यस्तो छ पारस र हिमानीको झगडा, पूर्व राजाको छायाँबाटै सांसदहरु किन आतंकित
२०६३ सालमा जारी भएको अन्तरिम संविधानले नै २४० बर्ष पुरानो राजतन्त्र समाप्त पारेको थियो । अन्तरिम संविधानले राजतन्त्र समाप्त पारेको घटनालाई २०७२ साल असोज ३ गते संविधान सभाले जारी गरेको संविधानले अनुमोदन गरेको थियो । यसरी राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना भएसंगै तत्कालीन महाराजा ज्ञानेन्द्र शाह पनि आम जनतामा रुपान्तरण भएका थिए ।
संविधानले रुपान्तरण गरेको यो हैसियतलाई पूर्व राजा ज्ञानेन्द्रले स्वीकार गरेको उनका गतिविधिले देखाइराखेको छ । तर, अहिलेका राजनीतिक नेताहरु आफ्नो गल्ती कमजोरी ढाकछोप गर्नका लागि राजाबाट नागरिक भएका ज्ञानेन्द्र वीरविक्रम शाहलाई नै ढालको रुपमा प्रयोग गर्न थालेर आफ्नो कमजोरी देखाउन थालेका छन् ।
यसक्रममा नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले पूर्व राजा ज्ञानेन्द्र पारिवारिक समारोहमा नाचेको घटनाप्रति सार्वजनिकरुपमा नै आपत्ति प्रकट गरेका थिए भने यसैगरी गत साता संसदको शून्य समयमा केही सांसदले पूर्व राजा ज्ञानेन्द्र विक्रम शाहलाई घुमफिरमा रोक लगाउनुपर्ने माग गरेका छन् । राजाबाट नागरिक भएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाहलाई यो संविधानले अन्य नागरिकलाई दिए सरहको अधिकार दिएको छ ।
र, कानून नमिचिकन आफ्ना क्रियाकलाप संचालन गर्ने अधिकार पनि पूर्व राजा ज्ञानेन्द्रसंग रहेको यही संविधानले सुरक्षित गरिदिएको छ । यस्तो अवस्थामा पूर्व राजा ज्ञानेन्द्रको घुमफिरलगायतका गतिविधिमाथि राज्यले नियन्त्रण गर्नुपर्छ भनेर कानूनकै निर्माता रहेका केही सांसदहरुले आफ्नै आङ् कन्याएर धुलो उडाउन थालेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई जनताले स्वागत र समर्थन गर्छन् तथा उनको पक्षमा नाराबाजी गर्छन् भने यो उनको गल्ती नभएर जनताले देखाएको सद्भाव हो । यो स्थितिमा जनप्रतिनिधिहरुले पूर्व राजा ज्ञानेन्द्रप्रति इर्ष्या गर्नुभन्दा गणतन्त्रको रक्षाका लागि जनताको हितमा काम गरेर आपूmहरुलाई पनि जनताले त्यसैगरी स्वागत र समर्थन गर्ने वातावरण बनाउनुपर्ने अवस्था रहेको छ । तर, अहिले राजनीतिक नेताहरु अलोकप्रिय हुँदै जाने र पूर्वराजा ज्ञानेन्द्र लोकप्रिय हुँदै जाने क्रम राजनीतिक नेताहरुको क्रियाकलापहरुले नै त्यो अवस्था सिर्जना गरेको मान्न सकिन्छ ।
यो अवस्थामा पूर्व राजा ज्ञानेन्द्र शाहमाथि नियन्त्रण गर्नुपर्छ भनेर उनकै लोकप्रियता बढाउने र आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्ने काम सत्तारुढ दलका सांसदहरुले समेत गर्न थालेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको छायाँबाट तर्सिएर उनलाई हिडडुल गर्न प्रतिबन्ध लगाउनु पर्छ भन्नु पूर्व राजाप्रति जन आकर्षण बढाउनु हो भन्ने टिप्पणी पर्यवेक्षकहरुको रहेको छ ।
राजपरिवारमा झगडा ?
पूर्व युवराज पारसविक्रम शाहको चालीसौं शुभजन्मोत्सव मनाउन भनेर उनको सम्पूर्ण परिवार केही दिन अगाडि नै पोखरा पुगेको थियो । यसरी अंग्रेजी नयाँ बर्ष २०१९ संगै पारसको शुभजन्मोत्सव मनाउन पनि पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाह तथा पोखरा उनकी पत्नी कोमल शाहसंगै पारसकी धर्म पत्नी हिमानी शाह र उनका छोराछोरीहरुलगायत राजपरिवारका अन्य सदस्यहरु समेत केही दिन अगाडि पोखरा पुगेका थिए ।
अंग्रेजी नयाँ बर्ष २०१९ र पारस शाहको जन्मोत्सव मनाउन राजपरिवारका सम्पूर्ण सदस्यहरु पोखरा पुगेको अवस्थामा पूर्व युवराज पारस भने केही साथी लिएर आफ्नो जन्मोत्सव मनाउन चितवन झरेका छन् । पारस र राजपरिवारकाबीचमा झगडा भएको कारणले गर्दा पूर्व युवराज पारस एक्लै आफ्नो जन्मदिन मनाउन चितवनतिर लागेको निकटवर्ती सूत्रको दाबी रहेको छ ।
पूर्व युवराज पारस २०७५ पुस १५ गते चालीसौं बर्षमा प्रवेश गरेका हुन् । केही दिन अगाडि काठमाडौंको तिर्सरा रेष्टुरेण्टमा आयोजित एक पारिवारिक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहसंगै पारस समेत उपस्थित रहेका थिए र उक्त पारिवारिक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रले नाचेर खुसी समेत व्यक्त गरेका थिए । त्यस अवसरमा पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारसका बीचमा मज्जाले कुराकानीसमेत भएको थियो ।
यो पृष्ठभूमिमा राजपरिवारको पारिवारिक जमघटमा आफ्नो जन्मोत्सव मनाउने कार्यक्रम परित्याग गरेर पारस शाह किन चितवनतिर हान्निए भन्ने प्रश्न यतिखेर राजपरिवार र दरबार निकटहरुका बीचमा जन्मिएको छ ।