हाम्रो इकोनोमि
काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ ।
मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुर अस्पताल पुग्नुभएको थियो ।
सुत्केरी गराउने क्रममा चिकित्सकको लापरवाही र असावधानीका कारण आमा र बच्चा दुबैको मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा जम्मा भएर विरोध गरिरहेका छन् ।
ढुङ्गानाको मृत्यु चिकित्सकको लापरवाहीले भएको भन्दै लापरवाही गर्ने चिकित्सकलाई तत्काल कारवाही गर्नुपर्ने र क्षतिपूर्तिसहितको माग पीडितका आफन्तले राखेका छन् ।
अस्पतालले आमा र बच्चाको मृत्युपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाएको थियो ।
शङ्खरापुर अस्पतालमा मृत्यु भएपछि आफू पन्छिनको लागि अस्पतालले शिक्षण अस्पताल पठाएको भन्दै स्थानीयवासी र आफन्तजनको भीड यतिखेर अस्पताल परिसरमा जम्मा भएको छ ।
शिक्षण अस्पताल महाराजगञ्ज पुग्नेबित्तिकै अस्पतालले मृत घोषणा गरेको आफन्त बताउँछन् ।
अहिले पीडित र अस्पताल व्यवस्थापनबीच छलफल भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
टिपरको ठक्करबाट महिलाको मृत्यु
वीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७ निवासी सविना खातुनको मृत्यु भएको हो ।
ना २ ह ३४७३ नं को ट्याम्पुबाट सडकमा लडेकी सविनालाई विपरीत दिशाबाट आउँदै गरेको टिपरले किच्दा उहाँको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सविनाको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।