एक अर्बका दुई सेट रेल किन्न प्रधानमन्त्री ओलीले भारत पठाए टीम,ओलीको फोटो टाँसेर यसरी कुद्ने भए रेल
भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म आउने रेलको लिक लगभग तयार भइसकेको छ। कात्तिक पहिलो साता ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) बोकेर उक्त लिकमा रेल गुडिसकेको छ।
अधिकारीहरूले सन् २०१८ भित्रै जयनगरदेखि कुर्थासम्म नियमित रेल सञ्चालन गर्ने बताएका छन्।
तर रेल आफैं किनेर चलाउने कि भाडामा लिनेबारे भने टुंगो लागिसकेको छैन।
प्रधानमन्त्री केपी शर्मा ओली भने रेल भाडामा लिनुको साटो आफैं किन्नु पर्ने पक्षमा छन्।
‘प्रधानमन्त्रीले भाडामा होइन किनेरै रेल चलाउने चाहना व्यक्त गर्नुभएको छ,’ रेल विभागका एक अधिकारीले भने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले रेल भाडामा लिने कि किन्ने दुबै विषयमा छलफल भइरहेको बताए।
‘रेल किन्न पनि सजिलो रहेनछ। हामीलाई चाहिने किसिमको रेल हुनुपर्यो। नत्र अर्डर गरेर बनाउनु पर्ने रहेछ,’ अधिकारीले भने, ‘हामी सकभर किन्नेमा नै छौं तर भनेजस्तो पाइएन भने अर्डर गरेर तत्काल भाडामा लिने कि भन्ने कुरा पनि भइरहेको छ।’
रेल विभागका अनुसार जयनगर-कुर्था रूटमा चलाउन मिल्ने एक सेट रेलको मूल्य ५० करोड रूपैयाँ पर्छ। यो रूटमा चलाउन कम्तिमा दुई सेट रेल चाहिने विभागले जनाएको छ।
‘एउटामा समस्या भयो भने अर्को चलाउनु पर्छ, दुईटा सेट त चाहिन्छ नै,’ विभागका महानिर्देशक बलराम मिश्रले भने।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा रेल चलाउने विभागको तयारी छ।
यसैबीच मन्त्रालयको एक टोली भारत गएर रेलवे सञ्चालनको अध्ययन गरेर फर्किएको छ। सचिव अधिकारीको नेतृत्वमा पाँच जनाको टोली शुक्रबार मुम्बई गएको थियो।
टोलीले मुम्बईदेखि गोवासम्मको ६०० किलोमिटर रेल सञ्चालनको अध्ययन गरेको महानिर्देशक मिश्रले बताए।
‘सुरक्षा, लाइट, सकेंत, स्टेशन व्यवस्थापन, कर्मचारी संगठनबारे उनीहरूले कसरी काम गरेका रहेछन् भनेर हेर्यौं,’ मिश्रले भने, ‘रेल चलाउनु त जहाज चलाउनुजस्तै पो रैछ।’
नेपाली टोलीलाई कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल) का कर्मचारी स्थलगत भ्रमण गराएको थियो। यही कम्पनीले रक्सौललाई काठमाडौं जोड्ने रेलमार्गको स्थलगत अध्ययन गरेको थियो।
उक्त अध्ययनमा कोंकणले १४० किलोमिटर र १९० किलोमिटरका दुई रूटमा रेलमार्ग बनाउन सकिने जनाएको छ।
ताराखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
ताराखोला गाउँपालिकामा निर्माणाधीन ३८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत काम पूरा भएको इञ्जिनीयर दिलबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार मुहान, कुलो, सुरुङलगायत ‘सिभिल’ चरणको काम सकिएको छ । “विद्युत् गृहको काम भइरेको छ”, इञ्जिनीयर थापाले भन्नुभयो, “आउँदो चैतभित्रमा बिजुली बल्छ ।” विद्युत्गृहमा चाहिने मुख्य उपकरणसमेत चीनबाट आइसकेको छ । पहिले सामुदायिक ढाँचाको आयोजना अहिले ताराखोला जलविद्युत् लिमिटेडमार्फत निर्माण भइरहेको हो ।
रु १८ करोडको लागतमा बन्ने आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान उपलब्ध गराएको छ भने गाउँपालिकाका एक हजार ६९१ ले शेयर हालेका छन् । लागत थप बढ्न सक्ने अनुमान गरिएको छ ।
गाउँपालिकाका पाँच वटै वडाका २२ घरधुरीमा विद्युत् पु¥याउने आयोजनाको शुरुको लक्ष्य थियो । वडा नं १ को अमरभूमिमा केन्द्रीय बिजुली पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका छन् । प्रत्येक घरधुरीबाट न्यूनतम रु १५ हजारका दरले शेयर उठाइएको छ ।
“सक्नेले बढी पनि लगानी गर्नुभएको छ”, आयोजनाका अध्यक्ष हिमाल विकले भन्नुभयो, “गाउँपालिका बाहिरबाट कसैको शेयर छैन ।” यसै वर्षभित्र विद्युत्गृहमा बिजुली बले पनि घरघरमा विद्युत्करण गर्न थप समय लाग्ने उहाँको भनाइ छ । विद्युतीकरणको लागि तार विस्तारको काम पनि अघि बढेको छ ।
आयोजनास्थलमा धमाधम काम भइरहेकाले समयमै लक्ष्य पूरा हुने उहाँले बताउनुभयो । विसं २०६८ मा शुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्ती जस्ता कारणले आयोजना पछि धकेलिएको हो । कामै रोकिएर आयोजना अलपत्र परेपछि व्यवस्थापन समेत फेरिएको थियो ।
केन्द्रबाट अनुदान स्वीकृत भएपछि कामले गति लिएको इञ्जिनीयर थापाले बताउनुभयो । पहिलो किस्ता अनुदान रु एक करोड ८२ लाख र दोस्रो किस्ता रु एक करोड ८९ लाख आयोजनाले पाइसकेको छ ।
कामको प्रगतिका आधारमा बाँकी रकम उपलब्ध हुने जनाइएको छ । आयोजना सम्पन्न भएपछि ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा हुने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।
“सबै घरमा विद्युत् पु¥याउने लक्ष्य आयोजनाले पुरा गर्दैछ”, उहाँले भन्नुभयो । गाउँलेको समेत लगानीमा बन्न लागेको आयोजनामा आवश्यक पर्दा गाउँपालिकाले सहजीकरण गर्दै आएको छ ।
स्थानीय धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई पाइपलाइनमार्फत वडा नं ५ कै धस्मरमा निर्माणाधीन विद्युत्गृहमा ल्याइनेछ । हिउँदमा ३८० किलोवाट विद्युत् उत्पादन हुने भए पनि वर्षायाममा ५०० किलोवाटसम्म विद्युत् उत्पादन हुने जनाइएको छ ।