१८ महिना अगाडिदेखि नै आइजीपी बनाउने चलखेल, पाललाई बनाउन ब्यापारीहरुको सक्रियता



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीमा २७ औं आइजीपी हुन १३ महिना बाँकी छँदै २८ औं आइजीपीका लागि चलखेल सुरु भएको छ । १३ महिनापछि २०७६ फागुनमा वर्तमान आइजीपी सर्वेन्द्र खनाल ३० बर्षे सेवावधिका कारण अवकाश हुनेछन् । उनको अवकाशपछि पाँच महिनाको लागि डीआइजीद्वय ठाकुरप्रसाद ज्ञवाली र तारणीप्रसाद लम्सालमध्येबाट एक २७ औं आइजीपी हुनेछन् ।

 

यो समूहपछिको २८ औं आइजीपीका लागि अहिलेदेखि नै डिजाइन सुरु भएको छ । २०७६ फागुनमा नेपाल कम्युनिष्ट पार्टीकै सरकार हुने र बरिष्ठ पनि भएकाले डीआइजी ज्ञवाली नै आइजीपी हुने संभावना बढी देखिन्छ ।

 

ज्ञवालीपछिको आइजीपी एक नम्बरका डीआइजी शैलेश थापा क्षेत्री हुन्छन् भन्ने अनुमान सबैले गरेका छन् । तर यो अनुमानमात्र हुने देखिन्छ । विवादास्पद ब्यापारी र ठेकेदारहरुले हरि पाललाई आइजीपी बनाउनका लागि नै डीआइजी बढुवामा २ नम्बरमा ल्याउन सफल भइसकेको तथ्य खुल्न थालेको छ ।

 

चार नम्बरका एसएसपी हरि पाललाई असोज अन्तिममा डीआइजी बढुवा गर्दा २ नम्बरमा ल्याइएको हो । तीन नम्बरका एसएसपी प्रद्युम्न कार्कीलाई ४ नम्बरमा लगिएको छ । बरिष्ठताका आधारमा दोस्रो नम्बरमा रहेका निरजबहादुर शाहीलाई तेस्रो बरियतामा धकेलिएको थियो ।

 

यसरी दोस्रोलाई तेस्रो नम्बर र तेस्रोलाई चौथोमा धकेलेर पाललाई दोस्रो नम्बरमा ल्याउने खेल ब्यापारी अजयराज सुमार्गी पराजुली, ठेकेदार दीपक भट्ट, ब्यापारी आङछिरिङ शेर्पा र दीपक मल्होत्राका ब्यापारिक पार्टनर पूर्वडीएसपी सुरेन्द्रबहादुर सिंहले खेलेको स्रोतले बताएको छ ।

 

स्रोतका अनुसार १ नम्बरका शैलेश थापा क्षेत्री भए पनि उनी चलखेलमा त्यति पारंगत नभएका, कार्यक्षेत्रको कम अनुभव र फिल्डमा कमजोर ब्यापारी र बिचौलियाहरुले पाललाई प्रहरी नेतृत्वमा पु¥याउन दोस्रो नम्बरमा बढुवा गराउन सफल भएका हुन् । डीआइजी थापा क्षेत्रीप्रति गृहमन्त्री रामबहादुर थापा र आइजीपी खनाल दुवै सकारात्मक भएकाले अहिले नै पाललाई २ नम्बरमा ल्याउने ब्यापारी ठेकेदार प्रयास सफल हुन नसकेको बताइन्छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त भएका लोकमानसिंह कार्कीका नातेदार सुरेन्द्रबहादुर सिंह नेपाल प्रहरीबाट नक्कली प्रमाणपत्र प्रकरणमा तानिने भएपछि डीएसपीबाट राजीनामा दिएर हिंडेका हुन् । पाल र उनको घर दार्चुला नै भए पनि उनीहरुबीच पहिला पानी बाराबार थियो ।

 

तर पछि ठेकेदार दीपक भट्टले शैलेश थापा हुनुभन्दा हरि पाल ठीक छ, उतैको हो भनेर उनीहरुको मिलाप गराएका थिए । सुरेन्द्रबहादुर सिंहले नै पाललाई सुमार्गीसँग कनेक्सन गराएका हुन् । पुख्र्यौली घर दार्चुला भए पनि सुरेन्द्र सिंह र उनका दाजुभाइ दीपक सिंह, महेशबहादुर सिंहहरु पछि हेटौंडा सरेका हुन् ।

 

पाललाई २ नम्बरको डीआइजी बनाउन ब्यापारीदेखि ठेकेदारले लगानी गरेर २ नम्बर प्रदेशको प्रहरी प्रमुखमा पनि उनीहरुकै जोडमा सरुवा गरिएको स्रोतको दाबी छ । २ नम्बर प्रदेशमा बढी सीमा नाका भएकाले पनि मालदार मानिन्छ । उनी तस्करीको लाइन चलाएर कमाउनका लागि नै २ नम्बरमा सरुवा भएका हुन् ।

 

प्रधानमन्त्री केपी ओलीका निकट ब्यापारी हुँ भन्दै नियुक्तिदेखि ठेक्कापट्टा र बढुवामा चासो देखाउने आङछिरिङ शेर्पाकी बहिनी बन्दीनिमा शेर्पालाई केही बर्षअघि करोडौं रुपैयाँ ठगी प्रकरणमा कारबाही नगरी जोगाउने काम पालले गरेका थिए । बन्दीनिमाले ठगी गरे पनि त्यतिबेला अपराध महाशाखाका एसपी पालले उल्टै पीडितलाई सास्ती दिएर उनको पक्षमा काम गर्दा विवादमा परेका थिए ।

 

विवादमा परेकै कारण तत्कालीन आइजीपी कुवेरसिंह रानाले कारबाही गर्न खोज्दा महानगरीय आयुक्त कार्यालयका एआइजी नवराज ढकालले पालको पक्षमा लबिङ गरी कारबाहीबाट जोगाएका थिए ।

 

त्यसपछि उनलाई महाशाखाबाट प्रहरी प्रधान कार्यालयको समाचार कक्षमा सरुवा गरिएको थियो । पाल इन्स्पेक्टर हुँदादेखि नै आङछिरिङसँग उनको घनिष्ठता बढेको प्रहरी स्रोत बताउँछ । त्यही घनिष्ठताकै कारण आङछिरिङले उनलाई बढुवामा २ नम्बरमा ल्याउन र २ नम्बर प्रदेशमा सरुवा गराउने काम गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...