३ करोड नतिरेपछि सौर्यका सबै उडान रोक्का



हाम्रो इकोनोमि

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको सम्पूर्ण उडान बिहीबार (आज) बाट रोकेको छ । सौर्यले विमानस्थललाई तिर्नुपर्ने बक्यौता ३ करोडभन्दा माथि पुगेपछि विमानस्थल व्यवस्थापनले आजबाट उसको उडान रोकेको हो ।

 

त्रिभुवन विमानस्थल व्यवस्थापनले सौर्यलाई लामो समयदेखि बक्यौता चुक्ता गर्न भन्दै आएको थियो । यसअघि गत कात्तिक तेस्रो साता एक साताको म्यादसमेत दिएको थियो । तर पनि सौर्यले बक्यौता भुक्तानीमा अटेर गर्दै आएको थियो । बीचबीचमा विमानस्थलले सौर्यका उडान दैनिक एकदेखि डेढ घन्टाका दरले रोक्दै समेत आएको थियो ।

 

“बक्यौता चुक्ता गर्न सौर्यलाई धेरै पटक आग्रह गर्यौं तर उसले आलटाल गर्दै आयो,” त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहीबार बाह्रखरीसँग भने, “केही सीप नलागेपछि आजबाट उसका सबै उडान रोकेका छौं । अब हामीले तोकेको न्यूनतम रकम भुक्तानी नगरेसम्म उसका जहाज उड्न दिँदैनौं ।”

 

विमानस्थल व्यवस्थापनका अनुसार सौर्यले ३ करोड रुपैयाँभन्दा बढी बक्यौता चुक्ता गर्न बाँकी छ । झन्डै एक वर्षदेखिको यो बक्यौता चुक्ता गर्न ताकेता गरिए पनि सौर्यले आलटाल गर्दै आएको छ । सौर्यसँग हाल सञ्चालनमा रहेको ५० सिट क्षमतायुक्त एकथान जहाज अहिले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा  छ ।

 

सौर्यसँग दुइटा जहाज भए पनि पछिल्लो समयदेखि त्यही एउटामात्र उडिरहेको थियो । सौर्यले एउटा जहाजमार्फत् काठमाडौंबाट नेपालगन्ज, विराटनगर, भैरहवालगायत गन्तव्यमा दैनिक तीनदेखि चार उडान गरिरहेको थियो ।

 

कूल बक्यौतामध्ये कम्तिमा २० देखि २५ लाख रुपैयाँ तुरुन्त चुक्ता गरेमात्र सौर्यलाई पुनः उडान गर्न दिने महाप्रबन्धक क्षेत्रीले बताए । त्यति रकम चुक्ता गरे केही दिनमात्र उडान गर्न पाइने उनको भनाइ छ ।

 

“सौर्यका अधिकारीहरू हाम्रो सम्पर्कमै छन्,” विमानस्थल महाप्रबन्धक क्षेत्रीले भने, “बक्यौता चुक्ता गर्न रकमको व्यवस्था गर्दैछौं भनेका छन् र आउने सोमबारसम्ममा केही रकम चुक्ता गर्ने जानकारी दिएका छन् ।” विमानस्थलका अनुसार २०७४ यता सौर्यको बक्यौता करिब ४ करोडभन्दा माथि थियो । बारम्बारको ताकेतापछि उसले किस्ता–किस्तामा गरी १ करोड ७० लाख रुपैयाँ तिरे पनि अझै ३ करोडभन्दा बढी बाँकी राखेको छ । त्यसपछि पुनः ताकेता गरे पनि रकम चुक्ता गरेको छैन ।

 

त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत सेवा उपयोग गरेबापत सौर्यले उक्त परिमाणबराबरको रकम चुक्ता गर्न बाँकी रहेको छ ।

 

यसमा विलम्ब शुल्क पनि जोडिएको छ । ‘विमानस्थल सेवा शुल्क नियमावली २०६७’ को नियम ३० मा ‘कुनै पनि वायुसेवा वा अन्य कम्पनीबाट ६० दिनभित्र बक्यौता शुल्क उठेन भने सम्बद्ध वायुसेवाको उडानमा रोक लगाउन र अन्य कम्पनीको कारोबार रोक्का गर्नसक्ने अधिकार विमानस्थल प्रमुखलाई हुने’ उल्लेख छ । यही नियमावलीको नियम २९ मा भने ‘विमानस्थलमा तोकिएको शुल्क उठाउने जिम्मेवारी सम्बन्धित विमानस्थल प्रमुखको हुने’ उल्लेख छ ।

 

२०७१ भदौ पहिलो साता २५ करोड रुपैयाँ लगानीमा सौर्य स्थापना भएको थियो । कम्पनीले क्यानडास्थित जहाज निर्माता कम्पनी बम्बार्डियरमा उत्पादित ५० सिट क्षमतायुक्त ‘क्यानेडियन रिजनल जेट’ (सिआरजे–२००) सिरिजको जहाज एकथान ल्याएपछि त्यही वर्ष मंसिर १ बाट नियमित व्यापारिक उडान सुरु गरेको थियो ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७० साउन तेस्रो साता मुलुकका प्रमुख सहरहरूमा उडान गर्ने गरी सौर्यलाई उडान अनुमति दिएको थियो । सौर्यले पोखरा, विराटनगर, नेपालगन्ज, भैरहवा वा अन्य सहरी गन्तव्यमा आधार गर्न पाउने गरी अनुमति पाएको थियो ।

 

सौर्यले सुरुमा ३४ सिट क्षमताको ‘डोर्नियर–३२८’ सिरिज एउटा र ३५ सिटे ‘एसएबी–३४०बी’ सिरिजको एउटा जहाजबाट उडान गर्ने योजना बनाएको थियो ।
सौर्यले मुलुकको आन्तरिक उडान इतिहासमै ‘पहिलो पटक’ जेट इन्जिनयुक्त जहाज प्रयोग गरेको थियो । उसले २०७३ फागुन अन्तिम साता दोस्रो सिआरजे–२०० सिरिजको जहाज ल्याएको थियो ।

 

त्यसयता निरन्तर दुई जहाजबाट नियमित उडान गरिरहेको सौर्यको हाल एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छ । एउटा जहाजबाट सीमित गन्तव्यमा सेवा दिइरहेको सौर्यलाई दुई महिनाअघि गैरआवासीय नेपाली श्याम अधिकारीलगायतको समूहले करिब ६७ करोड रुपैयाँमा खरिद गरेको थियो । लामो समय घाटामा सञ्चालन भएपछि पुरानो व्यवस्थापनले कम्पनी अधिकारीको समूहलाई बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...