भारतमा पानीको हाहाकार, रेस्टुरेन्टका ग्राहकलाई आधा गिलास मात्र



हाम्रो इकोनोमि

 

शुद्ध शाकाहारी कालिंगा रेष्टुुरेन्टमा एक जोडी आएर बसे । वेटरले टेबलमा गएर उनीहरुलाई सोध्छन्, ‘पानी चाहिन्छ कि चाहिँदैन ?’

 

‘मैले चाहिन्छ भनेपछि वेटरले मलाई आधा गिलास पानी दिए’ ग्राहक गौरीपुजा मंगेशकर भन्छिन्, ‘सुरुमा त मलाई मात्रै झुक्किएर आधा दिएको हो कि जस्तो लाग्यो तर उनीहरुले मेरो श्रीमानलाई पनि आधा मात्रै दिए ।’

 

सामान्यतया रेस्टुरेन्टमा खान आउनेलाई सुरुमै तातो वा चिसो पानी टक्र्याउने चलन हुन्छ । पानी चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्नै गरिदैन । तर, भारतको पुणेमा कालिंगा जस्ता धेरै रेस्टुरेन्टहरुले सोधेर मात्रै पानी सर्भ गर्न थालेका छन्, त्यो पनि आधा गिलास मात्र ।

 

यस्तो किन त ?

पुणेको शहरी प्राधिकरणले एक महिनाअघि पानीको आपूर्ति काट्ने घोषणा गरेपछि पानीको संकट सामना गर्न करिव ४०० रेष्टुरेन्टहरुले यो उपाय अपनाएका हुन् । कालिंगा रेष्टुरेन्टका सञ्चालक तथा पुणे रेष्टुेरेन्ट एण्ड होटेलियर्स एसोसिएसनका अध्यक्ष गणेश सेट्टीका अनुसार उनीहरुले पानी बचाउन विस्तृत योजना बनाएर काम गरिरहेका छन् ।

 

‘हामीले आधा गिलास मात्रै पानी दिन्छौं र ग्राहकले फेरि नमागेसम्म दोस्रोपटक भरी दिँदैनौं । ग्राहकले पिएर उब्रेको पानी रिसाइकल गरेर फूलमा राख्न र भुँई पुछ्न प्रयोग गरिन्छ,’ सेट्टीले भने ।

 

उनका अनुसार धेरै ठाँउमा पानीको खपत कम हुने ट्वाइलेटहरुको राखिएका छन् । पानी भण्डार गर्ने प्लान्टहरु बनाइएको छ । र, कर्मचारीहरुलाई सकेसम्म कम पानी प्रयोग गर्न निर्देशन दिइएको छौं ।

 

कालिंगा रेष्टुरेन्टमा दैनिक करिब ८०० जना ग्राहकहरु आउँछन् र आधा गिलासमात्रै पानी सर्भ गर्दा रेष्टृरेन्टले दैनिक करिब ८०० लिटर पानी बचाउँछ ।

 

सेट्टी भन्छन् ‘पानीको प्रत्येक थोपा अमुल्य छ र हामीले भविष्यलाई सोचेर पनि अहिलेदेखि नै पानीको खपत घटाउनुपर्छ ।’

 

त्यस्तै ८३ वर्ष पुरानो पुणे गेस्ट हाउसका सञ्चालक किशोर सरपोद्दारले पहिलेका ठूला गिलासहरुलाई विस्थापन गरी भर्खरै ल्याइएका साना स्टिलका गिलासहरु देखाए । गिलास सानो भएकाले उनको रेष्टुरेन्टले भरी पानी सर्भ गर्छ ।

 

पुणे भारतको आर्थिक राजधानी मुम्बई नजिकैको शहर हो । साँस्कृतिक र शैक्षिक केन्द्रको रुपमा परिचित यो शहरलाई भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले ‘भारतको अक्सफोर्ड र क्याम्ब्रिज’को संज्ञा दिएका थिए ।

 

चालिस लाख मानिसको बसोबास रहेको यो शहरमा सन् १८७८ मा बनाइएको खडकवासला ड्यामबाट पानी आपूर्ती गरिँदै आइएको छ । शहरमा पानीको संकट दुई वर्षअघिबाट देखापरेको हो ।

 

‘त्यतिखेर फेब्रुअरी र मार्चमा दुई महिनाको लागि हाम्रो पानीको सप्लाई आधा भएको थियो र पहिलोपटक दुई दिनमा एकपटक मात्रै पानी आउन थाल्यो,’ सेट्टीले स्मरण गरे ।

 

शहरी प्राधिकरणले खानेपानीको आपूर्ती कम गरेसँगै पानी खेर नफाल्न कडा निर्देशनहरु दियो । मानिसहरुलाई थप पानी आवश्यक परेको खण्डमा इनार र ट्युवेल जडान गर्न भनियो ।

 

त्यतिखेर दुई महिनासम्म शहरमा सबै निमार्ण कार्य रोकिएको थियो । कार ग्यारेजहरुलाई कार धुने पानी दिइएन र शहरले ‘सुख्खा होली’ मनायो । क्लब र वाटर रिसोर्टहरुलाई लोकप्रिय रेनडान्स गर्न बन्देज लगाइयो र स्विमिङ पुलहरु बन्द गरियो । पानी खेर नफाल्न चेतावनीसँगै पानीको दुरुपयोग गर्नेहरुलाई ठूलो रकम जरिवाना गराइयो ।

 

पुनेका पानी संरक्षणविद् कर्णेल शशिकान्त दाल्वी भन्छन्, ‘यो वर्ष अवस्था झनै खराब भएको छ । अक्टोबरमै पानीको हाहाकार मच्चिएको छ । गर्मी महिनामा कसरी पानीको संकट समाधान गर्ने ?’

 

हालसालै प्रकाशित एक सरकारी प्रतिवेदनका अनुसार भारतले अहिलेसम्मकै ठूलो पानीको संकटको सामना गरिरहेको छ र यसबाट ६० करोड मानिसहरु प्रभावित भएका छन् ।

प्रतिवेदनअनुसार संकट आउँदो वर्षहरुमा झनै बढ्नेछ र २१ शहरहरुमा सन् २०२० सम्ममा भुमिगत पानीको स्रोत सकिनेछ ।

 

गत मे महिनामा लोकप्रिय पर्यटकीय शहर सिमलामा पानीको हाहाकार मच्चियो । त्यस्तै अघिल्लो वर्ष बैंगलोर शहरमा पनि पानीको चरम अभाव भयो ।

भारतको पश्चिमी महाराष्ट्रमा पानीको कमी प्रत्येक वर्ष बढ्दै गएको छ । गर्मीयाममा पानीको लागि झगडा भएको समाचार दिनहुँ आउँछन् । जिल्ला–जिल्ला, गाउँ–गाउँ, छिमेकी–छिमेकी बीचमा पानीको लागि लडाईं हुन्छ ।

 

यो वर्ष त झनै पानीको समस्या जाडोयामको सुरुवातबाटै देखिएको छ र धेरै क्षेत्रहरुमा खडेरी र पानीको संकट देखापर्न थालिसकेको छ । यसबाट पुणे सर्वाधिक प्रभावित भएको छ । अक्टोबरमै पुणेको म्युनिसिपल कर्पोरेशनले पानीको आपूर्तीमा १० प्रतिशतले कटौती गरेको घोषणा गरिसकेको छ । कर्णेल दाल्भी आफै पनि अचम्मित बनेको बताउँछन् ।

 

उनी भन्छन्, ‘दुई वर्ष अघिको संकट कम पानी परेको कारण भएको थियो, तर यो वर्ष पुणेमा जुलाईको अन्त्यसम्म भारी वर्षा भयो । ड्यामहरु भरिएका थिए तर त्यो पानी अहिले कता गयो ?’

‘मनसुनी वर्षा जुनभन्दा अगाडि हुँदैन र त्यसको लागि अझै ८ महिना छ । यो धेरै लामो समय हो । जाडोयाममा पनि पानी परेन भने शहरवासीको विजोक हुनेछ,’ उनी भन्छन् ।

 

बिज्ञहरुले पानीको संकट हुनुको प्रमुख कारण जलवायु परिवर्तन, वनविनाश र तिव्र गतिमा शहरको जनसंख्या वृद्धिलाई मानेका छन् । खडकवासला ड्याम रिजर्भायरलाई कहिल्यै पनि मर्मत गरिएको छैन र यसको पानी भण्डारण गर्ने क्षमता कम भइरहेको छ ।

सन् २०२५ सम्ममा भारत विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने छ । यस्तोमा कर्णेल दाल्भीले पुणे र देशका अन्य भागमा पानीको संकटबाट बँच्नको लागि केही उपायहरु दिएका छन् ।

 

‘चुहावट रोकिनुपर्छ, भूमिगत पानीको अत्यधिक प्रयोग रोकिनुपर्छ, सबैले आ–आफ्नो छानोबाट वर्षाको पानी भण्डारण र पुनः प्रयोग गर्ने प्रविधि जडान गर्नुपर्छ । होइन भने पानीको चरम संकट हुनेछ,’ उनी भन्छन् ।

तर, रेस्टुरेन्टहरुले आधा गिलास पानी सर्भ गर्ने उपाय के नौटंकी मात्रै हो ?

उनी भन्छन्, ‘यो नौटंकी होइन । यो धेरै राम्रो उपाय हो । एक थोपा पानी बचाउनु भनेको एक थोपा प्राप्त गर्नु हो ।’

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...