रिपोर्टिङमा गएका पत्रकारलाई कञ्चनपुर प्रहरीले कुटपिट गर्दै शौचालयमा थुन्याे, क्यामरा पनि तोडफाेड
नगर विकास समिति जमीन प्रकरणको समाचार सङ्कलन गर्न गएका पत्रकार पदम बोहरामाथि प्रहरीले फोटो किन खिचेको भन्दै कुटपिट गरेको छ । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदम बोहरामाथि कुटपिटका साथै क्यामरा तोडफोड गरेको छ । समाचार सङ्कलन गर्न गएका बेला प्रहरीले गालीगलौज गर्दै वडा प्रहरी कार्यालयमा थुनेको पत्रकार बोहराले बताए ।
“म पत्रकार हुँ सर, रिपोर्टिङमा आएको हुँ भन्दाभन्दै गाली गर्दै क्यामरा तोडिदिए”, उनले भने, “शौचालयमा राखियो ।” वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य थापाले मदिरा सेवन गरेर प्रहरीसँग विवाद गरेकाले पक्राउ गरेको बताए । उनको मेडिकलसमेत गरेको प्रहरीले जनाएको छ ।
शनिबार नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले पत्रकार हुँ भनी परिचयपत्र देखाउँदादेखाउँदै कुटपिट गर्ने प्रहरी कदम निरङ्कुशताको पराकाष्ठा भएको बताए । अवस्थीकै प्रयासमा बोहरालाई थुनामुक्त गरिएको छ ।

