायतका विषयमा उनी संग सरकार असन्तुष्ट छ ।
त्यति मात्र होईन, सत्तारुढ नेकपाको स्थायी समितिको पछिल्लो बैठकबाट प्रधानमन्त्री ओली र प्रचण्ड बीचको सम्वन्ध बढेको छ । सरकारका कामलाई सहयोग र समर्थन गर्दै पार्टीमा प्रभाव विस्तार गर्न खोजिरहेका प्रचण्ड खनाललाई बोकेर प्रधानमन्त्रीसंग पौठेजोरी खेल्ने पक्षमा छैनन् । यो सुईको पाएपछि काठमाडौं फर्के लगतै मंगलवार साँझ आईजीपी खनालले उर्जा मन्त्री बर्षमान पुनलाई भेटेका छन् । उक्त भेटवार्ता पुष्टि गर्दै स्रोत भन्छ – त्यसवेला आईजीपी खनालले पदमा टिकाउन प्रचण्डलाई सहमत गराउन आग्रह गरेका थिए ।
पछिल्लो दिनमा आईजीपी खनालको पद किन पनि धरापमा पर्दै गरेको छ भने गृहमन्त्री रामबहादुर थापा बादल यस बारेमा मौन बसेका छन् । प्रधानमन्त्रीले चाहे आईजीपी परिवर्तन गर्दा कुनै सिकायत नहुने संकेत उनले दुबै अध्यक्षलाई दिएका छन् । स्रोतका अनुसार आईजीपी भएसकेको बरिष्ठ अधिकारीले सई बिजय यादवलाई आवश्यकता भन्दा च्यापेको विषय पनि गम्भीर बनिरहेको प्रकाश खबरले जनाएको छ ।