साउदीबाट फर्केनन् झापाका ओमप्रसाद, शवको प्रतीक्षामा परिवार



हाम्रो इकोनोमि

 

साउदी गएपछि टिनको छानो फेरेर पक्की घर बनाउने र त्यसपछि सुखका दिन आउने आशा थियो– झापाको शिवसताक्षी नगरपालिका–१० सैनिक बस्तीकी कमला सापकोटा(चापागाई)लाई । तर, विदेश गएका उनका श्रीमान ओमप्रसाद चापागाईले श्रीमतीको त्यो आशा पूरा हुनै पाएन ।

 

परिवार पाल्ने रोजगारीका लागि साउदी उडेका ओमप्रसादका इहलीला उतै समाप्त भयो । त्यसैले न घर बन्यो न अरु खुशीका बाटा नै भेटिए । एउटा छोरा उत्सव र वृद्ध अवस्थामा रहेका सासू ईश्वरा र ससूरा कृष्णप्रसाद चापागाईको पालनपोषणको एक्लो दायित्व आएको छ– कमलाको काँधमा । ९ वर्ष अघि साउदी भएर फर्किएका ओमप्रसाद पुनः कतार गए त्यसपछि फेरि साउदी गएका उनले उतै सदाका लागि देह त्याग गरे ।

 

श्रीमान टाढा हुँदा एक्लोपन त थियो तर भोलि सुखका दिन आउँछन् भन्ने आशा थियो कमलालाई । तर, पाँच महिनाअघि परिवारमा बज्रपात भयो । रोजगारीका लागि साउदीमा रहेका उनका श्रीमानले उतै प्राण त्यागे ।

 

बिरामी भएपछि अस्पताल पु¥याइएको १४ दिनपछि उनको मृत्यु भएको खबर परिवारलाई आएको छ । ओमप्रसादको गत साउन २४ गते निधन भएको खबर आएको थियो ।

 

कमलाले ओमप्रसादसँग साउन १० गते बेलुका म्यासेन्जरमा कुरा गरेकी थिइन् । उनको त्यो बोली नै अन्तिम बोली बन्यो । श्रीमान् बिरामी भएको खबर पनि अर्कै ब्यक्तिबाट थाह पाएपछि परिवारको होसहवास नै उड्यो ।

 

छिट्टै निको होस् भनेर देवीदेवता सबै भाके पनि ओमप्रसादको प्राणपखेरु साउदीमै विलिन भयो । ‘मलाई एक्लै अनि छोरालाई टुहुरो बनाएर जानुभयो’– आँखाभरि आँशु पार्दै कमलाले दुःख पोखिन् । पाँच महिना भयो न शव नै एकपटक देख्न पाइयो ।

 

छोराको शवसम्म आइदिए पनि विधि अनुसार अन्तिम संस्कार गर्न पाइन्थ्यो भन्ने इच्छा छ– आमा ईश्वरा चापागाईको । तर, हालसम्म पनि कम्पनीले मृत्यु भएको आधिकारिक जानकारी नदिँदा झनै पीडामा छट्पटाइरहेको छ चापागाई परिवार ।

 

शव आउने कुनै टुंगो भएको छैन, झापाकै एक व्यक्ति सोही अस्पतालमा कार्यरत रहेकाले भिडियो कलमार्फत मृत शरीर हेरियो तर छोरासंग अन्तिम पटक बोल्न समेत पाइएन भन्दै भक्कानिन् आमा ईश्वरा ।

 

१२ वर्षका उत्सव कक्षा ७मा पढ्दैछन् । बाल्यअवस्थामा नै बुबा गुमाउनुको पीडा त छदैंछ अब कसरी परिवार पाल्ने दायित्व समेत थपिँदैछ उनलाई । घर आउँदा मोबाइल र ल्यापटपको डिमान्ड गरेका उत्सवका सबै उत्साह खरानी भएको छ ।

 

ओमप्रसादको के कारणले मृत्यु भयो भन्ने जानकारी समेत नपाउँदा परिवार विक्षिप्त बनेको छ । गाउँघरमा साह्रै मिलनसार, हँसिलो स्वभावका ओमप्रसाद सबैका प्यारा थिए ।

 

सबैका प्यारा ओमप्रसाद यति चाँडै भगवानको प्यारा होलान् भन्ने कमलाले सोचेकी पनि थिइनन् । पूर्वाञ्चलकर्मीसहित बिर्तामोडका व्यवसायी ओमप्रकाश लुइँटेल शुक्रबार बिहान चापागाईको घर पुग्दा उनीहरु छोराकै कुरा गर्दै थिए । जसो तसो थामिएको मनमा छोराको कुरा गर्ना साथ सन्नाटा छायो । सबैको गहभरी आँशु थिए । साउदीको अल रसिद कम्पनीमा काम गर्न गएका छोराको शव समेत नआउँदा झनै पीडाको पहाड थुप्रिएको बुबा कृष्णप्रसाद बताउँछन् ।

 

श्रीमान् बितेपछि बिक्षिप्त अवस्थामा रहेकी कमला सोही स्थानमा रहेको माइबेनी महिला कृषि सहकारीमा काम गर्छिन् । बिहान घरको काम र दिनभर अफिसमा काम गरेर मन भुलाउने प्रयास गरे पनि आमा ईश्वरा र बुबा कृष्णप्रसादका आँखा अझै ओभाएका छैनन् ।

 

छोराको पढाइ र सासू–ससुराको रेखदेखको जिम्मेवारीलाई कसरी अगाडि बढाउने भन्ने सोच रहेकी कमलाको अन्तिम इच्छा भनेको शवलाई नेपाल ल्याए एकपटक भए पनि अनुहार हेर्ने रहेको छ ।

 

सबै कानूनी प्रक्रिया अनुसार नै विदेश गएपनि पाँच महिना बित्दा समेत शव नआएको भन्दै चापागाई परिवारले शव नेपाल ल्याउनका लागि पहल गरिदिन सबैसंग आग्रह गरेको छ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने बताए पनि अपेक्षाकृत सुधार गर्न नसक्दा धेरै नेपालीले दुःख पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...