यो दर्दनाक अवस्थाले कसको आँशु रोक्ला : एकैपटक २ हात १ खुट्टा काटियो !



हाम्रो इकोनोमि

 

अति दुर्गम हिमाली बारीको भित्तामा टाँसिएको एकतले झुप्रे घर । आफु बस्नेसँगै जोडेर बनाइएको बाख्रोको खोर । बर्खे झाडीले हावासँगै उढिरहेका अनगिन्ती झिंगा र भुसुनाहरुले बारम्बार उनकै शरीरमा आक्रमण गरिरहेका छन् । धपाउन अब उनीसँग न त दुवै हात छन् न खुट्टा नै । बाँकी छ केवल शरिरको गिँड मात्र !

 

नेपाल विद्युत प्राधिकरणका कर्मचारी हरिकाजी ढुंगाना, कार्यालयले खाटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्दै गर्दा ११ हजार भोल्टको करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएपछिको अवस्थामा ।

 

केही बर्ष पहिले सम्म यी नेर्पा ८ रामपुर–खोटाङ्गका हरिकाजी ढुंगाना गाऊँकै बलिया युवा थिए । हात खुट्टा छँदा गाँऊमा कोही विरामी परे बोकेर अस्पताल पुर्याउने देखि नयाँ घर बनाउनेका लागि सिंगो निदाल काँधमा हाल्ने उनै मात्र थिए । त्यही साहासिलो व्यक्तित्व भएकै कारण नेपाल विद्युत प्राधिकरण खोटाङ्गको वितरण शाखामा तार, तान्ने देखि पोल ठड्याउने मिलाउने प्राविधिकको जागिर पाएका थिए ।

 

सबै मानिसका लागि उज्यालो दिन बनेको विज्ञानको त्यो उत्सर्जन विद्युत हरिकाजीको जीवनका लागि भने अन्धकारमय बन्यो । अरुलाई उज्यालो दिन विजुलीको तार जोड्न पोलमा चढेका उनका करेन्ट लागेर दुबै हात, एउटा दाहिने खुट्टा गुमाउन पुगे । करेन्टले डढेर हात–खुट्टा पग्लिए पछिको प्लाष्टिकको डन्डि जस्तै देखिन्थ्यो । उनलाई बचाउन वि एण्ड वि अस्पतालका बरिष्ठ प्लाष्टिक सर्जियन बसन्त माथेमासहितका डाक्टरहरुले दुबै हात, एउटा दाहिने खुट्टा काटेर फाल्ने निर्णय लिन आफन्तलाई आग्रह गरे ।

 

बयवृद्ध बाबु-आमाका साथमा हरिकाजी ढुंगाना : त्यो बेला उनकी जीवन संगिनीको पेटमा भर्खरै मात्र उनै हरिकाजीको नासो सलवलाई रहेको थियो । दुधे छोरी काखमा थिईन् । गर्भवती जीवन संगिनी सिता ढुंगानाले आँखाबाट आँसु बगाउदै शरिरको गिड मात्र बचाउन सकेपनि ठुलो प्राप्ति हो भन्दै सहमती जनाईन् । नाताले सोल्टि भएकाले त्यो निर्णय लिने मध्यको यो शब्दकार म स्वयं पनि थिए । त्यसैले उनको त्यो अवस्था देखि अहिले सम्मका सबै अवस्थाको म स्वयं प्रत्यक्षदर्शी पनि हो ।

 

अहिले देब्रे खुट्टाका समेत केही औला छैनन् । दुई हात र दाहिने खुट्टा माथिल्लो भागमै काटेर फालिएको तीन बर्ष भयो । शरिरको गिडमात्र लिएर उनी बाँचिरहेका छन् । सारा गाउँबस्ती उज्यालो पार्न हिँडेका उनको भने जीवन अन्धकार भएको छ । जीवन जिउन खियाउने उनका दुबै हात छैनन्, खुट्टा छैन । अरुलाई उज्याले दिने उनको अभिलासाले आज आफ्नै जीवन पूर्ण रुपमा अन्धकार बनेको छ ।

 

परिवारकै जीवन कष्कर बन्दै : हरिकाजी ढुंगानाका ८५ बर्ष नाँघेका बाबु-आमा छन् । सम्पत्तिको नाममा केही पाखो बारी छ । घरमा श्रीमती एक बहिनी र दुई छोरा-छोरी छन् । बृद्ध बा-आमा र दुधे बालबालिका उनैको साहारामा थिए । हातगोडा फालिएपछि अब सबै साहारा विहिन बनेका छन् ।

 

घरमा चुल्हो बाल्न नै धौ-धौ परेको छ । श्रीमती, छोरी र बयवृद्ध बाबु-आमाका साथमा हरिकाजी ढुंगाना उनका अर्का दुधे बालक छोरापनि छन् । हातगोडा हुँदा सम्म उनी परिश्रम गर्न खाँडी मुलुक सम्म रोजगारीका लागि पुगेका थिए । त्यहाँपनि राम्रो कमाई नभएपछि स्वदेश फर्किएका उनी प्राधिकरणमा जागिर खाएर राम्रै जीवन कटाउने योजनामा थिए ।

 

त्यही जागिरले आज उनको अवस्था यस्तो भयो । परिवार र उनको भरणपोषण तथा बृत्ति विकासका लागि कसैले भरपर्दो साहारा दिन सकेका छैनन् । विद्युत प्राधिकरण, उर्जा मन्त्रालयमा बारम्बार हारगुहार गर्दापनि उनले पाउने तलब समेत पाएनन् ।

 

“प्राधिकरणकै काममा मेरो यस्तो हालत भयो, त्यही पाउने तलव जीवनभर पाएपनि बाँच्ने आश आउथ्यो” उनले गुनासो सुनाए । ज्यालादारी कर्मचारीको रुपमा नियुक्त भएका कारण उनलाई यस्तो अवस्थामा समेत पाईरहेको तलब प्राधिकरणले दिन सकेन । यसले झनै उनको जीवन अन्धकारमय बनेको छ ।

 

सहयोगको अपिल ! म हरिकाजी ढुंगाना, नेर्पा ८, खोटाङ्ग साविक रुपाकोट मझुवागढी नगरपालिका ६ खोटाङ्गको हिमाली भेगमा मेरो घर छ । दुवै हात र खुट्टा गुमाएपनि म स्वस्थ पुर्न जीवन पाएको छु । त्यसैले मलाई अझै बाँच्न मन छ ।

 

म आफैले कमाएर पाल्नुपर्ने बयोबृद्ध बाबा-आमा र दुधे बालबालिका छोरा-छोरी को जीवन र भविष्यसँगै मेरो जीवनका लागि सहयोगी मन रसाउन जरुरी छ । यसैले म हात जोरेर विश्वजगतका सहयोगी मन र भावनाहरुलाई जीवन रक्षाका लागि केही आर्थिक सहयोगको हार्दिक अपिल गर्दछु ।

 

मलाई सहयोग गर्न चाहानुहुन्छ भने मेरो नाममा रहेको बैक खातामा जम्मा गरेर वा मलाई सिँधै फोन गरेर सहयोग गर्न सक्नुहुन्छ । त्यसका लागि, बैक खाता, खातावाला :- हरिकाजी ढुंगाना, खाता नम्बर :- 112002197310 , बैक :- राष्ट्रिय बाणिज्य बैक ललितपुर, सम्पर्क फोन नम्बर :- ९८४२९७४९५२ ,

 

कसरी भयो यस्तो ?

बिजुली बनाउँदाबनाउँदै नांगो तारमा करेन्ट आयो, उनी अढाइ घन्टासम्म पोलमै तुर्लुङ्ग झुण्डिरहे, हेर्दाहेर्दै पाँच सय गाउँले जम्मा भए, उनलाई पोलबाट झार्न कोही तम्सिएनन् खोटाङ जिल्लाको धितुङ, हलेसी, सल्ले गाविसका दर्जनौँ गाउँ बिजुली नभएर अन्धकारमय भएको एक साता नाघिसकेको थियो। स्थानीयले दिनको १० पटकभन्दा बढी फोन गरेर बिजुली फ्युज सेवा अर्खौलेमा जानकारी गराउँथे।

 

धितुङ, हलेसी, सल्ले गाविसका दर्जनौँ गाउँको बिजुलीमा समस्या आए बनाउन ४ जना कर्मचारी नेपाल विद्युत प्राधिकरणले अर्खौलेमा खटाएको थियो। ७ दिन हुँदा पनि गाउँ अन्धकारमय नै रहेपछि स्थानीयले सदरमुकामस्थित प्राधिकरणलाई नै जानकारी गराए। प्राधिकरणले धितुङ, हलेसी, सल्ले गाविसमा किन बिजुली गएको भनेर जानकारी माग्दै चाँडै बनाउन बिजुली फ्युज सेवा अर्खौलेलाई निर्देशन दियो।

४ जना कर्मचारीमध्ये कृष्ण खनाल बिदा लिएर काठमाडौं आएका थिए। उद्धव केसी प्यारालाइसिसका बिरामी भएर विदामै थिए। ज्ञानेन्द्र राई भने बिजुली बनाउन विजयखर्क गएका थिए। कोही नभएपछि तीन घन्टा हिँडेर धितुङ, हलेसी, सल्ले गाविस जान हरि ढुंगाना तम्सिए। साँझ ४ बजेतिर हरि अर्खौले गाविसको वर्षेटार पुगे। ११ हजार केभी क्षमताको तार अड्याइएको पोलमा बेल्ट लिएर चढे।

 

भर्याङ थिएन। प्राधिकरणले कर्मचारीहरुलाई बेल्ट, पिलास, नट खोल्ने, कस्ने, तार काट्नेबाहेक अन्य साधन दिइएको थिएन। बाँदरजस्तै गरी उनी पोलमा चढे। पोलमुनि रहेका केही बालबालिकाहरु उनलाई गिज्याउँथे। लाइन बिग्रिएको स्थानवरपर बस्ती थिएन, भरपाखा थियो। दुईचार जना बालबालिका बाख्रा चराउन त्यतातिर गएका थिए। लडिएका कि भनेर उनले हत्त न पत्त पोलमा बेल्ट कस्न भ्याए। पोलमा चढेर उनी काम गर्दै थिए।

 

काम गरिरहेका बेला एक्कासी करेन्ट आयो, करेन्टले उनलाई झट्का दियोे। बिजुलीको झट्काले उनी पोलमा झुण्डिन पुगे। एक छिन मात्र आएर करेन्ट गयो। उनले आफूलाई करेन्ट लागेको र गाउँका मानिस बोलाउन गोठाला आएका बालबालिकासँग गुहार मागे। एकछिनमै नजिकै रहेको गाँउका मानिसहरु आए। हेर्दाहेर्दै ५ सयभन्दा बढी जम्मा भए तर हरिलाई बचाउन जाने कोही भएन। हरिले भने, ‘मलाई बचाउन कोही तम्सिएनन्, सबै रमिता हेरेर मात्र बसे।’

 

करेन्ट लागेको मानिसलाई बचाउन गए आफैँलाई करेन्ट लाग्ने भन्दै गाउँलेहरु डराएर आफूलाई बचाउन नआएको उनले सुनाए। उनले भने, ‘बिजुली छैन, मेरो बेल्ट खोल्दिनुस्, बेल्टका कारण मलाई निकै अप्ठेरो भइरहेको छ, करेन्ट लाग्दैन भन्दा पनि कोही तम्सिएनन्।’ साढे ४ बजे पोलमा अड्केका उनलाई ७ बजे नेपाल आर्मीका जवानहरुले उद्धार गरे। साढे २ घन्टा पोलमा झुन्डिएको सम्झदै उनले त्यो आफूलाई साढे २ वर्षजस्तो लागेको सुनाए।

 

तालिम सकाएर घर फर्कँदै गरेका नेपाली सेनाको ५ जनाको समूहले आफूलाई उद्धार गरेको उनले सुनाए। हलेसीबाट दिक्तेल आउँदै गरेको बसमा उनीहरु आएका थिए। आफू रुखमा झुन्डिरहेको देखेपछि उनीहरुले स्थानीयसँग डोरी मागेर पोलमुनि बस राखी उनलाई बसको छतमा झारेका थिए। पोलबाट बसको छतमा खसेका उनी बेहोस भए। स्थानीयले घरमा लगेर राखे। ९ बजेतिर सदरमुकामबाट प्राधिकरणले पठाएको गाडी पुग्यो। आफूसँग भएको गाडी जिल्लाबाहिर गएपछि प्राधिकरणले भाडामा गाडी पठाएको रैछ।

उनलाई रातारात उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल महाराजगंज ल्याइयो। बिहान ८ बजे ल्याएर अस्पतालको बर्न सेक्सनमा उनलाई राखिएको थियो। दिउँसोतिर डाक्टरहरुले उनको केस जटिल रहेका कारण आइसियु र भेन्टिलेटर दुबै चाहिने र त्यो अस्पतालमा नभएको भन्दै अयन्त्र लग्न आग्रह गरे। उनीसँगै आएकी उनकी पत्नी सीताले डाक्टरसँग रुँदै आइसियु र भेन्टिलेटरको व्यवस्था गर्न आग्रह गरिन्। तर, अस्पतालमै नभएको आइसियु र भेन्टिलेटर कसरी व्यवस्था गर्ने? उनका आफन्तहरुले सिनामंगलमा रहेको केएमसी अस्पताललाई बिरामीको अवस्थाबारे बताए। अस्पतालले आफूहरुसँग आइसियु र भेन्टिलेटर भएको भन्दै बिरामी ल्याउन आग्रह गर्यो।

अस्पताल लग्दैगर्दा फेरि अस्पतालबाट फोन आयो– आइसियु र भेन्टिलेटर छैन। केएमसीका डाक्टरहरुले शिक्षण अस्पताल फोन गरेर बिरामीको स्वास्थ्य अवस्था बुझेको र केस जटिल भएको भन्दै बिरामी राख्न नमानेको हरिका आफन्त इन्द्र आचार्यले आरोप लगाए। त्यसपछि उनका आफन्तले बिएन्डबी अस्पतालमा फोन गरी बिरामीको अवस्थाबारे जानकारी गराए। बिएन्डबीले बिरामी ल्याउन भन्यो। डाक्टर बसन्त माथेमाले उनको केस हेरे। करेन्ट लागेर उनका दुबै हात, एउटा दाहिने खुट्टा काम नलाग्ने भइसकेका थिए। डाक्टर माथेमासहितका डाक्टरहरुले उनको दुबै हात, एउटा दाहिने खुट्टा काटेर फाल्ने निर्णय गरे। उनीसँग अहिले देब्रे खुट्टा मात्र छ। सारा गाउँबस्ती उज्यालो पार्न हिँडेका उनको भने जीवन अन्धकार भएको छ। जीवन जिउन खियाउने उनका दुबै हात छैनन्, खुट्टा छैन।

गत चैत १६ गते पोलमा करेन्ट लागेर सैनिक जवानहरुले उद्धार गर्नेबित्तिकै बेहोस भएको ३१ दिनपछि हरिको होस आयो। उनी छाँगाबाट खसेजस्तै भए। आफ्नो सद्दे हात र खुट्टा गुमाउनु पर्दाको पीडा उनले अहिलेसम्म भुल्न सकेका छैनन्। आँखाभरि आँसु पार्दै उनले भने, करेन्टबाट बँचे भनेर ठूलो गर्व गरेँ, अहिले आफ्नो जीवन आफैँलाई भारी भइरहेछ। बरु त्यही बेला मर्न पाएको हुन्थ्यो भनेर उनी आफ्नो जीवनदेखि नै पछुतो मान्छन्। उनको उपचारमा ३२ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। बिएन्डबीलाई अझै उपचार गरे वापत ७ लाख भन्दा बढी तिर्नुपर्नेछ।

विद्युत प्राधिकरणका कार्यकारी महानिर्देशक रामचन्द्र पाण्डेले उनलाई उपचारका लागि १६ लाख ९४ हजार रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्। अहिलेसम्म १२ लाख रुपैयाँ दिइसकेको छ। गाउँमा उनको ७ रोपनी पाखो बारी र डेढ रोपनी खेत छ। उपचारका लागि ८ लाखभन्दा बढी ऋण लिइसकेको उनकी पत्नी सीताले बताइन्। आफन्तहरुसँग मागेर काम चलाएको उनले सुनाइन्। हरिको उपचार गर्न अझै १५ लाख रुपैयाँभन्दा बढी लाग्ने डाक्टरहरुले बताएका छन्। सीताले भनिन्, ‘यत्रो रकम कहाँबाट जोहो गर्ने, नजिकका आफन्तबाट मागिसक्यौँ। अब दिने कोही बाँकी छैनन्।’

उनको सहयोगका लागि सबैसँग आग्रह गरेकी छिन्। दुई हात र एक खुुट्टा गुमाएपछि उनको जिन्दगीमात्र अन्धकारमा धकेलिएको छैन, ८५ वर्षे बाबु र ६५ वर्षीया आमा, दुईजिउकी श्रीमती सीता, ६ वर्षकी छोरी आकृति र एक बहिनीको समेत भबिष्य अन्धकारमय भएको छ। हरि घरका एक्ला छोरा हुन्। कमाएर ल्याउने हरिकै हालत यस्तो भएपछि उनीहरुका आँखा पनि ओभाएका छैनन्। हरिले जीवन रक्षा, दिगो जीविकोपार्जन, आजीवन आर्थिक वृत्ति र परिवारको संरक्षण गर्नुपर्ने भन्दै नेपाल प्राधिकरण गुहारेका छन्।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...