म कम्युनिस्टसँग बहस गर्न चाहन्छु- तिमीहरुको समाजवाद ठीक मेरो ?



 

वाल्यकालमा म रामायण, महाभारत पढ्थें । जब म वीपीको संगतमा पुगें, त्यसपछि आ… यो बाहुन साहुन केही रैनछ, म त मान्छेमात्रै हो भन्ने लाग्यो । अहिलेसम्म म मान्छेमात्रै हुँ भनेर आइरहेको छु । तर, मलाई बाहुन सम्झाउने ? मैले प्रचण्डलाई पनि र उपेन्द्र यादवलाई पनि भनेको छु- मलाई बाहुन नसम्झाउनु है । म त मान्छे मात्रै हुँ ।

 

म त मान्छे मात्रै हुँ भनिरहेको मान्छेलाई अहिले आएर बाहुन सम्झाउने ? बाहुन-साहुन केही हैन, अब त मान्छेलाई मान्छेका रुपमा हेरौं न । त्यसपछि दीगो विकास गरौं । पछाडि परेकालाई अगाडि बढाऔं । मैले बुझेको वीपी कोइरालाबारे म तपाईहरुलाई एउटा कुरा सुनाउँछु ।

 

विसं. ०१५ सालको आम चुनावको बेला थियो । त्यो चुनावमा रिडीमा वीपी कोइराला जानुभयो । त्यहाँका सबै कट्टर बाहुनहरुले भने, ‘यो गोर्खा परिषदले जातफाला कांग्रेस भनेर बिछट्ट गरेको छ, वीपीले आज काली नदीमा नुहाउन जाँदा जनै लगाएर गइदिनुपर्‍यो ।’ बाहुनहरुले वीपीलाई असाध्यै कर गरे । र, जनै लगाइदिए ।

 

वीपी कोइराला पौडी खेल्न पनि सक्ने अग्लो मान्छे । कालीनदीको माझमा पुगेर उहाँले त्यो जनै पानीमा बगाइदिनुभो । र, त्यहाँबाट निस्किएर आएर भन्नुभयो- अब हेरौं, चुनाव हार्छु कि जित्छु !

 

नभन्दै त्यो क्षेत्रमा कांग्रेसले मात्रै जितेन, गोर्खापरिषदको नामै आएन, बरु कम्युनिस्टले पनि जित्यो । त्यो क्षेत्र सबै कांग्रेसले जित्यो । यो कुरा हाम्रा साथीहरुले बुझ्नुपर्छ । वीपीलाई यसरी बुझे हुन्छ ।
त्यसकारणले तपाईहरुले यसबारेमा चिन्ता नगर्नु होला कि हामी कुनै धर्मलाई बोकेर राजनीति गर्न चाहन्नौं । यो हाम्रो एजेण्डा हुन सक्दैन ।

 

संविधानले कुनै जातलाई शक्तिशाली बनाएको होइन । नेपालमा जातहरु शक्तिशाली भएका नेपाली समाजको चरित्रले हो । सामन्ती युगले जन्माएको विशेषता हो । सामन्ती युगका अवशेषहरु हुन् यी । यो हामीले ल्याएको होइन । ००७ सालदेखि कांग्रेसले जातीय विभेदलाई हटाउँदै आएको छ । ००७ सालमा कांग्रेसले गरेको के हो ? बाहुनले हलो जोतेर सुरु गरेको हो नि । छैन जातसात भनेर आएको हो ।

 

महासमितिमा र बाहिर धेरै साथीहरुले के के बोल्नुभयो । तर, हामीले निश्कर्ष कसरी निकाल्यौं भनेदेखि नेपाली कांग्रेस भनेको राजनीतिलाई धर्मसँग मिसाउने पार्टी होइन । नेपाली कांग्रेस भनेको दलितको पनि, जनजातिको पनि, मधेसी, अल्पसंख्यक, सबै जातजातिको पार्टी हो ।

 

कांग्रेसले सबै धर्मको संरक्षण गर्दछ । सबै विचारहरुकबो संरक्षण गर्न चाहन्छ । नेपाली कांग्रेस एउटा विचार, एउटा धर्म, एउटा सम्प्रदायलाई मात्रै बोक्न चाहँदैन भनेर हामीले ‘कन्क्लुजन’ गर्‍यौं । महासमितिबाट हामीले यो निचोड निकालेका छौं व्यक्ति विशेषका कुराहरु आफैंले जान्ने हो ।

 

ओलीको समाजवाद ठीक कि मेरो समाजवाद ?

म केपी ओलीहरुसँग तिमीहरुको समाजवाद ठीक हो कि मेरो समाजवाद ठीक हो भनेर बहस चलाउन चाहन्छु । र, मैले एउटा कुरो भन्छु- मैले धेरै सानैदेखि उहाँहरुसँग, विद्यार्थी आन्दोलनमा हुँदादेखि नै बहस गर्दै आएको छु । त्यसबेला जनार्दन आचार्य, महेशमान श्रेष्ठ भन्नेहरु थिए ।

 

वाचस्पति देवकोटा, गणेश पण्डित भन्नेहरु थिए । त्यस्तै खड्गबहादुर सिंह भन्नेहरुसँग हाम्रो बहस हुन्थ्यो । पछि वामदेव गौतमहरुसँग बहस भयो । भद्रगोल जेलमा आएपछि मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठहरुसँग बहस भयो । यी सप्पैसँग बहस गर्दैगर्दै आएको हुँ म ।

 

उहाँहरुले मलाई जेजे भन्नुहुन्थ्यो, मैले उहाँहरुलाई जेजे भन्थें, उहाँहरु जे कुराले मलाई बुर्जुवा भनेर सिद्ध गर्न खोज्नुुहन्थ्यो, आज उहाँहरु कता जानुभयो, म कता गएको छु ? मैले भनेको कुरा ठीक ठाउँमा रहेछ भन्ने कुरा मैले आज उहाँहरुलाई भन्न सक्छु ।

त्यतिमात्रै होइन, बर्नस्टिनदेखि लिएर रोजा लक्जम्बर्गदेखि लिएर बहस हुँदै आयो । आज के कुरा के भयो ? म यसबारे कम्युनिस्टहरुसँग बहस गर्न चाहन्छु । मेरो एउटा एजेण्डाचाहिँ यो हो ।

 

प्रचण्डजीहरुसँग, माधव नेपालजीहरुसँग मेरो छलफल हुन्थ्यो । म उहाँहरुलाई निर्धक्कसँग के भन्थें भने तपाईहरु ‘कन्फ्युज्ड’ हुनुहुन्छ र यो सारा समाजलाई ‘कन्फ्युजन’ मा पारिरहनुभएको छ । उहाँहरु आफैं भ्रममा हुनुहुन्छ । कहिले बहुदलीय जनवाद, कहिले नौलो जनवाद, कहिले के जनवाद भन्दै गएर अहिले फेरि एउटाले समाजवाद, अर्कोले जनवाद भनेर प्रचण्ड र केपी ओलीको आयो भनेर हिजोमात्रै पढें । यसरी दुनियाँलाई भ्रमित पारेर चल्दैन भन्ने मेरो भनाइ छ उहाँहरुप्रति ।

मैले बुझेको समाजवाद भन्नुहुन्छ भने फरक छ । त्यो के हो भने निमुखालाई न्याय, विपन्नलाई आय । निमुखा जनताले न्याय पाउनुपर्छ ।

 

समाजवादको कुरा गर्दा, हन्टिङटनले के भने भन्दाखेरि अब दुनियाँमा आइडियोलोजीको राजनीति किनारा लाग्यो र सांस्कृतिक द्वन्द्वको युग आयो । म हन्टिङटनलाई असत्य सावित गर्न चाहन्छु । ‘कल्चरल कन्पिm्क्ट’मा यो दुनियाँ गयो भने सोमालिया हुन्छ, रुवाण्डा हुन्छ । सिद्धान्तको राजनीतिमा गयो भने युरोप बन्छ । अब हामी युरोपतिर जाने कि ? समोलिया बन्ने कि यही नेपालमा बस्ने ?

 

मेरो महन्थ ठाकुरहरुसँग बहस हुन्थ्यो । उहाँ मधेस भन्नुहुन्थ्यो । म भन्थें, तपाईको मधेस डेमोक्रेसी नभई हुँदै हुँदैन । तपाई मधेसको जुन कुरा गर्दै हुनुहुन्छ, त्यसको आधार डेमोक्रेसी हो । हिजो पञ्चायतकालमा हामीले देखेका थिएनौं गजेन्द्रबाबुले साष्टङ्ग गरेको ? त्यसकारण लोकतन्त्र हुनुपर्छ । लोकतनत्र भनेको असली लोकतन्त्र हुनुपर्छ । अर्थात समाजवाद मिसिएको लोकतन्त्र । मैले बुझेको सच्चा लोकतन्त्र त्यो हो ।

 

समाजवाद उन्मुख भनेर हामीले संविधानमा लेख्यौं । यो संविधानसभा कांग्रेसको हो । सबैभन्दा पहिले वीपीले भन्नुभएको हो संविधानसभा । त्रिभुवन राजाको वक्तव्य त्यसबेला वीपीले लेख्नुभएको हो । त्यसकारण संविधानसभा कांग्रेसको हो, अरु कसैको होइन । पछि बिर्सेका हुन् कांग्रेसीहरुले । कांग्रेसभित्र पनि पछि काम नगर्ने, दरबारियालाई खुशी पार्ने प्रवृत्तिहरु विकसित भयो । तर, संविधानसभा नेपाली कांग्रेसकै हो ।

 

म अस्ति महासमिति चलिराखेका बेलामा सिधै तनहुँ गएर आएँ । तनहुँमा हामीले ५/७ वटा स्कुलहरु यस्ता बनाएका छौं, त्यहाँ बोर्डिङ स्कुलमा भन्दा धेरै राम्रो स्तरको पढाइ छ । बोर्डिङमा कोही जान चाहँदैनन्, त्यहाँको सत्यवती सामुदायिक स्कुलमा जान सबैको हानाथाप हुन्छ । मैले त्यो सत्यवती स्कुलको वार्षिक सभामा आउँछु भनेर प्रतिवद्धता गरेको थिएँ । त्यसैले म महासमिति बैठककै बेला तनहुँ पुगेर आएँ । यस्ता केही स्कुलहरु हामीले बनाएका छौं ।

 

मैले यो सरकारलाई भन्न खोजेको के हो भने तपाई समाजवाद उन्मुख हो भने तपाईले पहिले सबै सार्वजनिक विद्यालयको क्वालिटी यो स्तरमा पुर्‍याउनोस् । त्यो नै समाजवाद हुन्छ । क्वालिटीको शिक्षा र स्वास्थ्य जनतालाई दिऔं, समाजवादको प्रारम्भ त्यहाँबाट हुन्छ ।

 

नेपाली कांग्रेसले शिक्षालाई प्राथमिकता दिन खोजेको हो । खोज्दा खोज्दै पनि यहाँ कता के भो के भो ! अलिकति शिक्षामा कडाइ गरेर लान खोज्दा स्वार्थ समूहले त्यसको प्रतिकार गर्‍यो । तर, जनमत निर्माण गरेर हामीले त्यहाँ पुर्‍याउनैपर्छ ।

 

सामुदायिक विद्यालयहरुमा जब बोर्डिङ स्कुलमा भन्दा राम्रो पढाइ हुनेछ, त्यसपछि नेपालमा दुई वर्ग हुने छैनन् । दुईवटा नेपाल हुने छैनन् । एउटा शिक्षामा पहुँच हुनेको नेपाल, अर्को पहुँच नहुनेको नेपाल हुन्न । अब एउटै नेपाल बनाउनुपर्छ । अरु उपाय छैन ।

सरकारी विद्यालय दिल्लीमा कति राम्रो छ । जापानमा कति राम्रो छ सरकारी शिक्षा ? प्राइभेटभन्दा सरकारी स्कुल राम्रा छन् । नेपालमा चाहिँ किन गर्न सकिँदैन ? हामीले गर्नुपर्छ ।

 

देउवाजीको छायाँ सरकारले काम गर्न सकेन !

कांग्रेस कमजोर भयो, नेता बलिया भए तपाईहरुले भन्नुभएको छ । मेरो अर्थमा त सभापति बलियो हुँदा कांग्रेस कमजोर भयो । सभापति बलियो हुने, तर कांग्रेस कमजोर हुने यो हुँदैन भनेर हामीले सबै निर्वाचनमा जाने भन्यौं । सब सभापतिले मनोनित गर्ने पदाधिकारी रहँदैनन् । सबै चौधैजना पदाधिकारी निर्वाचित हुन्छन् ।

 

यो पार्टीलाई हामीले लोकतान्त्रीकरण गर्न खोजेका छौं र आन्तरिक लोकतन्त्रलाई हामीले साकार रुप दिन चाहेका छौं । यो प्रयोग हो । यो प्रयोग कस्तो हुन्छ, हेर्नु छ । यो कांग्रेसलाई चुनौती पनि हो । अब हुने सभापतिका लागि धेरै ठूलो च्यालेञ्ज पनि हो, कसरी ऊ आफूप्रति उदार भएर प्रस्तुत हुन सक्छ ? उसले मलाई कांग्रेसबाहेक अरु केही चाहिँदैन भन्न सक्छ कि सक्दैन ? सक्दैन भने ऊ फेल हुन्छ । असफल हुन्छ । त्यसैले यो एउटा प्रयोग नै हो ।

हामीले नेपाली कांग्रेसलाई लोकतान्त्रीकरण गर्न चाहेका छौं । र, आफूलाई लोकतान्त्रीकरण गरेर नेपाली समाजलाई लोकतान्त्रीकरण गर्न चाहन्छौं । र, समावेशीकरणको पनि हामीले दृष्टान्त दिएका छौं । केन्द्रीय समितिमा मात्रै नभएर लिडरसिपमा पनि हामीले सबैलाई समावेश गर्न काम गरेका छौं ।

प्रतिपक्षको भूमिका कमजोर भयो कि भन्ने प्रश्न उठेको छ । अब हाम्रो सभापतिजीले संसदीय दलमा छायाँ सरकार बनाएको, त्यो सरकारले काम गर्न सकेन ।

पार्टीमा कुनै पनि काम समयमा हुँदैन भन्ने छ । यो समयवद्ध काम हुनुपर्छ भन्ने मेरो साथीहरुसँग बहस हुन्छ । सुनौलो युगमा पुग्नका लागि कांग्रेसले समयवद्ध काम गर्नुपर्छ ।

नयाँ मतदातालाई के सन्देश दिन्छौ भनेर प्रश्न उठाउनुभएको छ । यो प्रश्नले मलाई रन्थन्याएको छ । म त के भन्छु भने राजनीतिमा धेरै विकृति आएको छ, अब राजनीतिलाई सिद्धान्तमा ल्याऔं । राजनीतिलाई अब आइडियोलोजीको बाटोमा ल्याउनुपर्छ ।

(कांग्रेसका बरिष्ठ नेता पौडेलले आइतबार साँझ राजधानीमा आयोजित लेखक/पत्रकारहरुसँगको छलफलमा व्यक्त गरेको विचारको सम्पादित अंश ।)

प्रतिक्रिया दिनुहोस
पाथीभरा दर्शन केवलकार निर्माण शिलान्यास कार्यक्रममा झडप

    ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा स्थानीयबीच झडप भैरहेको छ । पाथीभरा

म आफैं अदालत उपस्थित हुन्छु : मनाङे

    गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट

ऊर्जा राज्यमन्त्री तामाङ कै कम्पनी कालोसूचीमा

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन

हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि