म्यानपावरको धरौटी बढाएर ६ करोड बनाउने सरकारको तयारी



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगारीमा कामदार पठाउने संस्थाका लागि सरकारले ६ करोड रुपैयाँसम्म धरौटी पुर्याउने तयारी गरेको छ ।

 

सोमवार संसद सचिवालयमा दर्ता भएको म्यानपावर व्यवसायीको धरौटी बढाउने प्रस्ताव सहितको ऐनमा वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर संस्थाका लागि धरौटी २ करोड नगद र बैंक ग्यारेन्टीका रूपमा ४ करोड कायम गर्ने प्रावधान राखिएको हो ।

 

 

के छ प्रस्तावित संशोधनमा ?

संसदमा दर्ता गरिएको ऐन वैदेशिक रोजगार ऐन २०६४ को संशोधन हो । संशोधनमा वार्षिक १ हजार कामदार विदेश पठाउने लक्ष्य राखेर इजाजत माग गर्ने संस्थासँग धरौटीबापत १ करोड नगद र बैंक ग्यारेन्टीबापत २ करोड लिइने उल्लेख छ भने वार्षिक ५ हजारसम्म कामदार पठाउने लक्ष्य राखी इजाजत माग गर्ने संस्थासँग धरौटीबापत नगद २ करोड र बैंक ग्यारेन्टीबापत ४ करोड लिइने उल्लेख गरिएको छ ।

 

प्रस्तावित ऐन कार्यान्वयनमा आउनुभन्दा अघि इजाजत प्राप्त गरेको संस्थाले ऐन प्रारम्भ भएको ६ महिनाभित्र धरौटीबापत र बैंक ग्यारेन्टीबापत रकम दाखिला गर्नुपर्नेछ ।

 

प्रस्तावित ऐनमा श्रम स्वीकृति लिएको ३ महिनाभित्र कामदार नपठाएमा कामदारलाई २० प्रतिशतको साटो २५ प्रतिशत ब्याजसमेत जोडेर फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।

 

संशोधनमा वैदेशिक रोजगारमा जाने क्रममा ठगीमा पर्ने कामदारहरू उजुरी गर्नका लागि काठमाडौं आउनुपर्ने व्यवस्थाको अन्त्य गरिएको छ । ठगी भएको अवस्थामा जिल्लामै जिल्ला अधिकारीसमक्ष उजुरी दिन पाउने उल्लेख छ । व्यक्तिगत ठगी विरुद्धको उजुरी भने जिल्ला अधिकारीले नै छिनोफानो गर्न सक्ने छन् । तर संस्थागत उजुरी भने वैदेशिक रोजगार विभागले गर्नेछ ।

 

कामदारले बढीमा २ पटकसम्म सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । म्यानपावर कम्पनीले कामदार पठाउने मुलुकमा विभागबाट अनुमति लिएर शाखा खोल्न सक्ने व्यवस्था मात्रै राखिएको छ । २०६४ सालको ऐनमा जस्तो एजेन्ट मात्र राख्न सक्ने व्यवस्था हटाइएको छ ।

 

यो हावादारी कुरा हो : म्यानपावर व्यवसायी 

३० लाखबाट एकैचोटी ६ करोड धरौटी पुर्याउनु हावादारी भएको म्यानपावर व्यवसायीले बताएका छन् । लोकान्तरसँग कुरा गर्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङ भन्छन्, ‘यो बिना कुनै तयारी, बिना कुनै कारण गरिएको हावादारी निर्णय हो । यदि धरौटी बढाउन उपयुक्त हुने कारणसहित हामीसँग छलफल गरेको भए हामी १० करोड पुर्याउन पनि तयार हुन्थ्यौं ।’

 

संसदमा दर्ता गरिएको ऐनका विषयमा म्यानपावर व्यवसायीले आगामी बिहीबार छलफल गर्ने र श्रम मन्त्रालयलाई निष्कर्ष सुनाउने तयारी रहेको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...