आईजीपीको दस्तखत कीर्ते गर्ने वाईसीएल नेता पक्राउ
राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको धोविनी गाउँपालिका वडा नं. ३ हरिहरपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३ डेरा गरी बस्ने २६ वर्षीय सन्तोष कुमार पाण्डेय (आलोक)लाई पक्राउ गरेको हो । पाण्डेय वाईसीएलका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।
उनले राष्ट्रिय अनुसन्धानको प्रहरी जवान र प्रहरी सहायक निरीक्षक पदमा योग्यता अनुसारको जागिर लगाइदिने भनी विभिन्न व्यक्तिलाई विश्वासमा पारेर ७ लाख २० हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ठगी गर्नका लागि पाण्डेयले किर्ते लिखत कागज तयार गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत उनीहरुलाई दिएका थिए ।
उनले बाराको सुवर्ण गाउँपालिका वडा नं. ५ बस्ने प्रदीप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भेर १ लाख ७० हजार, महागढीमाई नगरपालिका वडा नं. २ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार र महागढीमाई नगरपालिका वडा नं. १ बस्ने झगरु महतो कोईरीको छोरा धिरेन्द्र कुशवाहालाई राष्ट्रिय अनुसन्धानको प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने भनेर ४ लाख रकम लिएका थिए ।
प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार पाण्डेयविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
विद्युत् चुहावट गर्ने ५३ पक्राउ
हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ ।
उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम कारवाहीसहित जरिवानावापत रु पाँच लाख ८६ हजार राजश्व सङ्कलन गरिएको र सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभी, एलइडीलगायत सामान पनि बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।उक्त टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो ।
यातायातमा जोर बिजोर प्रणाली
एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ ।
गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।
यही मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागि हुने कार्यक्रम छ ।