केपी र माधवले माफी नमागे पार्टीकै नेताहरूबाट अभियान चलाइने



 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकले प्रधानमन्त्री एमम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गल्तीका निम्ति सार्वजनिक रूपमै ‘माफी माग्नुपर्ने’ निर्णय गरेको छ ।

 

कम्युनिस्ट परम्परामा आत्मालोचनालाई माफीका रूपमा बुझिन्छ र सामान्यतया बैठकमा आफ्नो गल्ती स्वीकार गरेपछि आइन्दा त्यस्तो गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाएको मानिन्छ । तर, प्रधानमन्त्री ओली र वरिष्ठ नेपालले बैठकमा आत्मालोचना गरेर छुट पाएनन् । दुवैले सार्वजनिक रूपमा वक्तव्य नै जारी गरी आत्मालोचना अर्थात् माफी माग्नुपर्ने ‘आदेश’ स्थायी समितिको छ ।

 

यदि सार्वजनिक रूपमा आत्मालोचना गरिएन भने यही विषयलाई मुद्दा बनाएर प्रधानमन्त्री केपी ओली र माधव नेपालको सार्वजनिक आलोचना गर्ने अभियान पार्टीभित्रैबाट चलाइने बुझिएको छ ।

 

युनिफिकेसन चर्चद्वारा आयोजित एसिया प्यासिफिक समिटमा सरकारको सहभागिता हुनु र सरकारलाई सहभागी गराउन माधवकुमार नेपालले मुख्य भूमिका निर्वाह गर्नुलाई उनीहरूको गम्भीर गल्ती मानिएको छ । विवादास्पद गैरसरकारी धर्म प्रचारक संस्था युनिफिकेसन चर्च तथा त्यसका नेपाली प्रतिनिधि एकनाथ ढकालसँगको सम्बन्धलाई लिएर स्थायी समिति बैठकमा माधवकुमार नेपालको व्यापक आलोचना भएको थियो ।

 

विगतदेखि नै माधवनिकटका मानिने नेताहरू भीम रावल, रघुजी पन्त, योगेश भट्टराई र घनश्याम भुसाल तथा पार्टी प्रवक्तासमेत रहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले माधव नेपालको तीव्र आलोचना गरेका थिए । ‘माधव कमरेडले आत्मालोचना गरेर मात्र हुन्न, सार्वजनिक रूपमै माफी मागिनुपर्छ’ भन्ने भनाइ नेता माधवकै निकटवर्तीहरूको थियो ।

 

त्यस्तै, क्रिश्चियनहरूको एउटा विवादास्पद गैरसरकारी संस्थासँग सहकार्य गर्नु सरकारको गम्भीर गल्ती भएको र यस घटनाले सरकार तथा कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुर्याएको भनी प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यक्त गरेको विचारमा सहभागी अधिकांश नेताहरूले सहमति जनाएका थिए ।

 

ता श्रेष्ठले ‘आफूबाट प्रधानमन्त्रीजीलाई सचेत गराउने काम पहिले नै भएको, तर उहाँले बेवास्ता गर्नुभएको’ भन्दै गल्ती स्वीकार गर्नुको कुनै विकल्प नभएको धारणा प्रकट गरेका थिए । पैंतालीस सदस्यीय स्थायी समितिका अधिकांश सदस्यले प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपालबाट कम्युनिस्ट आन्दोलन तथा कम्युनिस्ट सरकारको छविलाई गम्भीर क्षति पु¥याउने काम भएको धारणा व्यक्त गरेपछि अन्ततः दुवै नेताहरूले आ–आफ्ना गल्तीका निम्ति सार्वजनिक रूपमै आत्मालोचना गर्नु (माफी माग्नु) पर्ने निष्कर्षमा बैठक पुगेको थियो । बैठकको भावना र निर्णयअनुसार केपी र माधवबाट सार्वजनिक वक्तव्यमार्फत आत्मालोचना गरिने विश्वास स्थायी समितिका सदस्यहरूले गरेका छन् ।

 

यदि दुई शीर्ष नेताबाट सार्वजनिक आत्मालोचना भएन भने केही दिनपछि नै पार्टीका जिम्मेवार नेताहरूबाट केपी र माधवको इसाई सम्बन्ध तथा एसिया प्यासिफिक समिटमा सरकार आफैँ सहआयोजक बनेकोले त्यसबाट कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको भनी सार्वजनिक रूपमै आलोचना र विरोध अभियान शुरु हुने बताइएको छ । तर, केपी र माधवले कति दिनभित्र सार्वजनिक आत्मालोचना नगरे उनीहरूविरुद्ध अभियान चलाइने हो, सो भने स्पष्ट गरिएको छैन ।

 

केपीनिकट मानिने एक स्थायी समिति सदस्यले आत्मालोचनाका निम्ति समय निर्धारण नगरिएको र नेताहरूले गल्ती भएको भनी आफ्नो सुविधाअनुसार धारणा सार्वजनिक गर्ने जानकारी घटना र विचारलाई गराएका छन् । निजका अनुसार नेताहरूले विज्ञप्ति नै जारी गरेर गल्ती स्वीकार गर्नुपर्छ भन्ने होइन, उपयुक्त समय र ठाउँमा नेताहरूबाट स्वीकारोक्ति हुन सक्छ । तर, स्थायी समितिका अधिकांश सदस्य जनताले बुझ्ने र थाहा पाउने गरी गल्ती स्वीकार गर्नुपर्छ भन्ने धारणा राख्छन् ।

 

केही दिनभित्रै सार्वजनिक आत्मालोचना नगरे पार्टी नेताहरूबाट विरोध शुरु गरिने भएको छ, स्थायी समितिका अधिकांश सदस्यहरू त्यस निम्ति तयार भएका छन् ।

 

केपी ओली र प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनलाई पनि परिमार्जनसहित पारित गर्ने निर्णयमा स्थायी समिति पुगेको छ । प्रतिवेदन परिमार्जन या सुधार गर्नुपर्ने कुनै कारण र अवस्था नरहेको भन्दै अड्डी लिएर बसेका प्रधानमन्त्री केपी शर्मा ओली बैठकको भावना बुझेपछि धेरै मत्थर बनेको र प्रतिवेदनमा सुधार गर्न तयार भएको बुझिएको छ । प्रधानमन्त्री ओली बहुदलीय जनवादको अपरिहार्यता र औचित्य अझै रहेको धारणा राख्छन् भने प्रचण्डसहितका अधिकांश नेताहरू पुँजीवादी क्रान्तिको चरण पार गरेकोले अब समाजवादी क्रान्तिको दिशातर्फ अघि सर्नुपर्ने अडानमा छन् ।

 

ज्ञातव्य छ, कम्युनिस्ट नेताहरूको दृष्टिमा समाजवादी क्रान्ति भन्नाले निजी सम्पत्तिको उन्मूलन, राज्य–नियन्त्रित अर्थ–प्रणाली र कम्युनिस्ट पार्टीको एकलौटी राज्यसत्ता हो । प्रचण्डको हातमा पार्टीको सम्पूर्ण नेतृत्व पुगिसकेपछि उनले एकदलीय राजनीतिक अभ्यासको थालनी गरिने धेरैले ठानेका छन् ।घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
पाथीभरा दर्शन केवलकार निर्माण शिलान्यास कार्यक्रममा झडप

    ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा स्थानीयबीच झडप भैरहेको छ । पाथीभरा

म आफैं अदालत उपस्थित हुन्छु : मनाङे

    गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट

ऊर्जा राज्यमन्त्री तामाङ कै कम्पनी कालोसूचीमा

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन

हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि