निगमलाई दैनिक चार करोड नाफा , इन्धनकाे मूल्य २ रुपैयाँ मात्र घट्यो



हाम्रो इकोनोमि

 

१५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ । सोमबार रातिदेखि लागू हुने गरी भएको समायोजनसँगै पेट्रोल एक सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

 

दुई रुपैयाँ घटाएर बेच्दा पनि निगमलाई १५ दिनमा ५६ करोड ५८ लाख नाफा हुनेछ । अहिले दैनिक करिब ५० करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री हुन्छ । यो हिसाबमा दिनमै करिब ४ करोड नाफा हुन्छ । निगमले कम नाफा राखेर समायोजन गरेको भए पेट्रोलियमको भाउ अझै कम हुने थियो ।

 

निगम प्रवक्ता वीरेन्द्र गोइतले चालू आर्थिक वर्षको सुरुबाटै निरन्तर नोक्सान भइरहेका कारण अहिले नाफा राखेर मूल्य समायोजन गरेको बताए । ‘विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगेको थियो ।

 

त्यो वेला एक महिनामै निगमलाई दुई अर्बभन्दा बढी घाटा भयो,’ उनले भने, ‘निरन्तर नोक्सान खेपिरहेका कारण चालू आवको हालसम्म ३ अर्ब ८४ करोड घाटा भइसकेको अवस्था छ ।’ विगतमा भएको नोक्सानीलाई भर्पाई गर्न अहिले चर्को नाफा राखेर मूल्य थोरै घटाएको निगमको तर्क छ ।

 

चाडपर्वको नोक्सान भर्पाई गर्दै
आयल निगमले दसैँ, तिहार र छठमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थिएन । १ असोजमा मूल्य समायोजन गरेको निगमले त्यसयता चाडबाडमा जनतालाई राहत दिन भन्दै भाउ स्थिर राखेको थियो । तर, सो समयमा भारतीय आयल कर्पाेरेसन (आइओसी)बाट बढेको मूल्यमा पेट्रोलियम पदार्थ ल्याइरहेको थियो । यही कारण घाटा चुलिएको निगमको दाबी छ ।

 

निगमका प्रवक्ता गोइतले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा चाडपर्वमा मूल्य वृद्धि गर्न नपाएकाले अहिले थोरै मूल्य घटाएर धेरै नाफा राखेको संकेत गरिएको छ । ‘स्मरण रहोस्, पेट्रोलियम पदार्थको खरिद मूल्य अत्यधिक बढेका वेला पनि नेपाल सरकार तथा सम्बन्धित संसदीय समितिको अनुरोधपछि निगमले बढाएको थिएन,’ विज्ञप्तिमा भनिएको छ ।

 

 एक लिटर पेट्रोल बेच्दा ११.४४ रुपैयाँ नाफा
निगमले मंगलबारबाट एक लिटर पेट्रोल बिक्री गर्दा ११ रुपैयाँ ४४ पैसा नाफा आर्जन गर्नेछ । देशभर दैनिक ११ लाख लिटर पेट्रोल खपत हुन्छ । त्यस्तै, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८१ पैसा नाफा राखिएको छ ।

 

देशभर डिजेल दैनिक ३० लाख लिटरभन्दा बढी खपत हुन्छ । खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर दुई सय ८४ रुपैयाँ प्रतिसिलिन्डर नोक्सान हुने निगमको भनाइ छ । यद्यपि यो घाटा रकम पनि आधा कम भएको हो । ग्यासमा निगमले अधिकांश समय नोक्सान खेपेर अन्य पेट्रोलियमबाट नाफा आर्जन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...