भारतीय वैज्ञानिकले भने नेपालमा ठुलो भूकम्प जान्छ, १० लाख मानिसको ज्यान जान सक्ने



हाम्रो इकोनोमि

 

 

  नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् ।

 

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठूलो भूकम्प जान सक्ने देखाएको छ ।

 

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

 

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको भूगर्भविद् राजेन्द्रले जानकारी दिए ।

 

उनका अनुसार भूकम्पको जोखिम अत्यधिक भएकाले सुरक्षित संरचना निर्माण आवश्यक छ । प्रतिवेदनमा जोखिमको सम्भावना भएको नेपालको पश्चिम क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा निर्माण गरिने भौतिक संरचानाहरु सुरक्षित हुने गरी बनाउन सुझाव दिइएको छ ।

 

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् ।

 

उनले हिमालय क्षेत्रमा ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जानेमा कुनै शंका नरहेको दाबी गरे । यो ठूलो विपत्ति जुनसुकै बेला आउने भएकाले सतर्क रहन पनि वैज्ञानिकहरूले आग्रह गरेका छन् । ‘भूकम्प आउन सक्ने विषयमा अध्ययन अनुसन्धान भए पनि यही समयमा भूकम्प आउँछ भन्न सकिन्न,’ भूगर्भविद् विल्हमले भने, ‘यस्तो जोखिमयुक्त क्षेत्रका संरचना बलियो बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्दछ ।’ विपद् आउनुपूर्व नै कम क्षति हुने गरी संरचना निर्माण गर्नेतर्फ लाग्नुपर्ने उनको सुझाव छ ।

 

१२ वैशाख २०७२ मा गएको गोरखा भूकम्पलाई बिर्साउने गरी त्योभन्दा ठूलो भूकम्पको सम्भावना रहेको भूगर्भविद् राजेन्द्रले बताए । उनले गोरखा भूकम्पले नेपालको मध्य र पूर्वी क्षेत्रमा क्षति पुगे पनि सार्वजनिक बिदाको दिन भएकाले कम क्षति भएको बताए । उनले पश्चिम नेपाल र भारतको उत्तराखण्ड क्षेत्रमा केन्द्रबिन्दु भएर जान सक्ने भूकम्पले ठूलो जनधनको क्षति पुग्न सक्ने बताए ।

 

उनले जोखिमका हिसाबले बिनायोजना निर्माण भएको बस्तीहरु अझ बढी जोखिममा हुने बताए । ‘पहाडी र हिमाली क्षेत्रमा कुनै योजनाविपरीत बस्तीहरु बनेका छन्,’ उनले भने, ‘त्यस्ता बस्तीलाई सुरक्षित बनाउने कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्छ ।’

 

गोरखा भूकम्पपछि हिमाली क्षेत्रको भौगर्भिक अध्ययन तथा विगतका भूकम्पहरुको इतिहास अध्ययन गरेका भूगर्भविद् विल्हमले हिमालय क्षेत्रमा ठूलो क्षति पुग्ने गरी भूकम्पको सम्भावना रहेको बताए । उनले गोरखा भूकम्पलाई हिमाली क्षेत्रको विनाशकारी भूकम्प नभएको बताएका छन् ।

 

‘सबैभन्दा बढी विनाशकारी हुने अनुमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्यान जान सक्छ,’ उनले भने, ‘सरकारले यस्तो विपत्तिको रोकथाम गर्न चाँडै नै भवनलाई बलियो बनाउने अभियान नै चलाउनुपर्छ ।’

 

उनले भूकम्पीय जोखिम भएका मुलुकले भौतिक संरचनामध्ये सडक तथा भवन निर्माण गर्दा सम्भावित जोखिमको अध्ययन गरेर मात्रै काम गर्नुपर्ने सुझाएका छन् । गोर्खा भूकम्पबाट नेपालमा करिब ९ हजार मानिसको ज्यान गएको थियो भने १४ जिल्ला प्रभावित भएका थिए ।

राजधानीबाट

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...