स्मार्टफोन कम्पनी जियोनी टाट पल्टियो, ३३ हजार करोड ऋण तिर्नै बाँकी
चीनको स्मार्टफोन कम्पनी जियोनी आफैंले आफू टाट पल्टिएको घोषणा गरेको छ ।
कपनीले बिहीबार चीनको शेनझेन अदालतमा आफू टाट पल्टिएको भन्दै टाट पल्टिएका कम्पनीसँग गरिने कानुनी कारवाही अगाडि बढाउन निवेदन दिएको छ । कम्पनीमाथि ६ स य ४८ ऋणदाताको झण्डै ३३ हजार करोड नेपाली रुपैयाँ बराबरको ऋणको भारी बाँकी नै छ ।
जियोनीका संस्थापक अध्यक्ष लियु लिरोनले १६ हजार करोड नेपाली रुपैयाँबराबरको रकम जुवामा हारेका थिए ।
गएको महिना उनी आफैंले यो कुरा स्वीकार गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार लिरोनले भनेका थिए कि २०१३ देखि २०१५ को बीचमा कम्पनीलाई हरेक महिना १६० करोड नेपाली रुपैयाँ घाटा भएको थियो ।
पछिल्लो २ वर्षमा यो घाटा बढेर दोब्बर भएको थियो ।
जियोनीले विगत केही महिनादेखि आफ्ना सप्लायरलाई भुक्तानी दिन सकिरहेको थिएन जसका कारण सप्लायर कम्पनीहरु जियोनीमाथि टाट पल्टेको प्रक्रिया सुरु गर्न दबाब दिइरहेका थिए ।
२००२ सालमा जि योनी कम्पनी सुरु भएको थियो । नेपाली बजारमा यसले २०१२ मा प्रवेश गरेको थियो ।
विगत केही वर्षसम्म यो कम्पनी चीन, भारत र नेपालमा प्रमुख स्मार्टफोन ब्राण्डमा पथ्र्यो । २०१६ मा मात्र कम्पनीले चीन र भारतमा गरी ४ करोड फोन बेचेको थियो ।
गत वर्ष चीनमा स्मार्टफोन बिक्रीको अनुपातमा जियोनी छैटौं नम्बरमा थियो ।

