गृहमन्त्रालयमा विष पिएका ‘लडाकु’ भन्छन्- ‘मङ्सिर २० पछिको कदम अर्कै हुनेछ’



हाम्रो इकोनोमि

 

विस्तृत शान्ति सम्झौताको १२ वर्ष पुगेको दिन, यही मङ्सिर ५ गते सिंहदरबारस्थित गृहमन्त्रालयमा एक युवाले घटघटी विष पिएर आफ्नो प्राणान्त गर्न खोजे । गृहन्त्रालयमै यस्तो घटना भएपछि सनसनी मच्चिनु स्वभाविक नै थियो ।

 

बुझबुझारथ गर्दा जानकारी मिल्यो– कुनैबेला गृहमन्त्री रामबहादुर थापाहरूकै कमाण्डमा ‘जनयुद्ध’ लडेका एक युवा उनै आफ्ना प्रिय कमाण्डर बादलबाट ब्यहोर्नुपरेको दुव्र्यवहारबाट आजित भएर विष सेवन गर्ने मानसिकतामा पुगेका रहेछन् ।

 

ती युवा थिए काचलिकोटका कुलप्रसाद भट्टराई । १३ वर्षकै उमेरमा बन्दुक बोकेर युद्ध मैदानमा होमिएका कुलप्रसाद देश परिवर्तनको आशामा, नेपाल र नेपालीको सुखका दिन आउँछ भन्ने विश्वासमा दशवर्षे जनयुद्ध लडेका थिए ।

 

तर, आज देश परिवर्तन हुने, समृद्धि आउने कुरा त परै रहोस्, आफ्नै नेताहरूबाट तिरस्कृत भएर, पहिलेको भन्दा पनि दयनीय जीवन गुजार्न विवश भएर जीवनभन्दा मृत्यु नै ठिक रहेछ भन्नुपर्ने अवस्था पुगेका छन् ।

 

युद्धमोर्चामा पटक–पटक गोली लागेर घाइते बन्न पुगेका कुलप्रसादको स्वास्थ्य झट्ट हेर्दा सामान्य देखिए पनि शरीरका विभिन्न अङ्गमा गोली धसिएर नसामा क्षति पुगेकोले जतिबेला जे पनि हुनसक्ने अवस्थामा छन् ।

 

गृहमन्त्रालयमै पुगेर त्यसरी विष सेवन गरी अपहत्ते प्रदर्शन गर्नुपर्ने बाध्यता उनलाई किन प¥यो ? उनको सुनुवाई भयो कि भएन ? यदि अझै सुनुवाई नभए अब उनको सोचाई के छ त ? यस्तै–यस्तै जिज्ञासा उनीसँगको भेटमा अघिसारियो ।

 

उनले जसरी आफ्नो वेदना पोखे, सबै यहाँ विस्तार गर्न सम्भव रहेन । ‘जनयुद्ध’का घाइते युवा कुल भट्टराईद्वारा अभिव्यक्त ‘ब्यथा’लाई संक्षिप्त रूपमा प्रस्तुत गरिरएको छ–

 

विष पिउने रहर त कसलाई हुन्छ र ? तर बाध्यात्मक परिस्थिति आएपछि मर्ने कि बाँच्ने भन्ने लागेर त्यसो गर्न बाध्य भएका हुँ । कसैले उक्साएर त्यस्तो गरेको होइन, तर ममाथि गृहमन्त्रालयले ‘उक्साहटमा परेको’ आसयको विज्ञप्ति जारी गरेर आरोप लगाउँदा पीडाको घाउमा नुनचुक दलेको अनुभूति भयो ।

 

परिवर्तनको आशामा, नेपाल र नेपालीको सुखका दिन आउँछ भन्ने विश्वासमा दशवर्षे जनयुद्ध लडेर यहाँसम्म आइपुगेको व्यक्तिलाई कसैले उक्साउँदैमा जे पनि गर्ने भन्ने सवाल नै आउँदैन ।

 

बाध्यता के हो भने, जनयुद्धका घाइतेहरू थुप्रै पीडा बोकेर अत्यन्त कष्टका दिन बाँच्दैछन् । आज जनयुद्धकै अगुवाहरू राज्य सञ्चालन गर्ने तहमा पुगेको बेला हामीजस्ता युद्धपीडितले राज्यबाट राहतको आश गर्नु स्वभाविक नै हो ।

 

यही सिलसिलामा हाम्रा एक युद्ध–कमाण्डर हालका गृहमन्त्री रामबहादुर थापा बादललाई नौ महिनायता पटक–पटक भेट गरियो । उहाँले पनि पटक–पटक आश्वासन दिनुभयो । तर हरेक पटक आश्वासन दिने तर मर्म र मागअनुसार काम नगर्ने व्यवहार प्रदर्शन गर्दै आउनुभयो ।

 

यसैगरी चारपटक अध्यक्षज्यू (प्रचण्ड)लाई भेटियो, उहाँले गृहमन्त्रीज्यूलाई फोन पनि गरिदिनुभयो, भेट हुन्छ काम पनि हुन्छ भनी पठाउनुभयो । तर बादलज्यूको ब्यहोरा उस्ताको उस्तै । अध्यक्ष र गृहमन्त्रीले पीडितको सुनुवाई गर्नेभन्दा पनि झुलाएर दुःख मात्रै दिन लागेको जस्तो महसुस भयो ।

 

जनयुद्धका घाइते–अपाङ्गहरूको उपचारको विषयसँग सम्बन्धित विषय लिएर नेताहरूकहाँ धाएका हौँ हामी । ट्रमा सेन्टरका डाक्टरलाई कारवाही गरेकोजस्ता विषय पनि यसमै जोडिएको छ ।

 

वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ जहाँ गए पनि रकम निकासा भएको छैन भन्दै झुलाउने काम गरेको वर्षौं भयो । राज्यका निकायहरूले झुलाउँदा झुलाउँदै हामी घाइते–अपाङ्गहरूलाई आजित बनाइसकेको छ ।
म आफू मरे पनि घाइते/अपाङ्गहरूलाई राहत पुगोस् भन्ने ध्येय छ ।

 

यतिबेला एसिया समिटको नाममा चहलपहल चलेको र १८–१९ गतेसम्म विदेशी पाहुनाहरूका कारण व्यस्त रहनुपर्ने भनिएको छ । यदि यसपछि पनि यसैगरी झुलाएर दुःख दिने कार्य गरेमा अब सहन सकिन्न । २० गतेभन्दा पछि पनि सुनुवाई भएन भनेचाहिँ अस्ति विष पिएकोभन्दा कडा कदम चाल्न विवश हुनेछु । हिजो पनि उहाँकै कार्यकर्ता र एक लडाकु थिएँ, आज पनि छु, मैले कस्तो कदम चाल्नेछु भन्ने उहाँले बुझ्नुहोला ।

 

पूर्व बटालियन कमाण्डर मीनबहादुर शाहीको कमाण्डमा काम गरेका एक सदस्य हाल वनमन्त्रालयमा स्वकीय सचिव छन् । कमाण्डर शाहीचाहिँ ज्यामी काम गरेर खाएका छन् भने सहायक भूमिकामा काम गरेका व्यक्ति यतिबेला राज्यमा मालिक जस्तो बनेर हामी घाइतेलाई तड्पाइरहेका छन् । यो राज्यको कस्तो नीति हो, उदेक लागेको छ । उपचारमा अस्पतालले लापर्वाही गरिदिँदा मीनबहादुर शाहीले कत्रो दुःख पाए !

 

हामीजस्ता शोषित–पीडित, गरीव दीन–दुःखीका पनि दिन आउँछ भन्ने आशमा लडियो, तर आज यस्तो अवस्था भोग्नुपर्दा साह्रै मन दुखेको छ । मसँगै युद्ध लडेका नेताहरू पूर्वगृहमन्त्री जनार्दन शर्मा, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री बलदेवलगायत हुनुहुन्छ । राज्यको लागि हामीले आधा शरीर गुमायौँ तर के पायौँ ?

 

हामीले छातीमा गोली थापेर उहाँहरूलाई शासन गर्ने ठाउँमा पु¥याइदियौँ, यतिबेला उहाँहरू शासक बन्नुभएको छ, चिल्लो कार चढ्नुहुन्छ, रातो कार्पेटमा हिँड्नुहुन्छ, तारे होटलमा खानुहुन्छ, राज्यको पैसामा देश–विदेश सयर गर्नुहुन्छ, विदेशमा उपचार गराउनुहुन्छ । हामीले त के मागेका हौँ र ? युद्धले दिएको चोटमा थोरै मल्हम लगाइदिनुस् भनेका न हौँ ।

 

अहिले यसरी एमालेसँग पार्टीएकता गर्नु थियो भने १५ हजार नेपालीको ज्यान किन लिइयो ? पहिले नै एकता गरेको भए त त्यतिबेलै सत्ता पाइन्थ्यो होला, नागरिकको ज्यान जाने थिएन, हामीजस्ता हजारौँ घाइते बन्नुपर्ने थिएन, लाखौँ विस्थापित हुनुपर्ने थिएन ।

 

सूर्य सुवेदी यतिबेला गृहमन्त्रीकै सल्लाहकार बनेर बसेका छन् । उनलाई पनि मैले आफ्नो छातीमा गोली थापेर बचाएको थिएँ कुनैबेला । अहिले मलाई नै दुव्र्यवहार गर्छन् । मरे मर् भन्छन् ती सूर्यजी अहिले । केन्द्रदेखि गाउँसम्म बेथिति छ, भ्रष्टाचार छ । यसबारे मसँग अनेक प्रमाण र भोगाई छन् ।

 

दुई तिहाई शक्ति बोकेको सरकारले अहिले पनि हाम्रो मागको सुनुवाई गर्न नसके कहिले गर्ला ? हामी कार्यकर्ताप्रति पनि तानाशाही व्यवहार प्रदर्शन किन गरेको ? अध्यक्ष प्रचण्डले पनि किन झरा टार्ने काम मात्र गर्नुहुन्छ ? हामी जनसेनाको नाममा आएको अर्बौं रकम खाने–पचाउने काम मात्र किन गरिरहनुभएको छ उहाँ ।

 

हामी लडाकुले सिटामोलको एउटा ट्याब्लेट नपाउने, दुई–चार हजारको उपचार गर्न अनेक प्रक्रिया पु¥याउनुपर्ने, अनि उहाँहरूले करोडौँको रकम दोहन गर्न मिल्ने ? हाम्रो आक्रोश यही हो । विष पिउन बाध्य बन्नुको कारण पनि यस्तै–यस्तै नै हो ।

 

म अहिले धेरै बोल्न चाहन्न । सिंहदरबार जाँदा अब पनि मलाई कपडा खोलेर चेकजाँच गरी रोकिन्छ भने २० गतेपछिको मेरो कदम बेग्लै हुनेछ । म भावनात्मक रूपले बलियो भइसकेको छु । म बचुँला या नबाँचौँला, बाँच्ने तमाम साथीहरूलाई न्याय मिलोस्, मैले जस्तो परिस्थिति ब्यहोर्नु नपरोस् भन्ने उद्देश्यबाट म प्रेरित छु ।

 

गृहमन्त्री र उहाँको मन्त्रालयप्रतिको असन्तुष्टि मेरो के छ भने भेटवार्ता गर्न जाँदा ‘पास छैन’ भनेर दुब्र्यवहार गरियो, शान्तिबाटिकामा अनसन बस्न खोज्दा पनि पक्राउ गरेर ब्यवधान खडा गरियो । गृहमन्त्री आफ्नै कमाण्डर हुन्, तर आफ्नैले यस्तो गर्दा कति चित्त दुख्छ, मैले भनिरहनु पर्दैन । म पुनः दोहो¥याएर भन्छु– २० गतेपछि पनि यस्तै दुव्र्यबहार गरिएमा मैले कस्तो कदम चाल्नेछु, त्यो असाधारण प्रकृतिकै हुनेछ ।

प्रतिक्रिया दिनुहोस
नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...