निर्मलाको बलात्कार प्रकरणमा सेनाका १६ भाई तिर सोझियो सनासो,पुलिसले गुमाउदै नासो



हाम्रो इकोनोमि

भारतको उत्तर प्रदेशमा गाई मारेको निहुँमा दुई समूहबीच दङ्गा भयो । २०७५ मङ्सिर १७ गते उत्तर प्रदेशमा उक्त दङ्गा नियन्त्रण गर्न पुगेका भारतीय प्रहरी इन्सपेक्टर सुबोध सिंह मारिए ।

 

उत्तर प्रदेशको बस्ती भन्ने ठाउँमा भएको इन्सपेक्टर हत्यामा भारतीय सेनामा कार्यरत एक जवान संलग्न भएको खुल्यो । ती जवानलाई भारतीय सेना आफैले नियन्त्रणमा लिएर उत्तर प्रदेश प्रहरीलाई बुझाइदियो ।

 

तर नेपालमा त्यस्तो हुँदैन । भारतीय सेनाले इन्सपेक्टर हत्यामा संलग्न आफ्नो जवान बुझाएको उदाहरणसँगै नेपालमा सङ्कटकालमा नेपाली सेना संलग्न भएको भनिएको दुईवटा हत्याकाण्डको उदाहरण हेरौं :

 

उदाहरण नम्बर १ : सङ्कटकालको समय थियो, जर्मनी र फ्रान्सेली दुई युवतीहरू नागार्जुनको जङ्गलमा गायव भएको खबर तत्कालीन हनुमानढोका प्रहरी कार्यालयमा आयो । अहिलेको महानगरीय अपराध महाशाखा र काठमाडौँ परिसरलाई त्यतिबेला बोलिचालीको भाषामा ‘हनुमानढोका प्रहरी’ भनिन्थ्यो ।

 

अनुसन्धानका लागि नेपाल प्रहरीले जर्मनी र फ्रान्सबाट कुकुरसमेत ल्याएर नागार्जुनको जङ्गल सर्च गरेको थियो । तर कुकुर नागार्जुनको जङ्गलमा रहेको तत्कालीन शाही नेपाली सेनाको ब्यारेकमा पस्न पाएन ।

 

केही दिनको फरकमा भएको यो घटनामा विदेशी कुकुरहरूले युवतीका कपडा फेला पारेको थियो तर हत्यारा पत्ता लगाउन सकेन । नागार्जुन ब्यारेकमा कार्यरत आर्मीको संलग्नता आशंका गरिएको उक्त घटना अहिले पनि पत्ता लागेको छैन ।

 

उदाहरण नम्बर २ : सङ्कटकालकै समय थियो । नगरकोटमा जात्रा चलिरहेको थियो । जात्रामा आएकी एक युवतीलाई तत्कालीन शाही सेनाका जवानले जिस्क्याए ।

 

स्थानीयले प्रतिवाद गरेपछि हुलदङ्गा सुरु भयो, नजिकै आर्मीको ब्यारेक थियो । सेनाका मान्छेहरू एसएमजी लिएर ब्यारेकबाट निस्किए । अन्धाधुन्द गोली चल्दा जुन युवतीको कारण विवाद भएको थियो । त्यही युवतीसहित अरू मानिसहरू पनि मारिए ।

 

नसुल्झिएको उक्त घटनाको फाइल अहिले पनि महानगरीय अपराध महाशाखामा छ । खोजे भेटिन्छ । तर घटनामा संलग्नहरूलाई ब्यारेकभित्र कारवाही भयो कि भएन, आम जनताले थाहै पाएनन् ।

 

अब साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको प्रसङ्ग ।

 

भीमदत्त नगरपालिकास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनास्थलबाट केही मिनेटको दूरीमा नेपाली सेनाको ब्यारेक छ ।

 

‘२५ नम्बर बाहिनी’को नामले चिनिने उक्त ब्यारेकमा सहायकरथी (ब्रिगेडियर जनरल) को कमान्डमा सयौँ सैन्य अधिकारीहरू रहेका छन् । यहाँ, त्यही ब्यारेकबाट आएका सैन्य अधिकारीहरूले निर्मलालाई बलात्कार गरे भन्न खोजिएको हैन ।

 

तर शङ्काको सुई त्यतापट्टि नसोझिएको पनि होइन । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डीआईजी) निरज शाही नेतृत्वको अनुसन्धान टोलीले त्यस दिन ब्यारेकबाट बाहिर निस्किएकाहरूलाई किन अनुसन्धानको दायारमा ल्याउन सकेको छैन ? प्रश्न उठेको छ ।

 

त्यस दिन १६ जना सेना ‘आउट’ निस्किएका थिए 

बम दिदी बहिनीको घर र निर्मलाको घरको दूरी दुई किलोमिटर छ । बमको घरबाट केही मिनेट बजारतर्फ लागेपछि नेपाली सेनाको ‘२५ नम्बर बाहिनी’ आउँछ ।

 

‘२५ नम्बर बाहिनी’मा कार्यरत एक अधिकृतका अनुसार त्यस दिन (साउन १० गते) १६ जना सैन्य अधिकारीहरू ‘आउट’ गएका थिए । ड्युटी नहुँदा हाकिमको आदेशले रेकर्ड राखेर बाहिर निस्कने प्रक्रियालाई फौजीहरूले ‘आउट’ शब्द प्रयोग गर्छन् ।

 

निर्मला बलात्कार तथा हत्या प्रकरण अनुसन्धान गर्नका लागि नेपाल प्रहरीले बनाएको जम्बो अनुसन्धान टोलीले अहिलेसम्म ती १६ जना सैन्य अधिकारीहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।

 

स्थानीय ड्रगिस्टहरू फेला पर्नासाथ डीएनए स्याम्पलका लागि रगतको नमुना सङ्कलन गर्ने प्रहरीले १६ जना सेनाका जवानहरूको नमुना सङ्कलन गर्न किन आनाकानी गरिरहेको छ ?

 

‘नेपाली सेनाका शङ्कास्पद जवानहरूमाथि किन अनुसन्धान गरिएन ?’ भन्ने रातोपाटीको जिज्ञासामा केन्द्रीय अनुसन्धान ब्युराको प्रमुख (डीआईजी) निरज शाहले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी छ ।’

 

निर्मलाको हत्या भएको तेस्रो दिन (साउन १३ गते) घटनास्थल पुगेको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अङ्गुर जिसी (निलम्बित) नेतृत्वको टोलीले नेपाली सेनाका केही शङ्कास्पद जवानहरूलाई सोधपुछ गरेको थियो ।

 

तर अहिले अनुसन्धान गरिरहेको टिमले त्यसतर्फ अनुसन्धान नै नगरेको बताइएको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले शङ्कास्पद सैन्य अधिकारीहरूमाथि पनि अनुसन्धान जारी रहेको दाबी गरेका छन् ।

 

साउन १० गते बाहिरिएका १६ जनामध्ये तीन जना स्थानीय स्कुलमा बालबालिकाहरूलाई सिकाउन (इन्स्ट्रक्सन) गर्न गएको देखिएको ‘२५ नम्बर बाहिनी’ स्रोतले जनाएको छ ।

 

‘तालिम प्राप्त मान्छेले जस्तो हार्डकोर तरिकाले हत्या गर्ने आँट फौजीकै हुन्छ’, लामो समयदेखि जघन्य अपराधका घटनामा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृत भन्छन्, ‘त्यो दिन ब्यारेकबाट आउट गएकाहरूको रेकर्ड मागेर अनुसन्धान गर्दा केही तथ्य अवश्य खुल्न सक्छ ।’

 

नेपाली सेनाले आवश्यक परेमा अनुसन्धामा सहयोग गर्न तयार रहेको जनाएको छ । सैन्य प्रवक्ता (सहायक रथी) गोकुल भण्डारीले रातोपाटीसँग कुरा गर्दै भने, ‘कोही मान्छे मागेमा अथवा डीएनए स्याम्पल मागेमा हामीलाई सहयोग गर्न कुनै समस्या छैन ।’

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...