कति कर तिर्छन् ठूला करदाता ? सबैभन्दा बढी सूर्य नेपालले १८ अर्ब तीन करोड



हाम्रो इकोनोमि

 

सबैभन्दा धेरै कर तिर्ने करदाताले कति कर तिर्छन् ? यो जिज्ञासा आम मानिसमा हुन सक्छ । कर प्रशासनले हरेक वर्ष मंसिर १ गते एक आर्थिक वर्ष अगाडि तिरेको करको आधारमा सबै क्षेत्रलाई समेटेर करदातालाई सम्मान गर्दै आएको छ । तर, बढी कर तिरेर पहिलो १० भित्रपर्ने कम्पनीले तिर्ने करको अन्तर भने ठूलो छ । आर्थिक वर्ष २०७४÷७५ मा सबैभन्दा बढी कर सूर्य नेपालले तिरेको छ । सूर्य नेपालले १८ अर्ब तीन करोड कर बुझाएको छ ।

 

सूर्य नेपाल निरन्तर बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित पनि हुँदै आएको छ । तर, प्रत्यक्ष करको आधारमा मूल्यांकन गर्ने हो भने सबैभन्दा बढी कर तिर्नेमा दूरसञ्चार सेवा प्रदायक एनसेल र नेपाल दूरसञ्चार कम्पनीले सूर्य नेपालललाई उछिनेका छन् । मूल्य अभिवृद्धि कर र अन्तःशुल्क समेत समावेश गरेपछि यो सूची फरक हुन्छ । तर, उक्त आर्थिक वर्षमा सम्बन्धित कम्पनीले तिरेको सम्पूर्ण करलाई आधार मान्दा सूर्य नेपाल पहिलो स्थानमा छ ।

 

एनसेल गत आवमा धेरै कर तिर्नेमध्येमा दोस्रो ठूलो करदाता हो । उसले १४ अर्ब ७२ करोड राजस्व बुझाएको छ । तेस्रो ठूलो करदाता गोर्खा ब्रुअरीले १४ अर्ब सात करोड रुपैयाँ राजस्व तिरेको छ । धेरै कर तिर्नेमा सेवा क्षेत्रका कम्पनी बढी छन् । यिनीहरूमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता छ । १० ठूला करदातामध्ये पाँच बैंक छन् । यस्तै, उत्पादनमूलक कम्पनी दुई मात्र छन् ।

 

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) चौथो ठूलो करदाता हो । अघिल्लो आवमा नेपाल टेलिकमले नौ अर्ब ९६ करोड कर तिरेको छ । पाँचौं र छैटौंमा नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक छन् । यी दुई बैंकले गत आवमा क्रमशः दुई अर्ब ६८ करोड र दुई अर्ब ४६ करोड रुपैयाँ राजस्व तिरेका छन् ।

 

सरकारी स्वामित्वको व्यापारिक संस्थान नेपाल आयल निगमले दुई अर्ब ३० करोड राजस्व तिरेको छ । यस्तै, अन्तिम तीनमा एभरेस्ट बैंकले एक अर्ब ८८ करोड, कृषि विकास बैंक एक अर्ब ७९ करोड र हिमालयन बैंक एक अर्ब ७१ करोड रुपैयाँ कर तिरेका छन् ।

 

९२ अर्बको भ्याट बिल विभागको सर्भरमा

आन्तरिक राजस्व विभागको केन्द्रीय बिलिङ अनुगमन प्रणालीमा ९२ अर्ब रुपैयाँ कारोबारको भ्याट बिल जम्मा भएको छ । यो भ्याटमा दर्ता ५२ करदाताले विभागमा रिपोर्टिङ गरेको ६० लाख बिलमार्फत् कारोबार भएको रकम हो । भ्याट बिल अनिवार्य गर्न विभागले गत वर्ष मंसिर १ देखि भ्याटमा दर्ता करदाताले गरेको कारोबार विभागको केन्द्रीय बिलिङ अनुगमन प्रणालीमा जम्मा हुने व्यवस्था गरेको हो ।

 

हालै यो व्यवस्था बक्स अफिस लागू गरेका सिनेमा हलमा पनि छ । सिप्रदी ट्रेडिङको कारोबार पहिलोपटक यो प्रणालीमा आवद्ध भएको थियो भने विभागले क्रमशः त्यसलाई विस्तार गर्दै सवारीसाधनका आधिकारिक बिक्रेता, होटल, डिपार्टमेन्टल स्टोर, सिनेमा हलले जारी गर्ने हरेक कारोबारको बिल विभागको सर्भरमा जम्मा हुने व्यवस्था गरेको छ ।

 

विभागका प्रवक्ता यज्ञ ढुंगेलले यो व्यवस्था क्रमशः विस्तार गर्दै कम्प्युटरीकृत बिल जारी गर्ने करदातालाई यो प्रणालीमा आवद्ध गर्दै जाने बताए । ‘यसले भ्याट दाखिलामा देखिने मिसम्याच तथा बिल जारी नगर्ने प्रचलनलाई नियन्त्रण गर्छ’, उनले भने, ‘यसले यथार्थ कारोबारको विवरण प्राप्त हुन्छ ।’

 

ढुंगेलका अनुसार, भ्याटमा दर्ता करदाताले सामान बिक्री गरिसकेपछि पनि भ्याट दाखिला नगर्ने र स्टक देखाउने गर्छन् । कर प्रशासनलाई शंका लागेमा अहिले भौतिकरूपमा नै जाँच गर्नुपर्ने हुन्छ । तर, केन्द्रीय बिलिङ अनुगमन प्रणालीमा आवद्ध करदाताकाले यस्ता झुटा विवरण पेस गर्न सक्दैनन् । ‘यो प्रणाली विस्तार भएपछि बिलविजक अनिवार्य जारी गर्नुपर्ने हुँदा व्यापारिक कारोबारको भ्याट दाखिला प्रभावकारी हुन्छ’, उनले भने ।

 

अहिले भ्याटमा दुई लाख आठ हजार आठ सय करदाता दर्ता भएका छन् । तर, ठूलो संख्यामा भ्याट विवरण पेस गर्दैनन् । विभागका अनुसार, भ्याटमा दर्ता करदातामध्ये ६२ हजार छ सय ४० ले भ्याट विवरण पेस गर्दैनन् । त्यस्तै, ७० हजार नौ सय ९२ शून्य विवरण पेस गर्छन् भने एक लाख १० हजार ६ सय ६४ करदाताले क्रेडिट विवरण पेस गर्छन् ।

 

भ्याट बुझाउने (डेबिट गर्ने) करदाता २५ हजार ५६ छन् । सरकारले भ्याटको विवरण पेस नगर्ने (नन्–फाइलर) को संख्या घटाउन आव २०७१÷७२ देखिको विवरण बुझाए उनीहरूलाई जरिवाना मिनाह गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...