ओशो तपोबनले बदलेको जिन्दगी
जव हामी बच्चा हुन्छौ हामीलाई संसार जति सुन्दर केहि लाग्दैन जब बिस्तारै ठुलो हुदै जान्छौ अनि जीवन गार्हो हुँदै जान्छ र लाग्छ जीवन भनेको संघर्ष नै हो । दु :ख भनेको हाम्रो साथी जस्तै हो । हरेक दिन खुसी हुने त हामीले कल्पना समेत गर्दैनौं । हामीमध्ये अधिकांश त गुरु खोजको बारेमा सोच्दै सोच्दैनौ ।
आज भन्दा १३ बर्ष अगाडि जब म पढाईको शिलशीलामा काठमाडौं छिरेँ । मेरो मनमा पनि यस्ता प्रकारका धेरै कुराहरु दिमाखमा खेलिरन्थे । काठमाडौं बसाई अली खर्चिलो हुने हुँदा एउटा कम्युनिकेशन संगै पत्रिका पसल चलाउदै दुइ जना भाइ अनि मेरो अध्ययन खर्च जोहो गर्न थाले । मेरो कक्षा बिहानको हुन्थ्यो ।
भाइहरुको दिउँसोको । खाना पकाउने र बिहान पसल हेर्ने काम भाइहरुको हुन्थ्यो भने दिउँसो मेरो भाग पर्थ्यो । पसलमा हरेक खालका मान्छेहरु आउँथे । मलाई सबै मान्छे नियाल्दा यस्तो लाग्थ्यो जीवन भनेको यसरी नै बित्ने रहेछ ।
मेरो पसलमा आउने मध्ये एक जोडीले अरु पत्रिका सरर हेडलाईन मात्रै पढ्ने, तर किन्दा ओशोवर्ल्ड, ओशो टाईम्स जस्ता म्यग्जिन मात्रै किन्ने गर्थे । उनीहरुको घाटीमा माला पनि थियो । त्यो जोडीको सरलता र इमानदारिताले गर्दा मैले पनि ओशो टाईम्स र ओशो र ओशोवर्ल्ड पल्टाएर हेर्न थालें । मलाई लाग्थ्यो यो संसार अलि फरक छ । तैपनि त्यहाँ भएका कुरा पढ्दा यस्तो लाग्थ्यो कि तिनीहरु मात्र लोकप्रियताको लागि मात्र खुशीका कुरा गर्ने हुन् ।
हुन त बेला मौकामा डा विकासानन्दलाई पढ्ने र सुन्ने गर्दथे । त्यसले गर्दा अध्यात्म प्रति केहि सकारात्मक थिए तर यसरी नै जीवन बदल्दिन सक्छ भन्नेमा फिटिक्कै विश्वास थिएन । पसल बेचेर म कुनै अफिसमा काम गर्न थाले । संयोगनै भन्नुपर्छ अफिसमा पनि एकजना ओशोको माला लगाउ थिइन् । उनिसंग परिचय गरे ।
बोलिमा स्पष्टता , सोच्ने शैली भिन्न , सरसफाईमा सचेत , अनुहारमा भिन्नै खालको चमक ,आहार बिहारमा पनि धेरै सचेत । यो कुराले मलाई अझ बढी जिज्ञासु बनायो र सोधे उनले बुझाउने प्रयास गरिन तर मैले बुझिन मात्र मैले बुझेजस्तो गरिदिए ।
जब उनले मलाई ओशोका दुई चारवटा किताबहरु पढ्नको लागि किनेर उपहार दिइन त्यसपछि म मजाले पढ्न थाले । मेरो आध्यात्मलाई हेर्ने दृष्टिकोण बद्लिइन थाल्यो । आध्यात्मिक जीवन बुढेसकाल मात्र हो र ध्यान धर्म कर्म ६० वर्ष पछि मात्र गर्ने हो भन्ने मेरो सोचाई बदलियो ।
सोहि अनुरुप टिचिङ हस्पिटलमा हुन लागेको ब्यस्त जीवनमा तबाब ब्यबस्थापन भन्ने बोधिसत्त्व स्वामी आनन्द अरुणको कार्यक्रममा भाग लिन पुगे । मैले सोचेको, बुझेको, जानेको, भोगेको धार्मिक ब्यक्ति भन्दा उनमा नितान्त फरक व्यक्तित्व पाए ।
मेरो धारणाको धार्मिक फ्रेममा उनको सोच विचार, हाउभाउ, उठ बस, बोली व्यवहार पटक्कै मेल खाएन र मलाई विश्वास गर्न गार्हो भयो कि यस्तो व्यक्ति कसरि आध्यात्मिक हुन्छ भनेर । तैपनि कार्यक्रम सकिएपछि नमस्कार गर्न पुगे ।
उनको व्यक्तित्वले मलाई ओशोलाई थप जान्ने र बुझ्ने उत्सुकता जागेर आयो । मैले पुन: किताब पढ्न थाले र काठमाडौँको बाफलमा रहेको स्वामी आनन्द अरुणको घर (आशिष् ध्यान केन्द्र ) नेपालको सबैभन्दा पुरानो ध्यान केन्द्रमा जहाँ ३० बर्ष देखी नियमित ध्यान हुदोरहेछ त्यहाँ एक महिना भन्दाबढी नियमित ध्यान गरे ।
मनमा एक प्रकारको आनन्दको अनुभूति भयो । त्यसपछि ओशो तपोबन गएर ध्यान गर्न सुरु गरे र संन्यास पनि लिए । संन्यास लिनेबित्तिकै गुरु शिष्यको महिमाको बारेमा जानिन्छ भन्ने होइन यो त निरन्तर साधनाबाट प्राप्त गर्ने कुरा रैछ ।
आज म बोधिसत्त्व स्वामी आनन्द अरुणलाई एक गुरु सरहको दर्जा दिन्छु जबकि सुरुका दिनमा अरु संयाशीले उहाँको खुट्टा ढोग्दा मलाई समेत पाच्य हुदैनथ्यो । यस्ता कुराहरु त निरन्तर साधना, आफ्नो गुरु महिमाको बारेमा राम्रोसँग जानेपछि र सच्चा साधकसँगको सत्संगबाटबाट नै थाहा हुदोरैछ । मलाई पनि बोधिसत्त्वको अर्थ थाहा पाउन केहि समय लाग्यो । आफ्नो गुरूकोबारेमा जान्न अझ आनन्द अरुण जस्ता गुरुभक्तको सत्संगले झन् सहज हुदोरहेछ ।
मैले यहाँ आनन्द अरुणको अन्धोभक्त बनेर प्रशंसा गर्न खोजेको होइन । न त आफुलाई गहिरो साधक नै भनेर दाबी गर्छु । १२ बर्ष ध्यान साधनाबाट के पाए के गुमाए भन्ने कुराको न त हिसाब किताब नै राखेको छु न त मोक्षबारे चासो छ न त पाउने हतारो नै छ तर आज आनन्द अरुण र ओशो तपोबन को कारण १० बर्ष अघिको जड्याहा जिन्दगी भने मसंग छैन ।
आनन्द अरुण गुरूभक्तिबाट प्रभावित भएर भट्टीको जीवनबाट म भक्तिमा तल्लिन हुन पुगेको छु । म आफ्नो जीवन रुपान्तरण भएको राम्रोसँग देख्न सक्छु । यस्ता कुराहरु किताबी ज्ञानबाट जति पढे पनि पाइदैन न त बुझ्न नै सकिन्छ ।
१२ वर्ष अगाडीको म एक कट्टर हिन्दु धर्मालम्बी मलाई त्यति बेला हिन्दु नै सर्वस्व लाग्थ्यो तर म आज बुद्धको धम्मपदको बारेमा पढ्छु , शिबपुरी बाबाको स्वधर्मलाइ सम्मान गर्छु । मोहम्मद (अल्लाह ) को हुन र जिससको प्रेम के हो बुझ्ने अवसर पाएको छु । शिबपुरीबाबाको समाधिमा गएर घण्टौ बिताउन मन लाग्छ ।
स्वामी आनन्द अरुण र तपोबनको कारण पशुपति मन्दिरमा हुने सन्ध्या आरतीमा झुम्न सक्ने, ऋषिकेश, हरिद्वार, जगन्नाथ पुरी, देबघाट, मुक्तिनाथ, गोसाइँकुण्डजस्ता तिर्थहरुको गरिमाको जानेको छु ।
आनन्द अरुणसंगको सत्संगले मिरा अनि कृष्णको प्रेम महिमा, नानक, कबिर, गुर्जियफ जस्तासन्तहरुको गाथा सुनेको छु । सायद मेरो घरमा बेद, बाइबल, कुरानजस्ता पबित्र ग्रन्थ एकै साथ कहिल्यै भित्र्याउने थिईन होला । तपोबन नहुदो हो त मुस्लिम साथीले मस्जिदमा गरेको नमाज, क्रिशियन साथीले चर्चमा गरेको प्राथना, एक भिक्षुले पढ्ने बुद्धको मन्त्र र गुरुद्वारामा माथा टेकेर शरण परेका ती शिख साथीमाथि हास्थे होला ।
तपोबन यस्तो पाठशाला हो जहाँ मैले मात्र होइन संसार भरिका हरेक बर्ग र समुदायका मानिसहरु प्रेम, ध्यान, करुणा र मैत्रीभावको विद्या सिक्छ्न । यसै कारणले म जस्ता हजारौ साधकको लागि तपोबन एउटा तिर्थको पनि तिर्थ हो जुन आनन्द अरुणको गुरूभक्ति र कठोर साधनलेले सिर्जित भएको बुद्ध फिल्ड हो ।
जहाँ अहिले नेपाल मात्र नभई विश्वका हजारौ संन्याशीले साधना गर्छौ ।अझ यसको महत्व त हामीजस्ता साधकले नजिकबाट नियाल्न पाएका छौ । तैपनि यस्ता शुद्द तिर्थमाथि विभिन्न समयमा अध्यात्मका बिरोधिबाट गुरूमहिमाको आवरणमा विनास गर्न खोजिनु कुनै ठुलो कुरा होइन । जसरी बुद्धका शिष्य देवदत्ताले वुद्धलाई मार्ने प्रयास मात्र होइन कैयौ गुम्बा बन्द गराए ।
ओशोको केहि शिष्यले ओशो इन्टरनेसनल फाउण्डेशन मार्फत सयौ कम्युन तथा सेन्टर बन्द गराए । त्यति मात्र नभई भगवान् ओशोले निर्माण गरेको पुराना कम्युनमा अहिले ओशोको माला निषेधित छ, ओशोको समाधि लुकाइएको छ र त्यहाँवाट ओशोको फोटो समेत हटाइएको छ । ओशोको कुनै गुरू नभई सामान्य व्यक्ति हुन् भनि प्रचार प्रसार गरिएको छ । अहिले आएर हामी ओशो संन्याशी ओशोको देहान्त सामान्य नभई नियोजित थियो भन्नेमा प्रस्ट छौ ।
यसबाट के स्पस्ट हुन्छ भने हरेक महान बुद्ध पुरूषका बुद्धको झैँ बोधीधर्मजस्ता निष्ठावान शिष्य पनि हुन्छन र देबदत्तजस्ता दुष्ट शिष्य पनि हुन्छन । कसलाई अनुसरण गर्ने भन्ने कुरा एउटा साधकले गुरूप्रति गर्ने स्रद्दामा भर पर्ने हो । हरेक साधकसंग यस्ता छनोट गर्ने अवसर पनि आउछन । एउटा बुद्ध फिल्ड र सच्चा बोधिसत्त्त्वको मर्म र महिमा बुझ्न एक सच्चा साधकले कन्जुस्याई गर्नु हुदैन ।
अहिले तपोबन र स्वामी आनन्द अरुण साधकको लागि मात्र नभएर देशको लागि नै गौरबको बिषय हो । यसको महत्त्वलाई समयमा नै पहिचान गरि यसलाई बिदेशी पैसाको प्रभावमा बिगार्न खोज्नेप्रति हामी सबै सचेत बन्न जरुरी छ ।