यस्तो खर्तनाक बलात्कार, प्रहरीद्वारा प्रमाण नष्ट, डिएनए म्याच भएन



हाम्रो इकोनोमि

 

एक वर्षअघि ललितपुरको गोदावरी–१ गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधबार गोदावरीमै पक्राउ गरेको हो ।

 

केही समय भारतमा लुकेपछि पछिल्लो समय उनीहरू गाउँ फर्किएका थिए । उनीहरूविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दा दायर छ । कार्यालयबाट साँझ घर फर्कँदै गरेकी स्थानीय युवतीलाई टाउकामा ढुंगाले हानेर बेहोस बनाई बलात्कार गरेको आरोप उनीहरूमाथि छ । पीडित युवती अर्को बिहान बेहोस अवस्थामा तोरीबारीमा फेला परेकी थिइन् ।

 

घटनाको एक सातापछि तीनैजना पक्राउ परेका थिए । तर, जिल्ला अदालत ललितपुरका न्यायाधीश बालमुकुन्द दवाडीले पर्याप्त प्रमाण नपुगेको भन्दै गत वर्ष २६ पुसमा उनीहरूलाई साधारण तारेखमा छाड्न आदेश दिएका थिए । तर, पीडितहरू उच्च अदालत गएपछि २५ माघमा थुनामा राख्ने आदेश भएको थियो । सो आदेशसँगै उनीहरू फरार थिए ।

 

पछिल्लो समय अभियुक्तहरू गोदावरीमै रहेको सूचना पीडित परिवारले नै प्रहरीलाई दिएको थियो । सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमध्ये रघु आफ्नै घरनजिकै सानो छाप्रोमा बाहिरबाट ताल्चा लगाएर भित्र लुकेका थिए ।

 

उनी गत मंगलबार मात्रै भारतबाट नेपाल आएको खुलेको छ । त्यस्तै, विशाल र पवन गोदावरीको होटेलबाट पक्राउ परेका हुन् । उनीहरू दुवैजना केही महिनाअघि नै नेपाल आएको र विभिन्न ठाउँमा लुकेर बस्दै आएको खुलेको छ ।

 

पक्राउ परेका तीनैजनालाई बिहीबार अदालतमार्फत कारागार चलान गरिने ललितपुरका एसएसपी रवीन्द्र धानुकले बताए । अभियुक्तहरू पक्राउ परेकामा राहत महसुस भए पनि फैसला नभएसम्म न्याय पाउनेमा आशंका रहेको पीडित किशोरीकी आमाले बताइन् ।

 

घटना गत वर्ष २ मंसिरको हो । कार्यालयबाट बस चढेर गोदावरी–गोदामचौरनजिकै बसस्टपमा ओर्लिएर हिँड्दै घरतर्फ जाँदै थिइन् । साँझ परिसकेको थियो । बाटोछेउमा रहेका युवकहरू लागुऔषधको नशामा थिए । उनीहरू छिमेकी हुन्, त्यसैले युवतीले पनि चिन्दथिन् ।

 

तर, चिनेकै युवाहरूले अचानक आक्रमण गरे । उनले प्रतिकारको प्रयास गरिन् । उनीहरूले टाउकोमा ढुंगाले हानेर बेहोस बनाए । बलात्कार गरेपछि झोलाबाट तीन हजार रुपैयाँसमेत चोरी गरे ।

छोरी घर नफर्किएपछि परिवारले केही घन्टामै प्रहरीमा निवेदन दिए । उनको मोबाइल पनि अफ थियो । रातभरि खोज्दा पनि उनी भेटिइनन् ।

 

भोलिपल्ट बिहानै सडकमुनि बारीमा उनी बेहोस अवस्थामा भेटिएकी थिइन् । एक सातापछि मात्र शिक्षण अस्पतालमा उनको होस खुलेको थियो । करिब एक महिना अस्पताल बसेकी उनी अहिले पनि शारीरिक रूपमा कमजोर छिन् । उनको दाहिने हातले राम्रोसँग काम गर्दैन । दाहिने आँखा र कानमा पनि समस्या रहेको आमा बताउँछिन् ।

 

पीडितकी आमा भन्छिन्– न्याय पाइन्छ भन्ने विश्वास अझै लागेको छैन
छोरीलाई बलात्कार गर्ने र मार्नसमेत खोज्नेहरू पक्राउ परे भन्ने त सुनेँ । तर, न्याय पाइन्छ भन्ने विश्वास अझै लागेको छैन । जहिले उनीहरू अदालतबाट छुटे, त्यही दिनदेखि न्याय पाउने आस मरिसकेको छ । उनीहरू फेरि पक्राउ परेकामा केही राहत त महसुस भएको छ, तर कतै फेरि प्रमाण पुगेन भनेर छाड्न मिलेमतोमै प्रहरीले पक्राउ गरेको त होइन भन्ने शंका पनि लागेको छ ।

 

यो एक वर्षको पीडा सुनाइसाध्य छैन । एक महिना त छोरी अस्पतालमै बसी । घर र माइती सबै मिलेर बल्लतल्ल उपचार खर्च जुटायौँ । तर, अझै छोरीलाई ठीक भएको छैन । दाहिने हात राम्रोसँग चल्दैन । दाहिने आँखा र कानमा पनि समस्या छ । हातकै अझै अप्रेसन गर्नुपर्ने हुन सक्छ भनेर डाक्टरले भनेका छन् ।

 

होस आउनेबित्तिकै उसले आफूलाई बलात्कारपछि हत्या गर्न खोज्नेहरूको हुलियासहित नाम बताएकी थिई । एउटाको रातो कपाल भएको, एउटाको नाकछेउमा सेतो कोठी भएको र अर्काेको ठूला आँखा भएको भनेर । आफूलाई रोडबाट धकेलर तल झार्ने व्यक्तिलाई समेत चिनेको भनेर उसले भनेकी छ ।

 

तर, प्रहरीले धेरै प्रमाण संकलन नै गरेन । डिएनए पनि मिलेन भनेको सुन्दा अचम्म लागेको छ । छोरी आफ्नो दिमागमा सधैँ तिनै अपराधीको तस्बिर आइरहने बताउँछे । छोरी कहिलेकाहीँ म बाँचेको ब्यर्थ छ भनेर रुन्छे । आफूले चिनेकै अपराधीलाई कारबाही नभएकोमा उसलाई ठूलो पीडा छ ।

 

निर्मलालाई न्यायका लागि यसरी सबै लागेको टिभीमा हेर्छु । मेरो पनि समर्थन र सहानुभूति छ । तर, हाम्रो लागि सहयोग पाउन सकिएन । अपराधीलाई सजाय दिलाउन निकै गाह्रो भएको छ । अब त्यो दिन खुसी लाग्नेछ, जुन दिन अदालतले उनीहरूलाई सजाय दिनेछ ।

 

समूहमा कस–कसले बलात्कार गरे भन्ने स्पष्ट हुन नसकेको भन्दै अदालतले साधारण तारेखमा छाडेको थियो

पोलिग्राफ टेस्ट मिल्यो, तर डिएनए अस्पष्ट

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा जस्तै यो घटनाको अनुसन्धानमा पनि प्रहरीले लापरबाही गरेको छ । बलात्कारपछि एक सातासम्म पीडित युवती अस्पतालको आइसियूमा बेहोस थिइन् । त्यसवेलामा प्रहरीले चासो नदिँदा महत्वपूर्ण प्रमाण नष्ट भइसकेका थिए ।

 

बलात्कारपछि युवतीको झोलाबाट तीन हजार रुपैयाँ पनि चोरी भएको थियो । झोलाबाट पनि आरोपीको ‘फिंगर प्रिन्ट’सहितको प्रमाण संकलन गर्न परिवारले आग्रह गरेका थिए । तर, प्रहरीले त्यसमा चासो नदिएको उनीहरूको गुनासो छ ।

 

प्रहरी अनुसन्धान चलिरहेका वेला अदालतले आरोपीहरूलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । पछि डिएनएको रिपोर्ट अस्पष्ट आएको प्रहरी अधिकारीहरू बताउँछन् । पीडितको शरीर तथा घटनास्थलबाट राम्रोसँग पीडकको डिएनएको नमुना संकलन नै हुन नसकेको उनका परिवारको आरोप छ । प्रहरीले अनुसन्धानमै उदासीनता देखाएको पीडितकी आमा बताउँछिन् ।

 

समयमै प्रहरीले अभियुक्तका प्रमाणहरू जोगाउन सकेन । जसकारण प्रहरीको अभियोजनसमेत फितलो हुन पुगेको थियो । होस खुलेलगत्तै युवतीले रघु नामक युवक पनि संलग्न रहेको बताएपछि सोही आधारमा पक्राउ गरी समूहमाथि मुद्दा चलाइएको हो । पीडितले उनीहरूविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तीनैजना अभियुक्तलाई आफूले चिनेको उनी बताउँछिन् ।

 

आक्रमणकै वेला समूहका युवाहरूले रघुको नामै लिएको आफूले सुनेको पीडितले बताएकी छिन् । साथै प्रोलिग्राफ परीक्षणमा समेत अभियुक्तहरूले ढाँटेको खुलस्त भएको थियो । पीडित युवतीकी आमाका अनुसार होस खुलेलगत्तै उनले अभियुक्तहरूको हुलिया प्रहरीलाई बताएकी थिइन् जो पछि मिलेको थियो ।

 

सात युवाका बीचमा आरोपीलाई उभ्याउँदा पीडितले तीनजनाको पहिचान गरेकी थिइन् । तर, आरोपीले इन्कारी बयान दिए । पक्राउ परेका तीनै अभियुक्तलाई जिल्ला अदालत ललितपुरले साधारण तारेखमा छाड्ने आदेश दियो ।

 

बलात्कार भइरहँदा नै उनी बेहोस भइन् । त्यसपछि कस–कसले के–के गरे भन्ने उनलाई यकिन छैन । पक्राउ परेकामध्ये कस–कसले बलात्कार गरेका हुन् भनेर प्रस्ट रूपमा उल्लेख गर्न नसकेको भन्दै जिल्ला अदालतले समूहलाई नै साधारण तारेखमा छाड्न आदेश दिएको थियो । तारेखमा छुटेलगत्तै अभियुक्तहरू किन भागे ? प्रश्न यही छ ।

 

आरोपी परिवारको धम्कीले पीडित नै गाउँबाट विस्थापित
घटनापछि पीडित किशोरी र उनको परिवार गोदामचौरबाट विस्थापित भएका छन् । उनीहरूको गाउँमै सानो घर थियो । तर, अहिले पीडित परिवार काठमाडौं धापासीमा डेरामा बस्दै आएको छ । घटनापछि आरोपीका परिवारले धम्की दिन थालेकाले त्यहाँ बस्न नसकेको पीडित युवतीकी आमाले बताइन् ।

 

 पीडितकी आमा भन्छिन्–
आफूलाई बलात्कार गर्ने र मार्न खोज्नेहरूलाई छोरीले चिन्दाचिन्दै पनि अदालतले साधारण तारेखमा छाडिदिएपछि न्यायको आस मरेकाे थियाे, फेरि पक्राउ पर्दा राहत मिलेको छ

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...