क्रिष्मस डे मनाउन इटाली भाग्न खोज्दा मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ



हाम्रो इकोनोमि

 

क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् ।

 

आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको वृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले  बताए ।

 

‘उनीहरु ठमेल एरियामा हुनसक्ने भन्दै निगरानी गरिदिन मन्त्रालयबाट खबर आएपछि लोकेट गरिदिएका हौं’ उनले थपे, ‘हामीले मन्त्रालयकै जिम्मा लगाएका छौं ।’

 

स्रोतका अनुसार पक्राउ पर्नेमा प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहितका कर्मचारीहरु छन् । यसअघि एक जना कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले रोकेको थियो ।

अनुसन्धानका क्रममा उनैले अन्य कर्मचारी पनि भाग्न खोजेको सूचना दिएका थिए । सोही आधारमा थप ८ जना कर्मचारी पक्राउ परेका हुन् । ‘उनीहरुले पासपोर्ट तयार पार्नेदेखि लिएर टिकट काट्न समेत भ्याइसकेका थिए’, एक अधिकारीले भने, ‘गैरजिम्मेवार तरिकाले भाग्न खोजेपछि प्रहरीको सहयोग लिएका हौं ।’

 

अहिले मन्त्रालयले उनीहरुको पासपोर्ट खोसेको छ । कम्पनीको स्थिति नाजुक बन्दै गएपछि आफूहरु स्वदेश भाग्न खोजेको पक्राउ परेकाहरुले समेत स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।

नक्कली नेपाली नागरिकता बनाउने तीन जना पक्राउ

प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा नक्कली नेपाली नागरिकता बनाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

नक्कली नागरिकता र पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी सहित ४ जना पक्राउ परेको दुई नबितदै थप ३ जना पक्राउ परेका छन।

 

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुण कुमार यादव र कार्यालय सहयोगी विरेन्द्र चौधरी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिएका छन।

 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।

 

यसअघि गत शुक्रवार नक्कली नागरिकता बनाउने गिरोहका चारजना मध्ये जिल्ला प्रशासन कार्यालयकै कार्यालय सहयोगी महाविर मण्डल समेत रहेका थिए । सोसँगै पक्राउ पर्ने कर्मचारीको संख्या चार जना पुगेका हुन् ।

 

प्रशासनले गिरोहमा कर्मचारी सहित केही जनप्रतिनिधिहरुको समेत संलग्नता हुन सक्ने भन्दै छानबिन प्रक्रियालाई तीब्र बनाएका छन ।

बसको ठक्करबाट दुई जनाको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ ।

 

मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका– १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिनुभयो ।

 

सम्झनाचोकतर्फ जाँदै गरेको बालज्योति विद्यालयको बा१क ४४९५ नंको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु४३प ९५९९ नंको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुवै जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो ।

 

कुटपिटबाट हत्या

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ ।

 

गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घाइते भएका थिए । घाइते मिश्रको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा गएराति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

 

मिश्रका श्रीमती, दुई वर्षीय छोरा र बृद्ध आमा बुबा छन् । मिश्रको मृत्युसँगै आक्रोशित स्थानीयवासीले आज राजविराज–कुनौली सडक खण्ड अवरुद्ध पारेका छन् । प्रदर्शनकारीले तत्काल अपराधीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् ।

 

प्रहरीले कुटपिट गर्ने व्यक्तिको खोजतलास तथा अन्य अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । मिश्रको हत्यामा संलग्न व्यक्तिको पहचान भइसकेकाले अविलम्ब पक्राउ पर्ने प्रहरी उपरीक्षक विष्टले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...

६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...