ओली गुट छाडेर प्रचण्डतिर वामदेव, माधव नेपाल अन्यौलमा, अब हुने भयो यिनको बिचल्ली
वामदेव गौतमले फरक मत लेख्ने धम्की नदिएको भए सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव विहीबार राति नै स्थायी कमिटीबाट पारित हुने सम्भावना थियो ।
विहीबारको बैठकमा गौतमले उठेर आपत्ति जनाएलगत्तै घनश्याम भुसाल लगायतका नेताहरु पनि उनलाई साथ दिन उठे । त्यसपछि बैठक शुक्रवार विहानसम्मलाई स्थगित भयो ।
करीब ५ वर्षदेखि केपी ओलीलाई साथ दिएका गौतम अहिले नेकपामा ओलीका सबैभन्दा चर्को बिरोधी बनेर प्रस्तुत भइरहँदा उनलाई साथ दिने नेता भने फेरिएका छन् । नवौं महाविधेशनबाट वामदेवसँग अलग भएका घनश्याम भुसालहरुले गौतमलाई साथ दिए पनि गौतमका सदावहार सहयोगी नेताहरु भने उनको विपक्षमा उभिएका छन् ।
नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा वामदेव गौतम निकट भनेर चिनिएका किरण गुरुङ र रघुवीर महासेठ हुन् । ०५४ सालमा एमाले विभाजनदेखि प्रायः गौतमलाई साथ दिँदै आएका यी दुई नेता यसपटक वामदेवसँग रहेनन् । स्थायी कमिटीमा वामदेवले पेश गरेको फरक मतलाई उनीहरुले ‘आरोप र कुण्ठाको पुलिन्दा’ भनेर बिरोध जनाए ।
स्थायी कमिटीमा ओलीको बिरोध गर्दा माधव नेपाल पक्षका केही नेताहरुले उनको समर्थन गरे बाहेक अब वामदेव पक्ष भन्दा उनी एक्लै गणना हुने अवस्था आएको छ । किरण गुरुङ र रविन्द्र अधिकारीले स्थायी कमिटीमा कित्ता प्रष्ट पारेसँगै केन्द्रीय कमिटी र जनसंगठनमा वामदेव निकट रहेका नेताहरु ओली कित्तामा खुल्न थालेका छन् ।
वामदेवसँग लाग्दा राजनीतिक भविश्य अनिश्चित भएको भन्दै पूर्वमाले कालदेखि उनीसँग जोडिएका नेता कार्यकर्ता र सांसदहरुले अब वामदेव जता गए उतै नजाने प्रतिक्रिया दिएका छन् । वामदेव निकट मानिने केन्द्रीय सदस्य महेश्वर पाठकले वामदेव जहाँ गयो, त्यहीँ नजाने बताए । यद्यपि अहिले नै पार्टीमा कित्ताकाटको बेला पनि आइनसकेको उनको भनाइ छ ।
वामदेवनिकट मानिएका पर्यटनमन्त्री रविन्द्र अधिकारीले आफ्नो साथ केपी ओलीलाई रहेको बताइसकेका छन् । त्यस्तै केन्द्रीय सदस्य समेत रहेकी भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले पनि वामदेवको साथ छाडेकी छन् । उनी पछिल्लो समय राष्ट्रपति विद्या भण्डारीको नजिक पुगेको चर्चा नेकपामा छ ।
अनेरास्ववियुको अध्यक्ष समेत रहेकी सांसद नविना लामा वामदेव निकट मानिन्थिन् । तर, पछिल्लो समय उनले पनि वामदेवलाई समर्थन गरिनन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कमजोर पार्ने ढंगले वामदेवका गतिबिधि भएको भन्दै नविना लामा ओलीको पक्षमा उभिएकी छिन् । त्यसैगरी पूर्वमाले गुटबाट वामदेवसँगै एमालेमा आएका धनकुटाका सांसद राजेन्द्र राई र बाजुराका सांसद लालबहादुर थापा पनि ओलीको पक्षमा उभिएका छन् ।
वामदेव गौतमले ०५४ सालमा एमाले फुटाएर माले बनाउँदा उनका मुख्य सारथीमध्येका सीपी मैनाली एकीकरणपछि एमालेमा फर्किएनन् । राधाकृष्ण मैनाली बिभिन्न घाट चाहार्दै एमाले फर्किए पनि अहिले नेकपामा समेटिएनन् । अशोक राई संघीय समाजवादी फोरमको नेता भइसकेका छन् भने देवी ओझालगायतका नेताले राजनीतिनै छाडिसकेका छन् ।
त्योबेला उनका बलियो भरोसा बनेका युवा नेताहरु घनश्याम भुसाल,योगेश भट्टराई,शेरवहादवुर तामाङ, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धर ठाकुर गैरे, रामकुमारी झाँक्रीहरु नवौं महाधिवेशनदेखि नै वामदेवबाट अलग भएका थिए । वामदेवलाई निरन्तर साथ दिइरहेका यमलाल कँडेलले पनि उनलाई छाडिसकेका छन् । गणेश ठगुन्ना लगायत केही नेता अहिले कित्ता प्रष्ट पार्ने बेला भइनसकेको भन्दै चुपचाप लागेका छन् ।
वामदेवलाई जे जस्तो अवस्थामा पनि साथ दिनेमा बलराम बास्कोटा, हरि पराजुली, केशवालाल श्रेष्ठहरु देखिएका छन् । तर, पार्टीभित्र र जनतामा उनीहरु स्थापित छैनन् । वामदेवले आफूहरुसँग कुनै सल्लाह नगरी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि अनेक आरोप लगाएकाले समर्थन गर्न नसकिएको स्थायी कमिटी सदस्य गुरुङले बताउँछन् । अर्का युवा नेता रविन्द्र अधिकारीले कुरा गर्दै आफ्नो साथ समर्थन ओलीलाई रहेको बताइसकेका छन् ।
गुरुङ र अधिकारी लगायतका नेताहरुले पार्टीभित्रको जोडघटाउमा आफूलाई वामदेवसँग जोडेर गणना नगर्न आग्रह गरेका छन् । वामदेवको कोटाबाट पर्यटन राज्यमन्त्री बनेका धनवहादुर बुढाले समेत उनीसँग नरहेको बताएका छन् ।
वामदेवलाई ०५४ देखि नै साथ दिएका नेकपाका ५ नम्बर प्रदेश सहइन्चार्ज तथा संघीय सांसद दलवहादुर रानाले वामदेव गौतमको फरक मत ओलीसँग कित्ताकाट गर्न हो कि, सामान्य असन्तुष्टिमात्र हो भन्ने प्रष्ट भइनसकेको बताए । यद्यपि आफू नवौं महाधिवेशनदेखि ओलीको साथमा रहेको र वामदेवले छाड्दैमा छाड्नुपर्छ भन्ने पक्षमा नरहेको उनले बताए ।
वामदेवको कित्ताकाट यस्तो बेलामा भएको छ कि नेकपामा पोलिटव्यूरो गठनको चर्चा चलिरहेको छ । विगतमा वामदेवको कोटाबाट केन्द्रीय कमिटी, स्थायी कमिटी र मन्त्रिपरिषददेखि राष्ट्रियसभामा समेत ओलीले भाग छुट्याउने गरेका थिए । वामदेव निकट बलराम बास्कोटालाई राष्ट्रियसभा सदस्य बनाउन माधव नेपालनिकट स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई उम्मेदवारी फिर्ता लिन लगाइएको थियो ।
नेकपाको करीव १५० सदस्यीय पोलिटव्यूरो गठन हुँदा पूर्व एमालेबाट ८०÷८५जना रहनेछन् । यसअघिको तत्कालिन एमालेका ६६ जना पोलिटव्यूरो सदस्यमध्ये सानु श्रेष्ठ र अग्नि खरेल बाहेक सबै यथावत छन् । पोलिटव्यूरो गठन हुँदा अब तत्कालिन एमालेभित्रको भागबण्डामा वामदेवको कोटा के होला ? उनको कित्ताकाटसँगै यो प्रश्न पनि उब्जिएको छ ।
वामदेवः एकातिर गुमाए, अर्कोतिर क्षतिपूर्ति
एकातिर वामदेवले ओलीलाई छाड्दा उनले आफ्ना केही प्रभावशाली र सदावहार साथ दिने नेताहरु गुमाउनुपर्नेछ भने अर्कोतिर स्थायी कमिटीमा उनको प्रस्तुतिले नयाँ समर्थक पाउने सम्भावना पनि देखिएको छ । विहीबार साँझ वामदेवले उठेर अध्यक्षहरुले कमजोरी स्वीकार गर्नुपर्छ भन्दा उनलाई साथ दिन करीव एक दर्जन नेता उठेका थिए ।
गौतमले नेकपाभित्र ओलीप्रति फरक मत राख्ने नेताहरुको नेतृत्व गर्न खोजेको चर्चा पनि चलेको छ । माधव नेपालले ओलीसँग कस्तो खालको सम्बन्ध कायम गर्न खोजेका हुन् भन्ने प्रष्ट नभइरहँदा त्यो ग्याप वामदेवले भर्न खोजेको टिप्पणी नेकपा नेताहरुले गरेका छन् । त्यसो त वामदेवलाई प्रचण्ड र झलनाथ खनालको पनि ब्याकअप रहेको अनुमान गर्न सकिन्छ ।
माधव नेपाल अहिले सबैभन्दा अन्यौलमा देखिन्छन् । ओली विरुद्ध मसक्कै आँटेर स्थायी कमिटी र केन्द्रीय कमिटीमा आफ्नो शक्ति देखाउन पनि उनले सकिरहेका छैनन् । किनकि आगामी महाधिवेशनमा आफ्नो प्रतिस्पर्धा ओलीसँग होइन प्रचण्डसँग हुने उनको अनुमान छ ।
त्यसैले हिजो ओलीविरुद्ध माधव नेपाललाई साथ दिएका युवा नेताहरुको नेतृत्व वामदेवले गरे भने आश्चर्य हुनेछैन ।